आधुनिक शिक्षाले नबुझेको गुरुकुल परम्परा पश्चिमा मुलुकमा शैक्षिक प्रणाली विकास हुनुपूर्व नै पौरस्त्य शिक्षा प्रणालीमा विकास भइसकेको सुव्यवस्थित शिक्षा प्रणाली हो। गुरुकुल परम्परा प्राचीन तथा सनातन भएकाले यस परम्पराले हरेक प्रकारका शिक्षाको आरम्भ बिन्दुको नेतृत्व गर्छ।
गुरुकुल परम्परामा एक शिष्यलाई पूर्णतः सफल बनाउनु गुरुको दायित्व हुन्छ। यस परम्परामा सर्वप्रथम गुरुले शिष्यलाई स्वीकार्ने तथा शिष्यले गुरुलाई स्वीकार्ने गरिन्छ। त्यसपछि गुरुले शिष्यको सम्पूर्ण तरिकाबाट परीक्षण गरी उसमा भएको वास्तविक योग्यताको अन्वेषण गर्छन्। त्यसलाई नै केन्द्रमा राखेर त्यसका लागि आवश्यक पर्ने शैक्षिक विधि अपनाएर उसलाई प्रशिक्षण गर्छन्।
यस परम्परामा गुरुले शिष्यलाई शिक्षा दिने मात्रै नभएर आफ्नो आश्रममा राखेर पालन गर्ने, नियमको ज्ञान बाढ्ने तथा जीवन बाँच्नका लागि आवश्यक पर्ने जीवनोपयोगी शिक्षा प्रदान गर्नेजस्ता कयौँ सुव्यवस्थित जीवन बाँच्नका लागि आवश्यकीय न्यूनतम दायित्वहरू स्वीकार गरिएको हुन्छ। पौराणिक प्रसंगमा उल्लेख गरिएअनुसार भगवान् राम, श्रीकृष्ण, बुद्धलगायत सबैले यहीँ गुरु परम्परामा रहेरै शिक्षा ग्रहण गर्नुभएको थियो।
गुरुवाक्य सबैभन्दा शक्तिशाली हुने हुँदा गुरु बिनाको ज्ञान कहिल्यै पूर्ण हुन नसक्ने कुरा शास्त्रमा उल्लेख गरिएको छ
हरेक वर्ष आषाढ शुक्ल पक्षको पूर्णिमा तिथिलाई गुरुपूर्णिमाका रूपमा मनाउँदै आइएको छ। यस वर्ष श्रावण ६ गते आइतबार परेको छ। गुरुपूर्णिमा व्यास पूर्णिमाको नामले पनि प्रसिद्ध रहेको छ। यसदिन महाभारतका रचयिता कृष्ण द्वैपायन व्यासको जन्मदिन पनि रहेकाले यसको महत्व झनै उच्च रहेको शास्त्रमा उल्लेख गरिएको छ। उनले चारै वेद सम्पदन र व्यवस्थापन गरेकाले उनलाई वेदव्यास भनिएको हो।
यस दिन अन्धकारबाट ज्ञानको ज्योति देखाइदिने गुरुहरूको विशेष पूजा तथा सम्मान गर्ने परम्परा सदियौँदेखि चलिआएको छ। गुरुका लागि शिष्य सर्वाधिक मूल्यवान हुने भएकाले गुरुले देखाएको मार्गमा हिँडेर शिष्य आफ्नो जीवनमा सफल बनेको देखिनु नै गुरुप्रतिको सम्मान हो। द्रोणाचार्यले जस्तै हरेक गुरुले आफ्ना शिष्यलाई अर्जुन बनाउने प्रयासमा लागिपरेका हुन्छन्।
गुरु बृहस्पति ज्ञानका भण्डार हुन्। सबैलाई समान रूपमा ज्ञानको ज्योति फैलाउने काम गुरुकै भएकाले आजका दिन गुरुको सम्मानमा पूजा गर्ने परम्परा रहिआएको छ।
गुरुको महत्व सबै दृष्टिकोणबाट अपरम्पार छ। आध्यात्मिक शान्ति, धार्मिक ज्ञान तथा सांसारिक निर्वाहका लागि गुरुको दिशानिर्देश महत्वपूर्ण रहने गरेको छ। त्यसकारण हरेक व्यक्तिको जीवनमा विभिन्न संकटबाट मुक्ति पाउनका लागि देखाइने मार्गनिर्देशन दिनु नै गुरुको कर्तव्य हो।
पछिल्लो समय समाज आधुनिकीकरण तर्फ धकेलिँदै गर्दा विस्तारै गुरुकुलीय परम्परा लोप हुने अवस्थामा आएको परिस्थितिमा यस्ता हाम्रा मौलिक परम्पराका चाडपर्वहरूले केही भए पनि संस्कृति संस्कारको पालना गरेको देखिन्छ।
गुरुपूर्णिमा यस्तो एउटा पवित्र दिन हो उक्त दिन अन्धकारबाट उज्यालोतिर मार्गदर्शन गर्ने काम गुरुको हो। यदि कुनै पनि मानिसले आजको दिन गुरुको पूजा, ध्यान तथा उच्च सम्मान प्रकट गर्नसकेमा समस्त मनोरथ पूर्ण हुने शास्त्रमा उल्लेख गरिएको छ।
गुरुबिना कुनै पनि प्रकारका शिक्षाले पूर्णता पाउन सक्दैन। गुरुवाक्य सबैभन्दा शक्तिशाली हुने हुँदा गुरु बिनाको ज्ञान कहिल्यै पूर्ण हुन नसक्ने कुरा शास्त्रमा उल्लेख गरिएको छ। यदि कसैलाई शिक्षामा अवरोध भएको छ या लामो प्रयासपछि पनि कार्य सफल हुन सकेको छैन भने गुरुपूर्णिमाका दिन गुरुद्वारा मन्त्र सुनेर नित्य जप गरेमा बाधा अवरोध हटेर जाने शास्त्रमा उल्लेख गरिएको छ।
आध्यात्मिक शान्ति, धार्मिक ज्ञान तथा सांसारिक निर्वाहका लागि गुरुको दिशानिर्देश महत्वपूर्ण रहने गरेको छ
मानिसको तेस्रो आखा अर्थात् ज्ञानको ज्योति खुल्ला गर्नका लागि गुरुमन्त्रद्वारा साधना गरेमा लक्ष्यमा पुग्न सकिने भनेर भनिएको छ । जीवनमा मार्गदर्शन गराउने मुख्य तथा सम्मानित व्यक्ति नै गुरु हो या ज्ञानको अर्कोरुप भनेकै गुरुको हो । संसारमा हरेक वस्तु दिँदा सकिन्छ, तर विद्या मात्रै एउटा यस्तो वस्तु हो जुन जति दियो त्यो भन्दा १०८ गुणा बढेर जान्छ, त्यसैले ज्ञान दिने जति पनि हुनुहुन्छ उहाँको सम्मानमा गुरुपूर्णिमा पर्व मनाउने परम्परा सदियौँदेखि यथावत् रुपमा चलिआएको छ।
मातापिताको आशीर्वाद तथा गुरुको ज्ञानविनाको जीवन नरकतुल्य हुने हुँदा हरेक व्यक्तिले सर्वप्रथम आफ्नो प्रथम गुरुका रूपमा आफ्ना मातापिता र गुरुको आदर पूर्वकसम्मान गर्न सक्नुले नै गुरुपूर्णिमाको वास्तविक उपादेयता प्रकट गर्छ।