तराईको सस्तो माछाले सल्यानका किसान मारमा

बुधबार, ७ कार्तिक, २०८१
डिजिटल संस्करण

एक महिनाअघि नै बिक्रीका लागि तयार भएका माछा लगानीअनुसारको मूल्य नपाउँदा पोखरीमै

कालीमाटी गाउँपालिका– २, सिमलताराका केशरसिंह बुढाथोकीले २० रोपनी क्षेत्रफलमा माछापालन गर्दै आएका छन् । आठवटा पोखरीमा ११ हजारभन्दा बढी माछाका भुरा हाले । ती भुरा एक महिनाअघि नै बिक्री गर्न तयार भइसकेका थिए । तर, लगानीअनुसारको मूल्य भने पाएनन् । जसका कारण बिक्रीका लागि तयार भएका माछा पनि पोखरीमै छन् । 

तराईबाट भित्रिने माछाका कारण उत्पादित माछाले बजार मूल्य पाएको छैन । तराईबाट आउने माछा निकै सस्तो मूल्यमा आउँदा आफूले उत्पादन गरेका माछाले लागतअनुसारको मूल्य नपाउने गरेको बुढाथोकीको भनाइ छ । ‘हाम्रो लागत नै बढी हुन्छ, तराईबाट भित्रिएको माछासँग प्रतिस्पर्धा गर्न सकिँदैन,’ उनले भने, ‘जसका कारण बिक्रीका लागि तयार भएका माछा मूल्य नपाएर पोखरीमै छन् । लगानी पनि बढ्दै छ ।’ गत वर्षसम्म पोखरीबाट नै पाँच सय रुपैयाँ किलो माछा बिक्री भइरहेकोमा तराईबाट भित्रिएको माछा तीन सय रुपैयाँसम्म बिक्री भइरहेको बुढाथोकीको भनाइ छ । उक्त मूल्यमा यहाँ उत्पादित माछा बिक्री गर्दा घाटा हुने उनको तर्क छ । गत वर्ष पाँच सय रुपैयाँ किलो बिक्री गरेका कारण यो वर्ष चार सय रुपैयाँ किलो भने तापनि बिक्री नै नभइरहेको बुढाथोकीले गुनासो गरे । 

यस्तै, विगत १० वर्षदेखि व्यावसायिक माछापालन गर्दै आएका निमबहादुर खत्रीको पीडा पनि उस्तै छ । आठ रोपनीमा पाँच पोखरीमा माछापालन गर्दै आएका खत्रीले लागतअनुसारको मूल्य नपाएको गुनासो गरे । गत वर्ष पाँच क्विन्टल माछा बिक्री गरेको बताउँदै उनले यो वर्ष एक क्विन्टल पनि बिक्री गर्न मुस्किल भएको बताए । उनले भने, ‘यहाँ बिक्रीयोग्य माछा हुन एक वर्ष लाग्छ, तराईमा ६ महिनामै तयार हुन्छ । तर, हाम्रोमा लागत बढी लाग्छ ।’ सरकारले स्थानीय उत्पादनलाई बजारीकरण गर्न सहयोग गर्नुपर्ने खत्रीको भनाइ छ । किसानले उत्पादन गरेको वस्तुलाई सरकारले बजारीकरण गरिदिए किसान कृषि पेसाप्रति आकर्षित हुने उनको भनाइ छ । जिल्लाभर एक सय रोपनीभन्दा बढीमा माछापालन भइरहेको पशु अस्पताल तथा पशुसेवा कार्यालय सल्यानले जनाएको छ । 

जिल्लाभर दुई सय १० रोपनीभन्दा बढीमा माछापालन भइरहेको र वार्षिक २१ मेट्रिकटनभन्दा बढी उत्पादन हुँदै आइरहेको पशु अस्पतालत तथा पशु सेवा कार्यालय सल्यानका सूचना अधिकारी वीरेन्द्र केसीले जानकारी दिए । वैदेशिक रोजगारीबाट स्वदेश फर्किएका युवाले व्यावसायिक रूपमा माछापालन गर्दै आइरहेको केसीको भनाइ छ । 

See More On

सुझावित समाचार