पूर्वराजा ज्ञानेन्द्र शाह भुटान भ्रमणमा गएका छन् । बिहीबार ड्र्युक एयरको उडानबाट उनी पारो अन्तर्राष्ट्रिय विमानस्थल अवतरण भए । शाह २० असोजमा स्वदेश फर्किने कार्यक्रम रहेको संवाद सचिव डा. फणिराज पाठकले जानकारी दिए ।
भुटानका चौथो राजा (हालका राजा जिग्मी सिङ्गी वाङचुकका पिता)को निमन्त्रणामा निजी भ्रमणका लागि पूर्वराजा शाह भुटान गएका हुन् । उनलाई पारो विमानस्थलमा भुटानकी अधिराजकुमारी पेमाल्हादेन वाङचुकले स्वागत गरेकी थिइन् । भुटानमा उनको भेटवार्तासहितका कार्यक्रमबारे उनको सचिवालयले केही जानकारी दिएको छैन । निकटस्थ स्रोतका अनुसार भुटानका राजा र उनका पितासँग उनको भेटवार्ता हुनेछ । पूर्वराजा वाङचुक र ज्ञानेन्द्र दार्जिलिङमा अध्ययन गर्दाका सहपाठी रहेको पारिवारिक स्रोतले जनाएको छ ।
पूर्वराजाका संवाद सचिव पाठकले भुटानमा पूर्वराजपरिवारको कार्यक्रमबारे आफू जानकार नभएको बताए । ‘यो उहाँहरूको निजी भ्रमण हो । २० गते स्वदेश फर्किने कार्यक्रम छ,’ उनले भने । यस वर्ष पूर्वराजा शाहले विजयादशमीका अवसरमा २६ असोजमा सर्वसाधारणलाई टीका लगाइदिने कार्यक्रम तय गरेका छन् ।