बागमती सरकारमा एक मन्त्री ‘मजाक’ भएका छन् । विनाविभागीयमन्त्री मदुकुमार श्रेष्ठ नियुक्तिको ५१ दिनसम्म जिम्मेवारीविहीन छन् । उनले अझै पनि मन्त्रालय पाएका छैनन् ।
९ साउनमा मुख्यमन्त्री बहादुरसिंह लामा तामाङसँगै शपथ लिएका श्रेष्ठ आफ्नो मन्त्रालय नहुँदा मुख्यमन्त्री कार्यालयमै हाजिरी लगाएर बसेका छन् । मन्त्री नियुक्तिमा कांग्रेसमा देखिएको किचलोका कारण श्रेष्ठ जिम्मेवारीविहीनको अवस्थामा पुगेका हुन् ।
९ साउनमा श्रेष्ठसँगै शपथ लिएका र त्यसपछि १२ साउनमा नियुक्त भएका गरी १२ मन्त्रीले जिम्मेवारी पाइसकेका छन् । मुख्यमन्त्री कार्यालयसहित १३ मन्त्रालय रहेको बागमतीमा १४ मन्त्री नियुक्त गर्दा समस्या भएको हो ।
कांग्रेसले मुख्यमन्त्रीसहित सात र एमालेले ६ मन्त्रालय लिने सहमति कांग्रेस–एमाले गठबन्धनमा भएको थियो । तर, कांग्रेसभित्रको गुट र भागबन्डाले मुख्यमन्त्री लामाले कांग्रेसको भागमा परेभन्दा थप एकजनालाई मन्त्री बनाएका थिए ।
‘मन्त्री श्रेष्ठलाई विभागीय जिम्मेवारी दिने विषयमा सत्तासाझेदार दल एमाले र कांग्रेसका केन्द्रीय नेतासँग कुरा भइरहेको छ,’ मुख्यमन्त्री लामाले भने, ‘एमालेका नेताहरू पनि विनाविभागीयमन्त्रीलाई जिम्मेवारी दिने विषयमा सहमत हुनुहुन्छ । तर, नयाँ मन्त्रालय थप्ने वा भइरहेकोलाई टुक्र्याउने भन्ने विषयमा भने अन्योल छ ।’
तर, एमाले संसदीय दलका प्रमुख सचेतक मधुसुदन पौडेलले मन्त्रालय विस्तारकै समयमा विनाविभागीयमन्त्रीलाई मुख्यमन्त्री कार्यालयमा राखेर मुख्यमन्त्रीको सहयोगीका रूपमा काम लगाउने सहमति भएको, तर मन्त्रालय थप्नेबारे कुनै छलफल नभएको बताए । ‘विनाविभागीयमन्त्रीलाई विभागीय जिम्मेवारी दिने विषयमा कुनै छलफल भएको छैन । प्रदेशमा अर्को मन्त्रालय थप्ने कुरा भएकै छैन,’ उनले भने ।
मन्त्री श्रेष्ठले आफूले चाँडै विभागीय जिम्मेवारी पाउनेमा आशावादी रहेको बताए । ‘मुख्यमन्त्रीबाट मन्त्रालयको जिम्मेवारी दिने आश्वासन पाएको छु । मलाई विश्वास छ, सत्तासाझेदार दल एमाले पनि यस विषयमा सकारात्मक छ । र, मैले छिट्टै एउटा महत्वपूर्ण मन्त्रालयको जिम्मेवारी पाउनेछु,’ उनले भने ।