नेपालको बिजुली बंगलादेशलाई बेच्न बाटो खुल्यो : ४० मेगावाट विद्युत् बेच्न त्रिपक्षीय सम्झौता, बर्सेनि सवा अर्ब आम्दानी

पाँच वर्षसम्म वर्षको पाँच महिना निर्यात हुनेछ विद्युत्

शुक्रबार, १८ असोज, २०८१
डिजिटल संस्करण

नेपालबाट बंगलादेशमा ४० मेगावाट विद्युत् बिक्री गर्न नेपाल, भारत र बंगलादेशबिच सम्झौता भएको छ । बिहीबार काठमाडौंमा एक विशेष समारोहबिच त्रिपक्षीय सम्झौता भएको हो । 

नेपालका तर्फबाट नेपाल विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङ, बंगलादेशको तर्फबाट बंगलादेश पावर डेभलपमेन्ट बोर्डका अध्यक्ष मोहमद रेजुल करिम र भारतको तर्फबाट एनटिपिसी विद्युत् व्यापार निगम (एनभिभिएन)की प्रमुख कार्यकारी अधिकृत रेणु नारङले सम्झौतापत्रमा हस्ताक्षर गरेका हुन् ।

नेपालका ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री दीपक खड्का र बंगलादेशकी वन, वातावरण, जलवायु परिवर्तन तथा जलस्रोत सल्लाहकार (मन्त्री) सैयदा रिजवाना हसनको उपस्थितिमा हस्ताक्षर भयो । हस्ताक्षरसँगै नेपाली बिजुली भारतीय प्रसारणलाइनमार्फत बंगलादेशमा निर्यात गर्न बाटो खुला भएको छ । हाल नेपालले छिमेकी भारतमा मात्रै विद्युत् निर्यात गर्दै आएकोमा अब सीमा नजोडिएको क्षेत्रीय मुलुक बंगलादेशमा पनि निर्यात गर्ने पक्का भएको हो । यो दक्षिण एसियामा नेपालको पहिलो उपक्षेत्रीय विद्युत् व्यापार हुनेछ ।

सम्झौताअनुसार बंगलादेशमा नेपालले पाँच वर्षसम्म १५ जुनदेखि १५ नोभेम्बरसम्म पाँच महिनाको अवधिमा ४० मेगावाट विद्युत् निर्यात गर्नेछ । नेपालले विद्युत् निर्यात गर्दा प्रतियुनिट ६.४० अमेरिकी सेन्ट प्राप्त गर्नेछ । १०० सेन्टबराबर एक डलर हुन्छ । बिहीबारको विनियमदर (प्रतिडलर १३४.४२ रुपैयाँं) अनुसार प्राधिकरणले प्रतियुनिट ८.६० रुपैयाँसम्म प्राप्त गर्नेछ । बंगलादेशले बंगलादेशले प्रतियुनिट ७.६ सेन्ट भुक्तानी गर्नेछ । बाँकी रकम प्रसारणलाइन प्रयोग गर्न दिएबापत भारतले पाउनेछ ।

यो सम्झौतापत्रको अवधि पाँच वर्ष तोकिएको छ । वर्षमा पाँच महिनासम्म ४० मेगावाट विद्युत् निर्यात गर्दा नेपालले ९२ लाख १६ हजार डलर आम्दानी गर्नेछ । जुन बिहीबारको विनिमयदरमा एक अर्ब २३ करोड ८४ लाख हुन्छ । 

प्राधिकरणले ढल्केबर–मुजफ्फरपुर अन्तर्देशीय प्रसारणलाइनमार्फत भारतको मुजफ्फरपुर विन्दुसम्म विद्युत् पुर्याउनेछ । बंगलादेशमा निर्यात हुने विद्युत्को मिटर त्यहीँ मुजफ्फरपुरमा रहनेछ । त्यसकै आधारमा प्राधिकरणले बंगलादेशबाट भुक्तानी पाउनेछ । ढल्केबरबाट मुजफ्फरपुरसम्मको प्रसारणलाइनको प्राविधिक चुहावट प्राधिकरणले नै व्यहोर्नेछ । 

मुजफ्फरपुरबाट उता भने बहरामपुर (भारत)–भेरमारा (बंगलादेश) ४०० केभी प्रसारणलाइन हुँदै बंगलादेशमा विद्युत् पुर्याइनेछ । त्यसपछिको प्रसारणलाइन शुल्क, चुहावट, एनभिभिएनले लिने र ट्रेडिङ मार्जिनलगायतका सम्पूर्ण कर तथा शुल्कहरू बंगलादेशले नै व्यहोर्नेछ । 

