ललितपुरका एक १६ वर्षीय बालकमा हैजा पुष्टि भएको छ। गत शुक्रबारदेखि टेकु अस्पतालमा उपचाररत उनलाई आज मंगलबार हैजा पुष्टि भएको हो।
शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पताल (टेकु अस्पताल)का अनुसार, आरटी रिपोर्टमा हैजा पोजेटिभ देखिएपछि अस्पताल भर्ना भएका उनलाई ल्याब रिपोर्टमा पनि संक्रमण पुष्टि भएको हो। हाल उनलाई टेकु अस्पतालमै आइसोलेसनमा राखेर उपचार भइरहेको छ।
अस्पतालका निर्देशक डा. युवानिधि बसौलाले भने, ‘हैजा पुष्टि भएका बालक ललितपुरको गोदावरी नगरपालिका वडा नम्बर १४ का हुन्। उनको हाल आइसोलेसनमा राखेर उपचार भइरहेको छ। सोही ठाउँबाट अन्य दुई–तीनजनालाई अस्पताल ल्याइए पनि संक्रमण पुष्टि भने भएको छैन।’
डा. बसौलाका अनुसार सोही ठाउँका आइसियूमा उपचाररत अर्को एकजनालाई समेत हैजाका लक्षण देखिएपछि परीक्षणका लागि राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालामा कल्चर गराउन पठाइएको छ। तर, मिर्गौलामा पनि समस्या देखिएकाले ती व्यक्तिलाई भने थप उपचारका लागि पाटन अस्पताल रिफर गरिएको छ। यस्तै हैजाका संक्रमण देखिएका तेस्रो व्यक्तिको समेत रिपोर्ट नआएकाले हाललाई आइसोलेसनमा राखेर उपचार भइरहेको डा. बसौलाले बताए।
गोदावरी– १४ मा हैजा फैलिन सक्ने भन्दै स्वास्थ्य चौकीलाई थप निगरानी बढाउन आग्रह गरिएको छ। खासगरी पानीको माध्यमबाट हैजा फैलिन सक्ने भएकाले संक्रमणबाट बच्न सुरक्षाका उपाय अपनाउन चिकित्सकले सुझाव दिएका छन्।
संक्रमणबाट बच्न सधैँ पानी उमालेर वा क्लोरिन झोलको प्रयोग गरेर मात्रै पिउने, व्यक्तिगत सरसफाइमा ध्यान दिने, बासी सडेगलेका खानेकुरा नखाने, खाना छोपेर राख्ने, काँचै खान मिल्ने फलफूल र तरकारी राम्ररी पखालेर मात्र खाने गर्दा संक्रमणबाट बच्न सकिने डा. बसौलाले बताए।