श्रीमदभगवदगीता भगवान् श्रीकृष्णले गाउनुभएको हुनाले यसलाई गीता भनिन्छ। मार्गशीर्ष शुक्लपक्षको एकादशीको दिन अत्यन्त पवित्र मानिन्छ। किनभने यही दिनमा भगवान् श्रीकृष्णले कुरुक्षेत्रको युद्धभूमिमा अर्जुनलाई निमित्त बनाएर सम्पूर्ण जगतलाई परम तत्त्वरूप गीताको उपदेश प्रदान गर्नुभएको थियो। यही दिनलाई स्मरण गर्दै हरेक वर्ष गीताजयन्ती मनाइन्छ।
गीता केवल एउटा धर्मग्रन्थ मात्र होइन, जीवनका प्रत्येक पक्षमा प्रकाश छर्ने शिक्षाहरूको भण्डागार हो। जसले हजारौँ वर्षअघि जति महत्त्व राख्थ्यो, आज पनि उति नै प्रभावशाली महत्त्व राख्दछ। त्यसैले यो गीताजयन्ती मनाउने उद्देश्य केवल एक दिन स्मरण गर्नु मात्र होइन, गीताको सन्देशलाई जीवनमा उतार्नु हो।
गीता महाभारतको भीष्म पर्वअन्तर्गत रहेको दार्शनिक भाग हो, जहाँ कृष्ण र अर्जुनको संवादमार्फत जीवन, कर्तव्य, ज्ञान र मोक्षसम्बन्धी गहन उपदेशहरू प्रस्तुत भएको छ।
भारतीय दार्शनिक परम्परामा ‘योग’लाई बहुआयामिक रूपमा व्याख्या गरिन्छ। गीता यही योगलाई कर्मयोग, भक्तियोग र ज्ञानयोग– एक–आफसमा समन्वय गर्दै जीवनका लागि एक सन्तुलित मार्गका रूपमा प्रस्तुत गर्छ।
सनातन धर्म संस्कृतिमा श्रीमदभगवदगीतालाई योगशास्त्रको एक प्रमुख ग्रन्थ मानिन्छ। यसैले गीतामा उल्लेखित योग मार्गहरूलाई विभिन्न कोणबाट बुझ्न सकिन्छ। गीताका प्रत्येक अध्यायको नाम ‘योग’ शब्दलाई आधार बनाइएको छ, तर साँच्चिकै हेर्दा कर्म, ज्ञान र भक्ति– यी नै प्रमुख योगमार्ग हुन्।
यीमध्ये कुन योगमार्गले परमात्मासँग ऐक्यभाव गर्न उत्तम सरल उपाय दिन्छ ? यस विषयमा गीताका भाष्यकारहरूले भिन्न–भिन्न दृष्टिकोण राखेका छन्। आचार्य शंकराचार्यजीले ज्ञानमार्गलाई सर्वोपरि मान्नुभयो। यसैगरी रामानुजाचार्य, मध्वाचार्य, वल्लभाचार्य प्रभृति आचार्यहरूले भक्तिमार्ग नै मोक्षका लागि श्रेयस्कर साधन मान्नुभयो। धेरैले कर्ममार्ग नै लौकिक र पारलौकिकका लागि हितकर साधन हो भनेर मान्दछन्।
कर्म, ज्ञान र भक्ति जीवनका स्तम्भ हुन्। कर्म गर्नु प्रत्येक मानिसको पहिलो कर्तव्य हो। कर्म नगरी कुनै पनि व्यक्ति आफ्नो जीवनमा सफल हुन सक्दैन। आजको मानिस सुखी जीवनको ठुलो चाहना राखेर उभिएको छ। तर, उसको वास्तविक मार्ग उसको आफ्नै कर्ममा नै लुकेको हुन्छ। त्यसैले आफ्नो कर्मको रहस्य बुझ्नु अत्यन्त आवश्यक छ। यही कुरा गीतामा कर्मयोगको माध्यमबाट स्पष्ट रूपमा बताइएको छ।
भगवान् श्रीकृष्णले मनुष्यलाई फलको इच्छा नगरी कर्म गर्न प्रेरित गर्नुभएको छ।
कर्मण्येवाधिकारस्ते मा फलेषु कदाचन।
मा कर्मफलहेतुर्भूर्मा ते सङ्गोऽस्त्वकर्मणि॥
ज्ञानयोग :
त्यो ज्ञान, जसको माध्यमबाट जीव परमपद अर्थात् मोक्ष प्राप्त गर्न सक्षम हुन्छ। यही कारणले मनुष्यले आत्मा, प्रकृति र ईश्वरको स्वरूपलाई जान्न आवश्यक छ। यिनको वास्तविक ज्ञान पाएपछि मात्रै मानिस आफ्नो जीवनको सर्वोच्च लक्ष्य प्राप्त गर्न सक्षम हुन्छ।
