बढ्यो डेंगु संक्रमण : पछिल्लो आठ दिनमा मात्रै देशभर दुई हजार ४९ जनामा संक्रमण

बुधबार, २३ असोज, २०८१
डिजिटल संस्करण

डेंगु संक्रमण ह्वात्तै बढेको छ । पछिल्लो आठ दिनमा मात्रै देशभर दुई हजार ४९ जनामा डेंगु संक्रमण देखिएको छ । पछिल्लो सातादेखि नै देशभर वर्षा भइरहेका कारणसमेत डेंगु संक्रमण उकालो लागेको चिकित्सकहरूको भनाइ छ । 

इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाका अनुसार हाल ७६ वटा जिल्लामा संक्रमण देखिइरहे पनि आठ जिल्ला बढी प्रभावित छन् । महाशाखाका अनुसार यो वर्ष मात्रै १७ हजार ६०२ जना संक्रमित भएका छन् । त्यसमध्ये पछिल्लो चार महिनामा मात्र १६ हजारभन्दा बढीमा संक्रमण देखिएको हो । 

टेकु अस्पतालमा मात्रै डेंगुका १८ बिरामी भर्ना
टेकुस्थित शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालमा मंगलबार उपचाररत डेंगुका बिरामी । 
अस्पताल प्रशासनका अनुसार १८ जना बिरामी उपचाररत छन् । तस्बिर : ज्ञानेन्द्र कार्की/नयाँ पत्रिका

यस वर्ष हालसम्म कास्कीमा दुई हजार ७०९, काठमाडौंमा दुई हजार ५६७, तनहुँमा एक हजार ९५४ र पर्वतमा एक हजार ४२१ जना प्रभावित भएका छन् । यसबाहेक चितवनमा ९०७, ललितपुरमा ६४६, गोर्खामा ६२० र बागलुङमा ५८९ जनामा संक्रमण देखिएको हो ।

सामान्यतः नियमित वर्षा कम भएसँगै संक्रमण दरसमेत घट्दै जाने हुन्छ । तर, हालसम्मै छिटफुट वर्षा भइरहेका कारण लामखुट्टे हुर्कने अनुकूल वातावरण बनेको र यसले संक्रमण बढाउन भूमिका खेलेको बताइएको छ । डेंगु संक्रमण वर्षैभरि देखिने भए पनि यो महिनादेखि घट्ने अनुमान गरिएको छ । गत वर्षसम्म अक्टोबरदेखि सामान्यतया संक्रमणको दर घट्दै गएकाले यो वर्षसमेत जाडो सुरु भएसँगै डेंगु कम हुँदै जाने अनुमान छ । 

सुझावित समाचार