काभ्रेका बाढीपीडितलाई राहत लैजानै मुस्किल

शुक्रबार, १८ असोज, २०८१
डिजिटल संस्करण

गत बिहीबारदेखि परेको अविरल वर्षाका कारण काभ्रेमा धेरै धनजनको क्षति भएको छ। काभ्रे जिल्लामा १३ वटा स्थानीय तह रहेकोमा ११ वटा पालिकामा धनजनको क्षति भएको छ भने तीनवटा पालिकामा मानवीय क्षति शून्य रहेको छ । जिल्लाको महाभारत, खानीखोला गाउँपालिका र पाँचखाल नगरपालिकामा मानवीय क्षति भएको छैन । 

बाढीपहिरोमा परी मानवीय क्षति पुगेको १० पालिकामध्ये सबैभन्दा बढी पनौती नगरपालिकामा मानिसको मृत्यु भएको छ। जहाँ १८ जनाको मृत्यु भएको छ । त्यसरी नै रोशी गाउँपालिकामा १२ जना, बेथानचोक गाउँपालिकामा १२ जना, तेमाल गाउँपालिकामा १० जना, मण्डनदेउपुर नगरपालिकामा सात जना, नमोबुद्ध नगरपालिकामा सात जना, बनेपा नगरपालिकामा तीनजना, भुम्लु गाउँपालिकामा तीनजना, धुलिखेल नगरपालिकामा दुईजना र चौरीदेउरालीमा एकजनाको बाढीपहिरोमा परी मृत्यु भएको छ । बाढीपहिरोमा परी ७५ जना घाइते भएका छन् भने ६ जना अझै बेपत्ता छन्। 

बाढीपहिरोले धेरैलाई  घरबारविहीन पनि बनाएको छ । मानिसलाई बिचल्लीमा पारेको छ । तत्काल राहत पुर्याउनुुपर्ने आवश्यकता छ । तर, सडक सञ्जाल बन्द भएको कारण राहत पुर्याउन मुस्किल छ । राहत पुर्याउन हेलिकाेप्टर नै प्रयोग गर्नुपर्ने हुन्छ । रोशी गाउँपालिकाले बिहीबार ६ ट्रिप राहत हेलिकाेप्टरमार्फत पुर्याएको छ । 

रोशी गाउँपालिकाको कुनै पनि वडामा जान हिँडेरबाहेक सम्भव छैन । कुनै पनि वडामा सवारीसाधन पुग्ने सडक छैन । रोशीको वडा नम्बर ७ बाहेक कुनै पनि वडामा राहत सामग्री हेलिकोप्टरबाहेक सम्भव छैन । चाहेर पनि राहत लैजान सकेको छैन । 

‘वडा नं. ७ बाहेक रोशीको कुनै पनि वडामा राहत लैजान हेलिकोप्टरको आवश्यकता पर्दछ । हेलिकोप्टरविना राहत लैजान सोच्नै सकिँदैन,’ रोशी गाउँपालिकाका अध्यक्ष दिनेश लामाले भने, ‘आज बल्लबल्ल गृह मन्त्रालयमा पहल गरेर पाँच ट्रिप हेलिकोप्टर राहत सामग्री पठायौँ । वडा नं. १, खहरेपाँगु, वडा नं. २ चण्डीबेँसी, वडा नं. ३ शिखरआम्बोटे र वडा नं. ४ महादेवटारका तीन सय घरधुरीलाई बन्दोबस्तीका सामग्री, लत्ताकपडा, खाद्य सामग्रीलगायत पठायौँ ।’ वडा नं. ९, १०, ११ र १२ लाई हेलिकोप्टरबाहेक पठाउन नसकिने उनको भनाइ छ । वडा नं. ५, ६ र ८ लाई पनि पठाउन नसकेको उनले बताए । अध्यक्ष लामाले पहल गरिरहेको, सम्भव भएसम्म हेलिकोप्टरबाट राहत सामग्री पठाउने बताए । वडा नंं. ९ र ११ का बाढीपीडितका लागि अत्यावश्क सामग्री उद्धारको क्रममा पठाएको पनि उनको भनाइ छ ।

उद्धारको काम सकेर राहत वितरणमा लागेको पनौती नगरपालिकाका नगरप्रमुख रामशरण भण्डारीले बताए । अत्यावश्यक परेको ठाउँ पहिचान गरेर राहत सामग्री पठाउँदै गरेको उनले बताए । सडक सफा गर्दै राहत वितरण गर्दै आएको भण्डारीले बताएका छन् । 

बेथानचोक गाउँपालिकामा मोटरबाटोकै कारण अहिलेसम्म राहत सामग्री वितरण गर्न नसकेको गाउँपालिका अध्यक्ष भगवान अधिकारीले जानकारी दिए । छिटोभन्दा छिटो बाटो सञ्चालन गरेर राहत सामग्री लैजान २० वटा हेभी इक्विपमेन्ट प्रयोग गरेर लागिपरेको अधिकारीको भनाइ छ । पालिकाभित्र करिब तीन सयभन्दा बढी बिजुलीको पोल ढलेका कारण अहिलेसम्म पालिका अन्धकार रहेको उनको भनाइ छ । दसैँअगाडि नै बिजुली बाल्ने प्रयासमा लागेको पनि अध्यक्ष अधिकारीले बताए । 

त्यस्तै, तेमाल गाउँपालिका, महाभारत गाउँपालिका, खानीखोला गाउँपालिका, भुम्लु गाउँपालिका र चौरीदेउरालीमा पनि सडक बिग्रेकाले राहत लैजान नसकेको बताएका छन् । 
 

See More On

सुझावित समाचार