उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री दामोदर भण्डारीले नेपालका लागि बेलायतका राजदूत रोब फेनलेसँगको भेटमा जडीबुटी, पश्मिना, चिया, तयारी पोसाक, गलैँचालगायत वस्तुको निर्यातमा सहयोग गर्नुपर्ने धारणा राखेका छन् ।
मन्त्री भण्डारीले नेपालको सामाजिक तथा आर्थिक विकासका लागि बेलायत प्रमुख विकास साझेदारका रूपमा रहेको र मानव विकास, आर्थिक विकास, सुशासन एवं मानवीय सहायतालगायत क्षेत्रमा गरेको निरन्तर सहयोग महत्वपूर्ण रहेको बताएका थिए ।
सन् २०२६ मा अति कम विकसित मुलुकबाट विकासशील मुलुकमा स्तरोन्नति हुने नेपालको लक्ष्य हासिल गर्न दिगो र भरपर्दो रूपमा संक्रमणकालीन व्यवस्थापन गर्न आवश्यक रहेको मन्त्री भण्डारीले बताएका थिए । नेपाली उद्योग–व्यवसायको विकास, प्रवद्र्धन तथा प्रतिस्पर्धी क्षमता अभिवृद्धि गर्न र नेपालको निर्यात व्यापारमा पर्न सक्ने असर न्यूनीकरण गर्दै प्राप्त अवसरको सदुपयोग गर्न आवश्यक रहेको उनको भनाइ थियो ।
उद्योग, पर्यटन, सूचना प्रविधिलगायत उत्पादनमूलक क्षेत्रको विकास तथा निर्यात अभिवृद्धि प्राथमिकताका क्षेत्रका रूपमा रहेको उनले जानकारी गराएका थिए । छलफलका क्रममा राजदूत फेनलेले अनुदान सहयोगमा सञ्चालन हुने कार्यक्रम कार्यान्वयनको तयारीको अवस्था र यसले साना उद्योगलाई पुर्याउने सहयोग तथा नयाँ सम्भावित कार्यक्षेत्रको विषयमा चासो राखेका थिए ।