हिउँको काखमा अविस्मरणीय यात्रा : दिक्तेलदेखि पिकेपिकसम्म

आइतबार, २ कार्तिक, २०८३
डिजिटल संस्करण

सेताम्मे हिउँले ढाकिएको त्यो बिहान आज पनि मेरो आँखामा ताजै छ। चारैतिर बाक्लो कुहिरो थियो, हिउँले रुखका हाँगाहरू सेताम्मे बनेका थिए र चिसो हावाले अनुहारमा स्पर्श गरिरहेको थियो। पाइलैपिच्छे हिउँ चरमराउँथ्यो। शरीर थकिसकेको भए पनि मन भने असाध्यै उत्साहित थियो। हामी १२ जनाको समूहले गत वर्ष खोटाङको प्रमुख व्यापारिक केन्द्र दिक्तेलबजारबाट सुरु गरेको त्यो पदयात्राको उद्देश्य केवल ४,०६३ मिटर अग्लो शिखरमा पुग्नु मात्र थिएन; बरु भूगोल, प्रकृति, संस्कृति र इतिहासलाई नजिकबाट अनुभूति गर्ने एउटा सार्थक खोजी थियो।

हामीले मध्यपहाडी लोकमार्गको सहज बाटो छोडेर पुरानो कच्ची मार्ग रोज्यौँ। हाम्रा अघिल्ला पुस्ताले पूर्व ३ नम्बरको सदरमुकाम ओखलढुंगा आवतजावत गर्दा यही बाटो प्रयोग गर्थे भन्ने कुरा हामी अग्रजहरूबाट सुन्थ्यौँ। नयाँ सडक र आधुनिक यातायातका साधनले धेरै पुराना बाटाहरू विस्थापित गरे पनि ती पदमार्गहरूमा विगतका पुस्ताका पाइला र संघर्षका कथाहरू अझै बाँकी रहेको अनुभूति हुन्थ्यो। हामी हिँडिरहेको बाटो माटो, ढुंगा र धुलोले बनेको सामान्य गोरेटो मात्र थिएन; त्यो हाम्रा पुर्खाहरूको आवतजावत, संघर्ष र जीवनसँग जोडिएको एउटा ऐतिहासिक पदचिह्नजस्तै लागिरहेको थियो।

पहिलो दिन : दिक्तेलदेखि धापसम्म
मध्यपहाडी लोकमार्गको बिजुलेबाट छुट्टिएर रावाबेँसी गाउँपालिका– ३ लामीडाँडामा पर्ने लामीडाँडा विमानस्थलतर्फ लाग्दा बाटोमा भेटिएका स्थानीय अग्रजहरूसँग भलाकुसारी भयो। विमानस्थल निर्माणसँग जोडिएका स्थानीय प्रसंगहरू सुन्दा विकासका संरचना बनाउँदा भूगोल, पहुँच र स्थानीय आवश्यकताबिचको सम्बन्धबारे पनि सोच्न हामी बाध्य भयौँ। यात्राका यस्ता कुराकानीले हाम्रो ध्यान केवल प्रकृतिको सौन्दर्यमा मात्र सीमित हुन दिएनन्, हामी हिँडिरहेको भूगोलको सामाजिक र ऐतिहासिक पक्ष बुझ्ने अवसर पनि जुटाइदिए। लामीडाँडाका स्थानीयवासीका अनुसार पहिले एयरपोर्ट कच्ची भए पनि हप्तामा सरकारी तथा निजी क्षेत्रका दर्जनौ फ्लाइट हुन्थे। तर, अहिले एयरपोर्ट पक्की भए पनि बन्द छ। यसले हामीलाई सोचमग्न बनायो। यात्राकै क्रममा पृथ्वीनारायण शाहको राज्य विस्तारसँग जोडिएका हरिनन्दन पोखरेलका सन्तानहरूको प्रभावबारे पनि चर्चा चल्यो।

