पूर्वप्रधानमन्त्री एवं नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले दसाैँ राष्ट्रिय खेलकुद तोकिएकै समयमा हुनुपर्ने बताएका छन्। सुर्खेतस्थित कर्णाली प्रदेश रंगशालाको अनुगमनपछि उनले यस्तो धारणा राखेका हुन्। आगामी मंसिरमा तय गरिएको दसाैँ राष्ट्रिय खेलकुद निर्धारित समयमै हुने नहुने अन्योल बढिरहेको वेला पूर्वप्रधानमन्त्री प्रचण्डले निर्धारित समयमै हुनुपर्ने बताए। ‘दसाैँ राष्ट्रिय खेलकुद तोकिएकै समयमा सुर्खेतमा हुनैपर्छ, यसमा राजनीति गर्ने भुल सरकारले नगरोस्,’ उनले भने, ‘यसमा पनि राजनीति गरेर दसाैँ राष्ट्रिय खेलकुद पछि सार्न खोजियो भने यो हजारौँ खेलाडी र खेलप्रेमीका लागि घात हुनेछ।’
उनले निर्माणको अन्तिम चरणमा रहेको रंगशाला पश्चिम नेपालको खेल क्षेत्र र खेलाडीको वृत्ति विकासमा महत्त्वपूर्ण योगदान पुग्ने विश्वास व्यक्त गरे। ‘यो अहिलेसम्मका रंगशालामध्ये विभिन्न ठाउँमा देखिएका कमी-कमजोरी सच्याएर आधुनिक प्रविधिको प्रयोग गरेर जुन रूपमा निर्माण करिब-करिब सम्पन्न हुने चरणमा गएको छ। यो हामी सबैका लागि खुसी र गौरवको कुरा हो,’ उनले भने, ‘माओवादी केन्द्रले प्रदेशको नेतृत्व गरेका वेला खासगरी मुख्यमन्त्री महेन्द्रबहादुर शाही र मन्त्री विमला केसीको पालामा यो रंगशालाई प्रदेशको गौरवको आयोजनाको रूपमा अघि सारिएकाले पनि यो हाम्रा लागि विशेष अर्थ र महत्वको छ।’
रंगशाला आधुनिक र अन्तर्राष्ट्रिय मापदण्डअनुसार बनेको पाइएको उल्लेख गर्दै अध्यक्ष प्रचण्डले यसको अत्यधिक सदुपयोग गर्नुपर्ने बताए। लुम्बिनी, कर्णाली र सदूरपश्चिमको खेल क्षेत्रका लागि यो केन्द्र बन्ने र देशभरिकै खेलाडीका लागि पनि राष्ट्रिय खेलकुदको सुर्खेतमा आयोजना गर्न सकिने ढोका खुलेको टिप्पणी पनि उनले गरे। आफू तीनपटक प्रधानमन्त्री हुँदा लगातार खेल क्षेत्रको विकासलाई प्राथमिकता दिँदै आएको पनि उनले स्पष्ट गरे।
अनुगमनका क्रममा कर्णाली प्रदेशका पूर्वमुख्यमन्त्री महेन्द्रबहादुर शाही, पूर्वखेलकुदमन्त्री विमला केसी, कर्णाली खेलकुद परिषदका सदस्य–सचिव विश्वामित्र सञ्ज्याललगायतका खेल पदाधिकारीको उपस्थिति रहेको थियो।
यसैबिच, अध्यक्ष प्रचण्डले पेरिस पारा–ओलम्पिकमा ऐतिहासिक कांस्य पदक जित्ने पलेशा गोबर्धनलगायत खेल पदाधिकारीलाई बधाई तथा शुभकामना पनि व्यक्त गरेका छन्। सुर्खेत रंगशाला अनुगमनपछि उनले यो ऐतिहासिक जित नेपालको गौरवको विषय भएको बताए।