श्रीमदभगवदगीताको सातौँ अध्यायमा प्रकृतिलाई दुई भागमा वर्णन गरिएको छ–
१. अपर (जड) प्रकृति
२. पर (चेतन) प्रकृति
अपर प्रकृतिमा पृथ्वी, जल, अग्नि, वायु, आकाश, मन, बुद्धि र अहंकार गरी आठ तत्त्व समावेश छन्। यी सबै जड तत्त्व हुन्। तर, यसबाहेक अर्को प्रकृति पनि छ, जसलाई पराप्रकृति भनिन्छ, यो चेतन शक्ति हो, जसद्वारा सम्पूर्ण जगत् सञ्चालित र धारण गरिएको छ। यही परा प्रकृति ‘मेरा जीवहरू’ अर्थात् चेतन जीवात्माको रूप हो। आत्माको स्वरूपको स्पष्ट निरूपण गीताको द्वितीय अध्यायमा गरिएको छ। भनिएको छ :
न जायते म्रियते वा कदाचिन्नायं भूत्वा भविता वा न भूयः।
अजो नित्यः शाश्वतोऽयं पुराणो न हन्यते हन्यमाने शरीरे।।
आत्मा कहिल्यै कुनै कालमा जन्मँदैन, कहिल्यै मर्दैन, उत्पन्न भएर फेरि उत्पन्न हुने वस्तु होइन। आत्मा अजन्म, नित्य, सनातन र पुरातन हो। शरीर मरे पनि आत्मा कहिल्यै मर्दैन आत्मा सदैव अमर रहन्छ।
भक्तियोग :
श्रीमदभगवदगीताको १२औँ अध्यायमा भगवान् श्रीकृष्ण ईश्वर भक्ति (उपासना) गर्ने योगीहरूका लागि भक्तिको व्याख्या गर्दै भन्नुहुन्छ कि जो परब्रह्मको सम्पूर्ण रूपमा मन लगाउँछन्, नित्य रूपले परब्रह्मको स्मरण गर्दै पूर्ण श्रद्धाका साथ ईश्वरको सम्पूर्ण उपासना गर्छन्, ती योगीहरू नै श्रेष्ठ योगी हुन्।
मय्यावेश्य मनो ये मां नित्ययुक्ता उपासते
श्रद्दया परयोपेतास्ते मे युक्ततमा मताः।। – श्रीमद्भगवद्गीता १२/२
ज्ञानयोग र कर्मयोगका लागि भक्ति पनि आवश्यक हुन्छ, किनकि शारीरिक भक्तिविना निष्काम कर्म हुन सक्दैन। र, जब साधक भक्तियोगका माध्यमबाट आफ्नो सर्वस्व भगवान्लाई अर्पण गरिदिन्छ, तब उसको सांसारिक पदार्थहरूप्रति आसक्ति समाप्त हुन्छ। यही अवस्था प्राप्त भएपश्चात् परमतत्त्व (उच्च सत्य)को ज्ञान पाउन सकिन्छ।
आधुनिक युगमा गीताको महत्त्व
कुनै पनि ग्रन्थको उपयोगिता वा उपादेयता यस कुरामा निर्भर हुन्छ कि त्यसले हामीलाई जीवनका सर्वोच्च लक्ष्यसम्म पुग्न कति सहयोग पुर्याउँछ। यही सोपानमा श्रीमदभगवदगीता पूर्णतया अग्रगण्य स्थानमा छ भन्दा वैमत्य छैन, र युगौँदेखि यसले आफ्नो सार्थकता प्रमाणित पनि गर्दै आएको छ।
श्रीमदभगवदगीता योगेश्वर श्रीकृष्णको दिव्य वाणी हो, जुन द्वापरयुगमा महाभारतको युद्धकालीन रणभूमि– कर्तव्यप्रति मोहग्रस्त भई विचलित भइरहेका अर्जुनलाई सम्झाउनका लागि भगवान् श्रीकृष्णले उच्चारित गर्नुभएको थियो। तर, गीता केवल त्यो समयमा मात्र प्रासंगिक थिएन, आज पनि उत्तिकै सान्दर्भिक छ। किनकि गीताको सबैभन्दा ठुलो विशेषता यही हो कि यसले सामान्य मानिसका शंकाहरूलाई अर्जुनका प्रश्नहरूको माध्यमबाट उत्तर दिन खोजेको छ।
आजको आधुनिक जीवन भौतिक सुविधाले भरिएको देखिए पनि यसको भित्री पाटो बेचैनी, निराशा, असफलता र मानसिक अस्थिरताले ओतप्रोत छ। विज्ञान र प्रविधिको उल्लेखनीय प्रगतिले मानिसलाई बाहिरी रूपमा सफल बनाएको छ, तर उसको अन्तर्मन– उसको चेतना, धैर्य र शान्तिलाई भौतिक जीवनशैलीले क्रमशः कमजोर बनाइदिएको छ। यही कारणले मानिस बाहिर चम्किलो देखिए पनि भित्रभित्रै अधुरोसँग संघर्ष गरिरहेको छ।
