पछिल्ला केही दिनदेखि अत्यधिक गर्मी बढेपछि महोत्तरीका केही स्थानीय तहहरूले विद्यालयहरू धमाधम बन्द गर्न थालेका छन्। बालबालिकालाई विद्यालयमा पठनपाठन गर्न जाँदा गर्मी असह्य हुन थालेपछि मनरा सिस्वा नगरपालिका, जलेश्वर नगरपालिका, बर्दीबास नगरपालिका, एकडारा गाउँपालिका र महोत्तरी गाउँपालिकालगायतले सो निर्णय गरेकाे हो ।
मनरा सिस्वा नगरपालिकाले ७ असोजदेखि ११ असोजसम्म सम्पूर्ण पठनपाठन बन्द गरेको छ भने जलेश्वर नगरपालिकाले ८ असोज देखि ११ सम्म, बर्दीबास नगरपालिकाले ८ देखि ११, महोत्तरी गाउँपालिकाले ८ देखि ११ र एकडारा गाउँपालिकाले ८ र ९ असोजमा विद्यालय बन्द रहने सूचना जारी गरेको छ। गर्मीकै कारण स्वास्थ्यमा असर पर्न सक्ने देखिएपछि हिउँदे बिदाबाट कट्टा हुने गरी बिदा दिइएको स्थानीय तहहरूले जनाएका छन्।
महोत्तरीमा पछिल्लो केही दिनदेखि ३५ देखि ४० डिग्री सेल्सियस तापक्रम छ। अध्यधिक गर्मीका कारण बालबालिकामा पानीको कमी हुन गई झाडापखाला, बान्ता, कमजोरी, मूर्च्छा पर्नेलगायतका विभिन्न समस्या आउन सक्ने जनकपुर सुरक्षा अस्पतालमा कार्यरत बालरोग विशेषज्ञ डा. सन्तोष साहले बताए।
उनले बालबालिकालाई गर्मीबाट जोगाउनु अति आवश्यक रहेको र निरन्तर सादा पानीसँगै जीवनजल, कागतीलगायतका तरल पदार्थहरूको सेवन गराउनुपर्ने बताए। गर्मीकै कारण आँखा पाक्नेलगायतका अन्य स्वास्थ्य समस्यासमेत देखिन सक्ने चिकित्सकको भनाइ छ।