ताप्लेजुङ गोल्डकप : लुम्बिनीलाई हराउँदै सगरमाथा सेमिफाइनल प्रवेश

बुधबार, ५ भदौ, २०८१
डिजिटल संस्करण

ताप्लेजुङ गोल्डकप फुटबल प्रतियोगिताको तेस्रो दिन भएको खेलमा जित निकाल्दै सगरमाथा युथ क्लब मोरङ सेमिफाइनलमा प्रवेश गरेको छ।

बुटवलको लुम्बिनी एफसीलाई १–० गोल अन्तरले पराजित गर्दै सगरमाथा युथ क्लब मोरङ सेमिफाइनल पुग्ने तेस्रो टिम बनेको हो। सिराहाको सलहेस फुटबल क्लब र घरेलु टोली संघर्ष स्पाेर्टिङ क्लब यसअघि नै सेमिफाइनल पुगिसकेका छन्।

नेपाल सुपर लिग (एनएसएल)को फ्रेन्चाइजीसमेत रहेको बुटवल लुम्बिनी एफसीविरुद्ध मोरङको जर्सी नं ११ का खेलाडी सुशील राईले १९औँ मिनेटमा गरेको प्रहारले जाली चुमेपछि सो गोल नै निर्णायक भयो। बारम्बारको प्रयासका बाबजुद बुटवलले कुनै गोल गर्न सकेन।

आज बुधबारको खेलको म्यान अफ द म्याच सगरमाथा युथ क्लबका कप्तान अशोक खवास बने। खवासले ५ हजार रुपैयाँ नगद प्राप्त गरेका छन्। हारसँगै चार विदेशी खेलाडी रहेको बुटवल लुम्बिनी एफसीको प्रतियोगितामा यात्रा टुंगिएको छ।

प्रतियोगिताको अन्तिम क्वार्टरफाइनलमा बिहीबार विभागीय टोली त्रिभुवन आर्मी र बिर्तामोड युनाइटेड फुटबल क्लब झापाले प्रतिस्पर्धा गर्ने आयोजक समितिका सचिव टिकेन्द्र नेपालीले बताए। आर्मीको टोलीमा नेपाली राष्ट्रिय फुटबल टोलीका भरत खवास तथा बंगबन्धु गोल्डकप र दक्षिण एसियाली खेलकुद (सार्क) फुटबल प्रतियोगिता खेलिसकेका नवयुग श्रेष्ठ छन्। यी दुई खेलाडीसहित आर्मी मैदान उत्रनेछ।

सुझावित समाचार