नेपाल र बंगलादेशबिच ऊर्जामा सहकार्य गर्ने गरी सन् २०१८ मै सहमति भएको थियो । त्यसलाई कार्यान्वयन गर्न द्विपक्षीय ऊर्जा सहसचिव र सचिवस्तरीय समिति पनि बनाइएको थियो । ०७९ भदौमा काठमाडौंमा सम्पन्न ऊर्जासचिवस्तरीय बैठकमा बंगलादेशले ०७९ कात्तिकभित्रै नेपालबाट ४० देखि ५० मेगावाट विद्युत् किन्ने सहमति गरेको थियो । तर, भारतसँग समयमै समन्वयन नहुँदा त्यो सफल हुन सकेन । त्यसपछि ०७९ फागुनमा सम्पन्न नेपाल–भारत ऊर्जा बैठकमा भारतले आफ्नो प्रसारण प्रणालीबाट नेपालको ५० मेगावाटसम्म विद्युत् बंगलादेश लैजान दिने सहमति गरेको थियो । त्यसलगत्तै नेपालले बंगलादेशमा विद्युत् बिक्री गर्न थप प्रक्रिया अघि बढाएको थियो । त्यसपछि ०८० जेठमा भएको नेपाल–बंगलादेश ऊर्जा बैठकमा गएकै बर्खामा विद्युत् व्यापार गर्ने सहमति भएको थियो । तर, त्यो सफल भएन । अब भने यो सफल भएको छ । सन् ०३५ सम्म बंगलादेशमा पाँच हजार मेगावाट विद्युत् निर्यात गर्ने सरकारी लक्ष्य छ ।

तीनै देशका प्रतिनिधिको उस्तै स्वर : ऊर्जा क्षेत्रमा महत्वपूर्ण उपलब्धि 
सम्झौता कार्यक्रममा ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री दीपक खड्काले त्रिपक्षीय ऊर्जा सम्झौता नेपालको ऊर्जा क्षेत्रका लागि कोसेढुंगा साबित भएको बताए । ‘नेपाल र बंगलादेशबिचको सम्बन्धलाई ऊर्जा व्यापार सम्बन्धले जनस्तरमै थप सुदृढ एवं प्रगाढ बनाउन मद्दत पुग्ने हो । नेपालमा उत्पादित विद्युत् सीमापार प्रसारणलाइनबाट बंगलादेश पुग्नका लागि सहज बनाउन भारत सरकारको अटल एवं निरन्तर सहयोगप्रति धन्यवाद व्यक्त गर्दछु,’ उनले भने । 

बंगलादेशकी वन, वातावरण, जलवायु परिवर्तन तथा जलस्रोत सल्लाहकार (मन्त्री) सैयदा रिजवाना हसनले पनि सम्झौता बंगलादेश–नेपालको ऊर्जा सहकार्यमा एक महत्वपूर्ण उपलब्धि भएको बताइन् । यो सम्झौताले दुवै देशलाई फाइदा हुने उनको भनाइ छ । ‘यो सम्झौता नेपाल र बंगलादेशबिचको विद्युत् व्यापारमा एकदमै ठुलो उपलब्धि हो । नेपालबाट विद्युत् आयात गर्दा बंगलादेशको वातावरणीय प्रदूषण कम गर्न पनि सहयोग पुग्नेछ,’ उनले भनिन्, ‘हामीले नेपालबाट थप विद्युत् आयात गर्नेछौँ । यसले दीर्घकालीन रूपमै बंगलादेशमा स्वच्छ विद्युत् आपूर्तिको सुनिश्चितता गर्नेछ । समग्रमा यसले क्षेत्रीय विद्युत् व्यापारमा ठुलो सहयोग पुग्नेछ ।’

नेपालका लागि भारतीय राजदूत नवीन श्रीवास्तवले यो सम्झौताले भारत, नेपाल र बंगलादेशबिचको ऊर्जा सहकार्यलाई नयाँ उचाइमा पुर्याउने बताए । ‘यो सम्झौताले तीन देशबिचको ऊर्जा सहकार्यलाई नयाँ उचाइमा पुर्याउन सहयोग पुग्नेछ । साथै, नेपाली बिजुलीका लागि बजारको सुनिश्चितता पनि गरेको छ,’ उनले भने, ‘सम्झौताले नेपाल र बंगलादेशलाई भविष्यमा राम्रो अवसर पनि मिल्नेछ ।’

त्यस्तै, नेपाल विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङ यो सम्झौता नेपालको ऊर्जा क्षेत्रका लागि ऐतिहासिक रहेको बताए । ‘दक्षिण एसियामै नेपालले पहिलोपटक उपक्षेत्रीय विद्युत् व्यापार सुरु गर्दै छ । दक्षिण एसियाकै क्षेत्रीय ऊर्जा व्यापारमा ठुलो महत्व राख्ने यो ऐतिहासिक सम्झौता हो,’ उनले भने । 

यही वर्ष निर्यात हुन्छ : प्राधिकरण
प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले यही वर्षबाट बंगलादेशमा विद्युत् निर्यात सुरु हुने बताए । सम्झौताअनुसार प्राधिकरणले नोभेम्बर १५ अर्थात् कात्तिक ३० गतेसम्म बंगलादेशमा विद्युत् निर्यात गर्न पाउँछ । त्यो अवधिभित्रै निर्यात सुरु गरिसक्ने कार्यकारी निर्देशक घिसिङले बताए । 

