सुनसरीको इटहरी उपमहानगरपालिकामा नगरबस खरिदमा भ्रष्टाचार भएको भन्दै छानबिन गर्न प्रदेश सांसदले माग गरेका छन् । सुनसरीबाट निर्वाचित एमाले सांसद मीना श्रेष्ठले इटहरी उपमहानगरपालिकाले नगरबस खरिदमा भ्रष्टाचार गरेको भन्दै अनुसन्धान गरेर कारबाही गर्न माग गरेकी हुन् ।
शुक्रबार बसेको कोशी प्रदेश सभाको बैठकको शून्य समयमा बोल्दै सांसद श्रेष्ठले इटहरी उपमहानगरपालिकाले चीनबाट नगरबस खरिद गर्दा एक करोड ४० लाख रुपैयाँभन्दा बढी भ्रष्टाचार गरेको सूचना आएको भन्दै छानबिन गर्न माग गरिन् । सांसद श्रेष्ठले संसदमा भनिन्, ‘इटहरी उमनपाले पाँच करोड पर्ने चारवटा नगरबसलाई आठ करोडमा खरिद गरेको भन्ने सूचना आएको छ, यसैले छानबिन गरेर कारबाही गरियोस् ।’
इटहरी उपमहानगरपालिकाले एक महिनाअघि मात्र नगरभित्र यात्रुबस सञ्चालन गर्नका लागि चीनबाट चारवटा आधुनिक बस खरिद गरेर ल्याएको थियो । सांसद श्रेष्ठले सुनसरीको दुहबी नगरपालिका– ३ मा वडाध्यक्षले सरकारी सम्पत्ति हिनामिना गरेको गुनासो आएकोले छानबिन गरिनुपर्ने पनि माग गरिन् । शुक्रबार कोशी प्रदेश सभाको बैठकमा सोलुखुम्बुका सांसद गोम्बु शेर्पा र गीतादेवी रेग्मीले थामे गाउँका बाढीपीडितको बसोवासमा अझै समस्या भइरहेकाले उचित प्रबन्ध मिलाउन प्रदेश सरकारसँग आग्रह गरे ।