संक्रमणकालीन न्यायसँग सम्बन्धित गठित संयन्त्रको बैठक सकिएको छ । आज बिहान सिंहदरबारस्थित गृह मन्त्रालयमा बसेको संयन्त्रको बैठकमा संक्रमणकालीन न्यायसम्बन्धी विधेयकमाथि सहमति जुटाउने विषयमा छलफल भएको हो ।
बैठकपछि सञ्चारकर्मीसँगको कुराकानीमा संयन्त्रका सदस्यसमेत रहेका नेपाल कम्युनिस्ट पार्टी (माओवादी केन्द्र)का उपमहासचिव जनार्दन शर्माले विधेयकमाथि सैद्धान्तिक सहमति जुटेको बताए । ‘संक्रमणकालीन न्यायसम्बन्धी विधेयकमाथि हामीले सैद्धान्तिक सहमति जुटाएका छौँ । यस विषयमा आगामी सोमबार सरोकार भएकासँग छलफल गर्नेछौँ । त्यसपछि संयन्त्रको बैठक बसेर यसलाई अन्तिम रूप दिने सहमति भएको छ,’ उनले भने ।
यस्तै, नेपाल कम्युनिस्ट पार्टी (एमाले)का मुख्य सचेतक महेश बर्तौलाले पनि संक्रमणकालीन न्यायसम्बन्धी विधेयकका विषयमा आगामी सोमबार सरोकार भएकासँग सुझाव लिएर अन्तिम रूप दिने गरी आजको बैठक सकिएको जानकारी दिए । ‘हामी यो विषयलाई अन्तिम रूप दिँदै छौँ । अन्तिम ढाँचा तयार गर्न आवश्यक पर्ने केही सुझाव सोमबारसम्म लिन्छौँ । परामर्शपछि कार्यदलको अन्तिम बैठक बसेर टुंग्याउँछौँ,’ उनले भने ।
पीडितमैत्री, सर्वोच्चको फैसला र अन्तर्राष्ट्रिय कानुनलाई आधार बनाएर विधेयकमा सहमति जुटाउने बर्तौलाले बताए । अर्को बैठकपछि अन्तिम बैठक बसेर प्रतिवेदन प्रधानमन्त्रीसहित शीर्ष नेताहरूलाई बुझाउने उनले उल्लेख गरे । संयन्त्रमा नेपाली कांग्रेसबाट गृहमन्त्री रमेश लेखक, एमालेबाट मुख्य सचेतक बर्तौला र माओवादी केन्द्रबाट उपमहासचिव शर्मा सहभागी छन्।