सलहेश युवा क्लब सिराहा, ताप्लेजुङ गोल्डकपको सेमिफाइनलमा प्रवेश गरेको छ। मंगलबार सम्पन्न क्वार्टरफाइनलको दोस्रोे खेलमा पाँचथर फुटबल क्लबलाई १–० गोलअन्तरले पराजित गर्दै सिराहा सेमिफाइनलमा प्रवेश गरेको हो।
खेलको ४१औँ मिनेटमा जय गुरुङले प्रहार गरेको बलले जाली चुमेको थियो। त्यसपश्चात् पाँचथरले थप आक्रामक ढंगले खेले पनि कुनै गोल गर्न नसक्दा गुरुङको गोल नै निर्णायक भयो।
सोमबार भएको क्वार्टरफाइनलको पहिलो खेल जित्दै ताप्लेजुङको संघर्ष स्पाेर्टिङ क्लब यसअघि नै सेमिफाइनल पुगिसकेको छ।
लाखेजात्रा पर्वको अवसरमा लाखेजात्रा सञ्चालन समितिद्वारा सञ्चालित गोल्डकपको भोलि बुधबार हुने तेस्राे क्वार्टरफाइनल खेलमा बुटवल लुम्बिनी फुटबल क्लब रुपन्देही र सगरमाथा युथ क्लब मोरङबिच प्रतिस्पर्धा हुनेछ। यो दुई टिमबिचको विजेताले सेमिफाइनलमा ताप्लेजुङसँग भाद्र ७ गते भेट पक्का गर्नेछ।
भाद्र १० गते सम्पन्न हुने प्रतियोगिताको विजेताले ५ लाख र उपविजेताले २ लाख ५० हजार ५५५ रुपैयाँसहित ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गर्नेछन्।