इन्जिनियर वीरेन्द्रकेशरी पोखरेलले लामीडाँडामा हाल रहेको विमानस्थल खोटाङकै खाम्तेलस्थित कामीडाँडामा बनाउन उपयुक्त हुने निष्कर्षसहित विस्तृत अध्ययन गरिरहेका वेला, राज्यसत्तामा आफ्नो पहुँच प्रयोग गरेर लामीडाँडामा विमानस्थल बनाइएको स्थानीय अग्रजहरूले बताए। बाटोमा उठेका यस्ता ऐतिहासिक सन्दर्भहरूले यात्रालाई थप अर्थपूर्ण बनाइरहेका थिए। कुनै ठाउँमा पुग्दा त्यहाँको भूगोल मात्र होइन, त्यस भूगोलभित्र निर्माण भएका सत्ता, समाज, संस्कृति र स्मृतिका विविध तहहरू पनि सम्झनामा आउँदा रहेछन्।

क्रमशः हामी दुधकोशीको किनारमा रहेको रबुवा बजार पुग्यौँ। नदीको अविरल बहाब, वरिपरिका पहाड र बजारको चहलपहलले यात्राको दृश्यलाई नयाँ रूप दिएका थिए। दुधकोशीमा रहेको झोलुंगे पुल नेपालकै पुराना पुलहरूको सूचीमा पर्छ। पूर्व ३ नम्बरको सदरमुकाम ओखलढुंगा पुग्न सहज होस् भनेर यो पुल बनाइएको भनिन्छ। यो पुल निर्माण गर्दा सेवा क्षेत्रका प्रत्येक परिवारले एक रुपैयाँ नगद र एक दिनको श्रमदान अनिवार्य गर्नुपर्ने व्यवस्था गरिएको रहेछ। मेरा बाजेले यो पुल निर्माणका समयमा सात घरको सात रुपैयाँ पैसासहित गएर सात दिन काम गर्नुभएको कुरा हामीलाई सुनाउनुहुन्थ्यो।

त्यही क्षेत्रमा निर्माणाधीन ६३५ मेगावाट क्षमताको दुधकोशी जलाशययुक्त जलविद्युत् आयोजनाले विकास र प्रकृतिबिचको द्वन्द्व तथा सम्बन्धलाई प्रत्यक्ष देखाइरहेको थियो। एकातिर शताब्दीयौँदेखि आफ्नै गतिमा बगिरहेको दुधकोशी, अर्कातिर त्यसको प्रवाहलाई उपयोग गरेर ऊर्जा उत्पादन गर्ने आधुनिक संरचना– यी दुई दृश्यले समयको परिवर्तनलाई एकैपटक बोध गराइरहेका थिए। रँभुवाबजारबाट हामीले झोलुंगे पुल पार गर्याैँ। पुलमाथिबाट तल उर्लिरहेको नदीलाई हेर्दा केही क्षणका लागि सबै जना टक्क रोकियौँ। नदीको गर्जन, पुलको मन्द कम्पन र वरिपरिको पहाडी दृश्यले यात्राको थकान केहीबेर बिर्साइदियो।

