भ्रष्टाचारविरुद्ध काम गर्दागर्दै सरकारबाट हटाइयो : प्रचण्ड

आइतबार, २ भदौ, २०८१
डिजिटल संस्करण

माओवादी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले भ्रष्टाचारविरुद्ध काम गर्दागर्दै आफूलाई सरकारबाट हटाइएको दाबी गरेका छन् । पोष्टबहादुर बोगटी स्मृति दिवसको अवसरमा पार्टी केन्द्रीय कार्यालय पेरिसडाँडामा शनिबार आयोजित कार्यक्रममा उनले पार्टी सरकारमा हुँदा सुशासन, सामाजिक न्यायको सवालमा धेरै काम गरिएको दाबी पनि गरे । ‘भ्रष्टाचारविरूद्व सुशासनको पक्षमा इतिहासमै महत्वपूर्ण काम भएका छन् । बजेट निर्माणमा पनि उत्पादनमा जोेड दिन खोजिएकोे छ । भ्रष्टाचारविरुद्ध काम गर्दागर्दै हामीलाई सरकारबाट हटाइयो,’ उनले भने ।

कांग्रेस–एमाले गठबन्धनलाई जनताले कालेकाले मिलेर खाउँ भालेको रुपमा बुझेको प्रचण्डले बताए । ‘संसद्मै हालका प्रधानमन्त्रीले माथिबाट कांग्रेससँग बोलचाल खुलाउनुप¥यो भनेर भन्ने अनि तलबाट शेरबहादुरजीले खुलाउने–खुलाउने भनेपछि मैले कुरा बुझिहालेँ र मैले त्यतिबेलै तपाईंहरू मिल्नुस् भनेको थिएँ । पछि त काले–काले मिलेर खाउँ भाले भयो । जनताले पनि त्यही ढंगले बुझेका छन्,’ उनले भने ।

शनिबार नै रुकुम पश्चिम–काठमाडौं सम्पर्क समन्वय समितिको दोस्रो जिल्ला सम्बोधनलाई राजधानीमा सम्बोधन गर्दै प्रचण्डले केन्द्रीय कार्यालय र स्थायी समितिमा छलफलपछि भ्रमको तुवाँलो हटेको बताए । उनले अब एकताबद्ध भएर देशव्यापी अभियानमा लाग्ने बताउँदै ‘पार्टी फुट्दै छ’ भन्ने हल्लालाई स्थायी समिति बैठकले खारेज गरेको उल्लेख गरे ।

‘एउटा भ्रम पार्टी फुट्ला कि भन्ने मैले त प्रभाकर (जनार्दन शर्मा)ले पार्टी कहीँ फुटाउँदै छन् भनेको पनि छैन । सोचेको पनि होइन । तर, भ्रम नै भ्रम, वरिपरिकाले भन्दै जाने, अर्कोले भन्दै जाने गर्दा साँच्चै पार्टी फुटाउन त हिजो पनि प्रतिक्रियावादीहरू लागेका हुन् । आज पनि लागेका छन् । माओवादी पार्टीलाई टुटाउन त प्रतिक्रियावादीहरू लागि नै रहन्छन् । कहीँ न कहीँ आशंकाको तुवाँलो थियो,’ प्रचण्डले भने, ‘स्थायी समिति बैठकको समापनसम्म आउँदा म तपाईंहरूलाई बडो गर्वका साथ भन्न सक्छु–त्यो तुवाँलो हटेको छ । पार्टी फुटको भ्रम चिरिएको छ । प्रतिक्रियावादी षड्यन्त्रलाई स्थायी समिति बैठकले खारेज गरेको छ । प्रभाकरले पार्टी फुटाउँदै छ भन्ने कुरा असत्य हो भन्ने मान्यता स्थापित गरिएको छ ।’

