ललितपुरको गोदावरी नगरपालिका– १४ ठैबस्थित ‘नसारहित समाज पुनर्स्थापना केन्द्र’को इनारमा हैजाकमा जीवाणु भएको बाहिरको फोहोर पानी प्रवेश गर्दा फैलियो संक्रमण
ललितपुरको गोदावरी नगरपालिका– १४ ठैबस्थित ‘नसारहित समाज पुनर्स्थापना केन्द्र’को इनारमा ‘भिब्रियो कोलेरा’ जीवाणु भएको बाहिरी फोहोर पानी प्रवेश गर्दा सुधार केन्द्रका तीनजनालाई हैजा संक्रमण भएको छ । परीक्षणका लागि गत शुक्रबार शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पताल, टेकु ल्याइएका १६ वर्षीय किशोरमा सोमबार हैजा पुष्टि भएकामा बिहीबार पुनः दुईजनामा पनि देखिएको हो ।
पहिलो केस (किशोर)मा हैजा पुष्टि भएपछि शंकास्पद थप तीनजनालाई टेकु अस्पताल ल्याइएको थियो । स्याम्पल लिएपछि दुई युवा अस्पतालबाटै फरार भएका थिए । भागेकामध्ये २१ वर्षीय युवा र मिर्गौलामा समेत समस्या भएकाले पाटन अस्पताल रेफर गरी उपचाररत ५० वर्षीय पुरुषमा पनि पुष्टि भएको हो । अर्का एक फरार युवामा भने हैजाको जीवाणु नभेटिएको अस्पतालका निर्देशक डा. युवानिधि बसौलाले बताए । प्रारम्भिक रिपोर्टमा हैजा देखिएपछि सबैको स्याम्पल राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालामा थप परीक्षण गरिएको थियो ।
पुनर्स्थापना केन्द्रभित्र लामो समयदेखि तरकारी स्टोर गरेर राखिएको साथै सरसफाइमा ध्यान नदिँदा बाहिरको फोहोर पानी बर्खा लागेसँगै उनीहरूले प्रयोग गर्ने इनारमा मिसिएकाले हैजा देखिएको वडाध्यक्ष निरोज बज्राचार्यले बताए । उनका अनुसार केन्द्रमा रहेका अन्य ६१ जनामा पनि परीक्षण गरिएकामा उनीहरूमा भने हैजा पुष्टि भएको छैन ।
संक्रमण फैलिन नदिन निगरानी
पुनर्स्थापना केन्द्रका तीनजनामा हैजा पुष्टि भएपछि ललितपुर– १४ वडाले सरसफाइ अभियान र निगरानी बढाएको छ । स्वास्थ्यकर्मी र प्रहरीको समन्वयमा पानीका स्रोतहरूमा हैजाको जीवाणु परीक्षण, जोखिमयुक्त क्षेत्रमा रहेका प्रत्येक व्यक्तिमा संक्रमण परीक्षण गर्नुका साथै खानेपानीका सबै स्रोतहरूमा सरसफाइ थालिएको वडाध्यक्ष बज्राचार्यले बताए । पिउने पानीको स्रोतमा ढलको पानी मिसिन सक्ने स्थानमा रोकथामदेखि पिउने पानीको निर्मलीकरणमा जोड दिएको उनको भनाइ छ । स्वास्थ्य मन्त्रालयले पठाएको स्वास्थ्यकर्मी टोलीसँगै स्वास्थ्य चौकीमा रहेका स्वास्थ्यकर्मी, खानेपानी, रेडक्रसलगायत संस्थाहरूको सहकार्यमा हैजा संक्रमण नियन्त्रणका कामहरू भइरहेको छ ।
धनगढीमा पनि आरडिटी परीक्षणमा दुई युवालाई हैजा
कैलालीको धनगढीमा पनि दुई युवामा हैजाको संक्रमण देखिएको छ । झाडापखाला भएपछि सेती प्रादेशिक अस्पतालमा उपचाररत पशुपति टोलका २३ र २६ वर्षीय युवामा हैजा ‘पजिटिभ’ देखिएको हो । आरडिटीबाट परीक्षण गर्दा पजिटिभ देखिएको सेती प्रादेशिक अस्पतालका सूचना अधिकारी किशोरकुमार श्रेष्ठले बताए । ‘आरडिटीबाट परीक्षण गर्दा हैजा पजिटिभ देखायो । थप परीक्षणका लागि अस्पतालकै प्रयोगशालामा नमुना पठाएका छौँ,’ श्रेष्ठले भने, ‘प्रयोगशालाको रिपोर्ट आएपछि मात्र हैजा भए–नभएको पुष्टि हुनेछ ।’ शुक्रबार बिहान रिपोर्ट आउने उनले बताए ।
सचेत गराउँदै चिकित्सक भन्छन्– हैजाको जोखिम देशैभर छ
बर्खायाममा कुनै निश्चित ठाउँमा मात्र नभई सरसफाइमा ख्याल नगरिए देशैभर हैजाको जोखिम रहेको चिकित्सकको चेतावनी छ । इपिडिमियोलोजी तथा रोग नियन्त्रण शाखाका डा. मुकेश पौडेलले संक्रमण जतासुकै देखिन सक्ने भएकाले देशभर नै नियमित निगरानी बढाइएको पनि बताए ।
‘ठैबको पुनर्स्थापना केन्द्रबाट संक्रमण फैलिन नदिन पूर्णतया परीक्षण र नियन्त्रणका उपायहरू अपनाइएको छ । वडामा रहेको बाडेगाउँ स्वास्थ्य केन्द्रमा पनि पछिल्लो दुई साताको झाडापखालाको अवस्था हेरेका थियौँ । तर, अवस्था सामान्य देखिएको छ । तर, संक्रमणको जोखिम भने ललितपुरमा मात्रै नभएर अन्यत्र पनि सजग रहन आवश्यक देखिएको छ,’ उनले भने । पानी पूर्णतया शुद्धीकरण गरेर मात्र प्रयोगमा ल्याउन, शौचालय प्रयोग गरिसकेपछि सरसफाइमा ध्यान दिन, शौचालय सफा राख्न, खानेकुरासमेत राम्ररी पकाएर खान र झाडापखालाको लक्षण देखिए स्वास्थ्य संस्थामा जान डा. पौडेलले आग्रह गरेका छन् । संक्रामक रोग विशेषज्ञ डा. शेरबहादुर पुनले चौलानीजस्तो दिसा देखिने, तारन्तार पखाला लाग्ने, पिँडुला बाउँडिने र तारन्तार बान्ता हुने भई हैजाको गम्भीर अवस्था हुन सक्ने भन्दै सचेत गराएका छन् । यस्तो अवस्थामा तुरुन्त स्वास्थ्य संस्था जान उनको सुझाव छ ।