विगतमा वर्षा रोकिएर चिसो बढ्न थालेसँगै स्वतः घट्ने डेंगु संक्रमणको अवस्था केही वर्षयता ठिक उल्टो देखिएको छ । गत वर्षजस्तै यसपालि पनि मनसुन बाहिरिएपछि डेंगु संक्रमण उकालो लाग्न थालेको छ ।यो वर्ष पानी पर्न छाडेपछि पनि देशभर चार हजार ३० जना डेंगुबाट प्रभावित भइसकेका छन् । पछिल्लो एक सातामा मात्रै एक हजार ९९७ जनामा संक्रमण देखिएको छ । गत वर्ष पनि अक्टोबरमा मात्रै १२ हजार ६९९ लाई डेंगु संक्रमण देखिएको थियो ।
इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाका अनुसार हाल सबैभन्दा धेरै काठमाडौंमा तीन हजार १०३ संक्रमित पुगेका छन् । त्यस्तै, कास्कीमा दुई हजार ८४७, तनहुँमा दुई हजार १०७, पर्वतमा एक हजार ५६२ लाई संक्रमण भएको छ । चितवन, ललितपुर, गोरखा, बागलुङ, भक्तपुर र स्याङ्जामा पनि संक्रमण बढिरहेको छ ।
पोस्ट मनसुन अर्थात् दसैँ–तिहारको समयमा लामखुट्टे हुर्कने वातावरण अनुकूल बन्दै जाने भएकाले संक्रमण बढिरहेको चिकित्सकहरू बताउँछन् । सामान्यतया वर्षा रोकिएपछि पनि खाल्डाखुल्डी, टायर, गमला वा यस्तै पानी जम्ने स्थानहरूमा लामो समयसम्म पानी स्थिर रहँदा लामखुट्टे हुर्कने वातावरण अनुकूल हुँदा संक्रमणसमेत बढ्ने गरेको चिकित्सकहरूले बताएका हुन् । ‘विनारोकतोक लामखुट्टेको फुल हुर्कने वातावरण बन्ने भएकाले यो समयमा कुनै न कुनै ठाउँमा डेंगुको आउटब्रेक हुने गरेको छ । यो समयमा जमेको पानी तत्काल सुक्दैन र स्थिर रहन्छ । लामखुट्टेले फुल पार्ने र वयस्क लामखुट्टे बन्ने समय पर्याप्त हुन्छ,’ संक्रमण रोग विशेषज्ञ डा. शेरबहादुर पुनले भने । काठमाडौंमा मात्रै नभई लामखुट्टे हुर्कने अनुकूल वातावरण भएका स्थानमा संक्रमण फैलिने जोखिम उच्च रहेको उनले बताए ।
संक्रमण रोग विशेषज्ञ डा. शेरबहादुर पुन भन्छन् - विनारोकतोक लामखुट्टेको फुल हुर्कने वातावरण बन्ने भएकाले यो समयमा कुनै न कुनै ठाउँमा डेंगुको आउटब्रेक हुने गरेको छ । यो समयमा जमेको पानी तत्काल सुक्दैन र स्थिर रहन्छ । लामखुट्टेले फुल पार्ने र वयस्क लामखुट्टे बन्ने समय पर्याप्त हुन्छ । काठमाडौंमा मात्रै नभई लामखुट्टे हुर्कने अनुकूल वातावरण भएका स्थानमा संक्रमण फैलिने जोखिम उच्च छ ।
केही व्यक्तिलाई सामान्य लक्षण देखिएपछि निको भए पनि बान्ता हुनु, पेट दुख्नु, गिजाबाट रगत आउनु र कमजोर हुँदै जानु डेंगुका जोखिमपूर्ण लक्षण रहेको डा. पुनले बताए । विभिन्न लक्षणसहित उपचारका लागि पुगेका र परीक्षण गराएकाबाहेक पनि धेरै व्यक्ति डेंगुबाट प्रभावित भएकाले सचेत रहन उनको आग्रह छ ।
इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाका निर्देशक डा. यदुचन्द्र घिमिरेले संक्रमण बढ्नुले लामखुट्टे नियन्त्रण अझै प्रभावकारी हुन नसकेको भन्ने देखाएको स्विकारे । ‘डेंगु संक्रमणबाट धेरै प्रभावित हुनुमा लामखुट्टे नियन्त्रणका काम कतिको भइरहेका छन् भन्नेमा निर्भर रहन्छ । अनुकूल वातावरण पाएमा एउटै लामखुट्टेले एकैपटकमा एक हजारभन्दा बढी फुल पार्न सक्ने र सोही दरमा संख्या बढ्ने भएकाले नियन्त्रणका लागि खोज र नष्ट गर्ने अभियान अझैसम्म सञ्चालनमा छ,’ उनले भने ।
पछिल्लो समय झन् बढ्दै गएको डेंगु संक्रमणबाट काठमाडौं उपत्यकामा मात्रै एक हप्तामा ७६४ जना प्रभावित भएका छन् । यसमा पनि काठमाडौं जिल्लामा बढी छन् । काठमाडौंमा ५३६, ललितपुरमा १८१ र भक्तपुरमा ४७ जनामा डेंगु पुष्टि भएको छ । जनसंख्या बढी भएको काठमाडौंमा संक्रमण फैलिएको देखिए पनि तनहुँ र कास्की बढी प्रभावित भएको इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाका निर्देशक डा. यदुचन्द्र घिमिरेले बताए । ‘तनहुँ काठमाडौंको तुलनामा निकै कम जनसंख्या भएको जिल्ला हो । जनसंख्याको प्रतिशतका आधारमा हेर्दा तनहुँ र कास्की डेंगुबाट बढी प्रभावित भइरहेका छन् । यद्यपि, लक्षण लिएर अस्पताल पुगेकाहरूको मात्रै परीक्षण भइरहेकाले संक्रमणका कारण कहाँ कति प्रभावित छन् भन्ने यकिन तथ्यांक भने उपलब्ध छैन,’ उनले भने ।