उपमहासचिव जनार्दन शर्माले उठाएका विषयलाई दस्तावेजमा समेटेर केन्द्रीय कमिटी बैठकमा प्रस्तुत गर्ने उनले जानकारी दिए । नेतृत्वको रचनात्मक भूमिकाप्रति शर्माले पनि आत्मसात् गर्नुपर्ने प्रचण्डले बताए । ‘केही गम्भीर आशंकाका कुराहरू छन् अझै पनि । त्यस्तो कुरामा मैले र प्रभाकरले अध्ययन अनुसन्धान गर्ने, यस्तो आशंकाको स्थिति कसरी बन्यो भन्नेबारेमा सँगै बसेर अनुसन्धान गर्ने, नभए केन्द्रीय कमिटीबाट टिम बनाएर पनि अध्ययन गर्ने, अहिले भ्रमका कुरा चिरिएका छन् । त्यसैले प्रभावकरले पनि ममाथि अत्याचारका अत्याचार भनिराख्न जरुरी छैन । तपाईंले बहस गरेर राम्रो भयो । तपाईंले भनेको कुरा मूल नेतृत्वले नकारात्मक ढंगले लिएको भए बैठकले तपाईंले उठाएको विषय पार्टीले स्विकार्दैनथ्यो । यो कुरालाई तपाईंले गहिरोसँग आत्मसात् गर्नुपर्छ,’ उनले भने ।

प्रचण्डको विचारले दुई सय वर्ष गाइड गरोस् : शर्मा
माओवादी उपमहासचिव जनार्दन शर्माले पार्टी र नेतृत्वलाई बलियो बनाउन आफूले लिखित प्रस्ताव अघि सारेको दाबी गरेका छन् । ‘पुष्पलालले जनवादी क्रान्तिको कार्यदिशा अगाडि सारेको हुँदा त्यही आधारमा दीर्घकालीन जनयुद्धको कार्यदिशालाई विकास गर्ने अध्यक्ष प्रचण्ड हो । उहाँले गर्दा हामी जनयुद्धसम्म आइपुग्यौँ । समावेशीमूलक लोकतन्त्र स्थापना गरेका छौँ । त्यसको संश्लेषण चाहिँदैन ? त्यसलाई वैचारिक दृष्टिकोणमा ढाल्नुपर्दैन ? त्यसले अरू सय, दुई सय वर्षसम्म अगाडि बढ्नुपर्दैन ? मैले त प्रचण्डलाई अरू दुई सय वर्षसम्म बचाउने कुरा गर्दै छु । प्रचण्डको विचारले गाइड गरोस् भनेर मैले भनेको कुरालाई नेतृत्वको विरुद्धमा आयो भनेर ममाथि अनेक अत्याचार गर्ने प्रयत्न गरियो । प्रचण्डले भौतिक जीवन हुँदा मात्र नेतृत्व गर्ने कि विचार दिएर परसम्म समाजवादी क्रान्तिको नेतृत्व गर्ने ? तपाईं आफैँ रोज्नुस्,’ उनले भने ।

शर्माले प्रचण्डलाई विचार निर्माणमा लाग्न पनि सुझाव दिए । ‘तपाईंको भूमिका विचार निर्माणमा होस् । सत्ताको नेतृत्व गर्नुस् । संगठनको नेतृत्व अरूलाई दिनुस् भनेको हो मैले । यो के अन्याय हो ? यो के उहाँप्रति अपमान हो ? यो के उहाँलाई हटाएर म अध्यक्ष हुन खोजेको हो ? मलाई चाहिएको छैन, तपाईंलाई हटाएर म अध्यक्ष हुनुछैन । तर, यो पार्टी आन्दोलन बनाउने हो भने यो छलफल चाहिन्छ भनेर मैले प्रस्ताव राखेको हो,’ उनले भने । शर्माले पार्टी र नेतृत्वलाई निरन्तर सहयोग गर्दै आए पनि भ्रम सिर्जना गर्ने काम भएको दुखेसो पोखे । 

See More On

सुझावित समाचार