बंगलादेशमा विद्युत् पठाउन भारतबाट निश्चित आयोजनालाई स्रोत देखाएर स्वीकृति लिनुपर्छ । बंगलादेशमा भारतीय अनुदानमा बनेको २५ मेगावाटको त्रिशूली र प्राधिकरणले बनाएको २२ मेगावाटको चिलिमेको विद्युत् निर्यात गरिनेछ । भारतले उक्त दुई परियोजनाको विद्युत् आफ्नो बजारमा बिक्री गर्न यसअघि नै स्वीकृत दिइसकेको छ । अब सोही परियोजनाको विद्युुत् बंगलादेशमा बिक्री गर्ने गरी भारतबाट स्वीकृति गराउने प्रक्रिया अघि बढिसकेको छ । यसअघि नै भारतमा विद्युत् बिक्री गर्न स्वीकृत परियोजना भएकाले यसमा समय नलाग्ने प्राधिकरणको विश्वास छ । 

त्यस्तै, नेसनल लोड डिस्प्याच सेन्टर (एनएलडिसी)बाट ‘नो अब्जेक्सन लेटर’ पनि लिनुपर्छ । एनएलडिसी भारतको विद्युत् प्रसारण प्रणाली व्यवस्थापन गर्ने निकाय हो । नेपालबाट पठाइने विद्युत् प्रवाह गर्न मिल्ने गरी एनएलडिसीले प्रसारणलाइनको व्यवस्थापन गर्नुपर्छ । त्यसको व्यवस्थापन गरेर एनएलडिसीले नेपाललाई विद्युत् पठाउन ‘नो अब्जेक्सन लेटर’ दिनेछ । यो दुई प्रक्रिया पूरा गर्दा बढीमा पनि एक महिना समय लाग्ने बताइएको छ । यो वर्ष एक दिन भए पनि बंगलादेशमा विद्युत् निर्यात गर्ने कार्यकारी निर्देशक घिसिङको भनाइ छ । 

घिसिङले यही वर्षबाट बंगलादेशमा विद्युत् निर्यात सुरु हुने बताए । ‘बिहीबार बंगलादेशमा ४० मेगावाट विद्युत् बिक्री गर्न सम्झौता भइसकेको छ । अब भारतबाट बंगलादेशमा विद्युत् बिक्री गर्ने परियोजना स्वीकृत र एनएलडिसीबाट ‘नो अब्जेक्सन लेटर’ लिनुपर्छ । त्यो प्रक्रिया पूरा गर्दा बढीमा एक महिना लाग्नेछ,’ उनले भने, ‘सम्झौताअनुसार हामीले असार १ गतेदेखि कात्तिक मसान्तसम्म बंगलादेशमा विद्युत् बिक्री गर्न पाउँछौँ । यो वर्ष एक दिन भए पनि बंगलादेशमा विद्युत् बिक्री गर्नेछौँ ।’

बंगलादेशले किन किन्छ नेपाली बिजुली ? 
अहिले बंगलादेशले कोइला तथा डिजेल पावर प्लान्टबाट विद्युत् उत्पादन गर्दै आएको छ । तर, पछिल्लो समय डिजेल र कोइलाको मूल्य अत्यधिक बढ्दा बंगलादेशको विद्युत् उत्पादन पनि स्वतः महँगो भएको छ । डिजेल तथा कोइला पावर प्लान्टका कारण बंगलादेशको वातावरण प्रदूषण पनि बढ्दो छ । बंगलादेशलाई वातावरणीय प्रदूषण कम गर्नुपर्ने दबाब छ । तर, बंगलादेशसँग डिजेल तथा कोइला पावर प्लान्ट बन्द गर्न अन्य विकल्प छैन । न त्यहाँ सोलार राख्ने जमिन छ, न त नेपालको जस्तो स्वच्छ जलविद्युत् उत्पादन गर्ने सम्भावना छ । त्यसकारण बंगलादेशले बिजुली आयात गर्नुपर्ने बाध्यता छ । 

अहिले बंगलादेशमा विद्युत्को माग २५ हजार मेगावाट हाराहारी छ । बंगलादेशले सन्् २०४० सम्म छिमेकी मुलुकबाट ९–१० हजार मेगावाट विद्युत् किन्ने भनिसकेको छ । त्यसमा अधिकांश विद्युत् नेपालबाट किन्ने हो । किनभने बंगलादेशले खोजेको स्वच्छ ऊर्जा हो, जुन नेपालमा पर्याप्त छ । भारतमा पनि अधिकांश विद्युत् कोइलाबाट उत्पादन गरिन्छ । त्यसमाथि भारतले पनि नेपालबाटै विद्युत् आयात गर्दै आएको छ । त्यो अवस्थामा बंगलादेश नेपाली बिजुलीका लागि ठुलो बजार हो । 

See More On

सुझावित समाचार