मानिसको सबैभन्दा ठुलो चाहना सुखमय जीवन हो, तर त्यसको बाटो उसकै कर्म, कर्तव्य र आत्म–अनुशासनमा निहित हुन्छ। जीवनका गहिरा रहस्य बुझ्न र सही दिशा पहिचान गर्नका लागि श्रीमदभगवदगीता आज पनि उत्तिकै आवश्यक छ।
गीता केवल धार्मिक ग्रन्थ होइन, यो आत्मज्ञान, धैर्य, साहस र समत्वको जीवनदर्शन हो। यही कुरालाई भारतका राष्ट्रपिता महात्मागान्धीले गीतासँग आफ्नो जीवन अनुभव यसरी व्यक्त गर्छन्, ‘घनघोर अँध्यारोमा जब म पूर्ण रूपमा एक्लो र असहाय हुन्छु, प्रकाशको एउटा किरण पनि देखिँदैन, तब म भगवदगीताको शरण लिन्छु।’
अर्का पूर्वीय दार्शनिक परम्पराका अग्रणी चिन्तक श्री अरविन्द पनि गीताको महत्त्व यसरी स्पष्ट पार्छन्, ‘भगवदगीता कुनै धर्मग्रन्थ वा मात्र किताब होइन। यो जीवन जिउने कलाको सूत्र हो। हरेक युगमा, हरेक समाजमा यसको सन्देश नयाँ अर्थमा खुल्दछ।’ आजको सामाजिक–मानसिक तनाव, प्रतिस्पर्धा र आध्यात्मिक रिक्तताभित्र गीता एउटा प्रकाशजस्तै छ, जो बताउँदछ–मानिसले आफ्नो कर्तव्य इमानदारीपूर्वक पूरा गरेपछि फलका चिन्ताबाट स्वतन्त्र हुनुपर्छ।
आजको आधुनिक जीवनमा मानिसलाई सबैभन्दा बढी आवश्यक छ– आफ्नो भित्री चेतना र बाहिरी व्यवहार दुवैमा सन्तुलन कायम गर्न सक्ने शक्ति। मानिसले दैनिक जिम्मेवारीहरू पूरा गर्दै जाँदा यही सन्तुलनले उसलाई सफल बनाउँछ र आफैँलाई रूपान्तरण गर्ने क्षमतासमेत दिन्छ।
श्रीमदभगवदगीताबाट प्राप्त शिक्षाले मनुष्यलाई लोभ, ईर्ष्या, अहंकार, छल–कपट, स्वार्थ र कठोरताजस्ता दूषणहरूबाट मुक्त गराउँदै नयाँ, स्वस्थ र जागृत समाज निर्माण गर्ने दिशामा अघि बढाउँछ। जब मानिस भित्रबाट निर्मल बन्छ, उसका हरेक कर्मले सम्पूर्ण मानवजातिलाई कल्याणतर्फ डोर्याउँदछ।
जब उसका बाहिरी सुविधाहरू पनि भित्री शुद्धतासँग मिल्छन्, तब जीवन अधिक सुखद र अर्थपूर्ण देखिन थाल्छ। अनि भूकम्प, महामारी, जातीय द्वन्द्व, युद्ध, राष्ट्र–राष्ट्रबिचका घातक प्रतिस्पर्धा, हिंसा, नरसंहार, पारिवारिक कलहजस्ता आजका जटिल समस्याहरूबाट मुक्त भएर एक नयाँ सभ्यता र विकास–मार्ग खुल्न सक्छ।
यसका लागि चाहिएको मात्रै कुरा– गीतातर्फ संकेत गरिएको धर्ममार्गमा आस्था राखी, निष्काम भावले कर्म गर्दै, आफ्ना कर्तव्यलाई पवित्रतापूर्वक पूरा गर्नु नै हो। यस्तै कर्मले मनुष्यको जीवनलाई श्रेष्ठ बनाउँछ।
‘कर्मयोग’ आधुनिक जीवनको केन्द्रविन्दु बन्न पुगेको हामीले सकारात्मक र निस्वार्थ भावले काम गर्नैपर्छ। देश, समाज र सबैभन्दा पहिले आफ्नै सुधारणाका लागि आज गरिएको प्रयास भविष्यमा अवश्य फलिफाप हुन्छ। यही नै गीताको सार हो।
(बराल नयाँदिल्लीस्थित केन्द्रीय संस्कृत विश्वविद्यालयका सहायकाचार्य तथा शोधछात्र हुन्।)