सल्यानका ४० प्रतिशत परिवार अझै पनि विद्युतको पहुँचबाहिर रहेका छन् । जिल्लाका २१ हजार ८०४ परिवार अझै अँध्यारोमा बस्न बाध्य छन् । नेपाल विद्युत् प्राधिकरण सल्यान वितरण केन्द्रका अनुसार जिल्लाका ६० प्रतिशत घरधुरीमा मात्रै बिजुली पुगेको छ । बाँकी ४० प्रतिशत घरधुरी अँध्यारोमै बस्न बाध्य छन् । केन्द्रका अनुसार जिल्लामा रहेका ५४ हजार ६७२ घरधुरीमध्ये ३२ हजार ८६८ घरधुरी मात्रै बिजुली बलेको छ । राष्ट्रिय जनगणना २०७८ का अनुसार जिल्लामा २४ हजार ७७५ घरधुरीमा मात्रै बिजुली पुगेको छ ।
जिल्लाभर पूर्ण विद्युतीकरणका कार्यक्रम सञ्चालन भइरहेकाले करिब ६० प्रतिशत घरधुरीमा बिजुली पुगेको वितरण केन्द्रका प्रमुख दिनेश पौडेलले जानकारी दिए । उनका अनुसार सबैभन्दा धेरै शारदा नगरपालिकामा ९७.५५ प्रतिशत र सबैभन्दा कम कालीमाटी गाउँपालिकामा ४४.७० प्रतिशत विद्युतीकरण गरिएको छ ।
जिल्लाका सबै पालिकामा ०८२ असार मसान्तसम्म विद्युतीकरण गर्ने भनेर आधा दर्जन ठेक्का लागेका छन् । तर, त्यतिले मात्रै सबै घरपरिवार बिजुलीको पहुँचमा नपुग्ने केन्द्रका प्रमुख पौडेलले बताए। उनले भने, ‘जिल्लामा पूर्ण विद्युतीकरणका लागि अहिले चलिरहेका ठेक्काबाहेक ६४ करोड ४३ लाख रुपैयाँ अपुग देखिएको छ ।’
बिजुलीबत्ती नपुगेका स्थानमा सौर्य ऊर्जामार्फत उज्यालो कार्यक्रम सञ्चालन भइरहेको छ । दुई वर्षभित्रमा पालिकालाई पूर्ण विद्युतीकरण गर्ने गरी दुई चरणमा काम भइरहेको कपुरकोट गाउँपालिका अध्यक्ष दुर्गाबहादुर पुनले बताए। विद्युतको पाँच करोड र पालिकाको दुई करोड गरेर सात करोड रुपैयाँको साझेदारीमा पालिकाभित्रका सबै बस्तीमा विद्युतीकरणका लागि काम अघि बढिरहेको पुनको भनाइ छ ।