त्यसपछि ठोट्ने खोलाको पक्की पुल हुँदै निशङ्खेको उकालो सुरु भयो। साँझ पर्न थालिसकेको थियो। कात्तिकको चिसो मौसममा बाक्लिँदै गएको हुस्सुले बाटो झन् चुनौतीपूर्ण बनाइरहेको थियो। अगाडिको बाटो स्पष्ट देखिँदैनथ्यो, शरीर पनि गल्दै गएको थियो। हामी गोरुमारे भञ्ज्याङ पुग्यौँ र बिसाएर चिया पियौँ। त्यहाँ बाटोछेउमा करिब पाँचदेखि सात वर्ष उमेरका चार–पाँचजना केटाकेटी खेलिरहेका थिए। मलाई देख्नेबित्तिकै ती नानीहरू दौडिँदै नजिक आए र तोते बोलीमा भने, ‘गुन्डा अंकल, अटोलिउँ (फोटो लिऊँ)’ मेरो लामो दाह्री र कपाल देखेर उनीहरूले त्यसरी बोलाएका रहेछन्। मैले खुसी हुँदै आफ्नै मोबाइलबाट उनीहरूसँग सेल्फी खिचेँ। फोटो खिचेपछि तीमध्ये एउटाले भन्यो, ‘यो फोटो मेरो मामुकोमा पठाइदिनु है !’ त्यो दृश्य देखेर हाम्रो टोलीमा रहनुभएका रविन सुनुवार सरले ठट्टा गर्दै भन्नुभयो, ‘केटाकेटी पनि के भएका हुन्, यस्ता जोगीसँग सेल्फी खिच्छन् !’ उहाँको भनाइ स्वाभाविक नै थियो, किनभने मेरो लामो कपाल र दाह्री देखेर सामान्यतः गाउँघरका साना नानीहरू डराउँथे। तर, यस घटनाले एउटा रोचक यथार्थ उजागर गर्याे– हिजो लामो दाह्री–कपाल पालेका मानिस देख्दा डरले भाग्ने केटाकेटीहरू आज उल्टै नजिकिएर रमाइलो मान्दै झुम्मिन्छन्। यो निश्चय पनि सञ्चार र प्रविधिको पहुँचले समाज तथा नयाँ पुस्ताको मनोविज्ञानमा ल्याएको परिवर्तन थियो।

त्यसपछि आज यहीँ बस्ने कि पत्ताले पुग्ने ? भन्ने सल्लाह भयो। उत्साहले हामीलाई निरन्तर अघि बढ्न प्रेरित गरिरहेको हुँदा अगाडि बढ्दा नै भोलिको यात्रा सहज हुने ठानेर त्यहाँबाट अघि बढ्यौँ। उकालो चढ्दै गर्दा हुस्सुले पूरै सडक ढाकेको थियो। मोटरबाइकको बत्तीले समेत बाटो पहिल्याउन निक्कै मुस्किल परिरहेको थियो। यात्रामा रहेका ६ वटै मोटरबाइकलाई सँगसँगै अघि बढाउँदै हामी तोड्के बजार पुग्यौँ। त्यहाँ वास खोज्दा हाम्रो टोलीलाई पुग्ने ठाउँ भेटिएन। हुस्सुले कपडा पूरै भिजेको अवस्थामा अन्ततः धाप पुगेर एउटा होटेलमा बसियो। लेकाली चिसो ठाउँ भए पनि आगो ताप्न पाउँदा थकित शरीरले ठुलो राहत महसुस गर्याे। आगो वरिपरि बसेर हामी यात्राका अनुभवहरू बाँड्न थाल्यौँ। बाहिर सिरेटो चलिरहेको थियो। तर, आगोको न्यानोपन र साथीहरूको आत्मीयताले त्यो चिसोलाई केहीबेरमै भुलिदियो। यात्रामा यस्ता सामान्य क्षणहरू नै पछि गएर अमिट स्मृति बन्दा रहेछन्।

null

दोस्रो दिन : ढापदेखि पिके बेसक्याम्पसम्म
बिहान उठेर हामी झाप्रेतर्फ लाग्यौँ। त्यहाँको होटेलमा स्थानीय परिकार पाइँदो रहेछ; तातो चियासँगै मकै र भटमास खाएपछि यात्राको थकान मेटियो। तर, झाप्रेदेखि बुलबुले हुँदै लुबुचेतर्फ अघि बढ्दै जाँदा यात्राको स्वरूपले हामीलाई अर्कै ढंगले झकझक्यायो। आधुनिक विकासका नाममा जथाभावी खनिएका डोजरे सडकहरूले पुराना र परम्परागत पदमार्गहरूलाई कताकता मेट्दै लगेका रहेछन्। यसले गर्दा पुरानो गोरेटो पहिल्याउन र पदयात्राको वास्तविक आनन्द लिन निकै कठिन भयो। जथाभावी खनिएका माटोका नांगा भिर र पहाडहरू देख्दा मनमा एउटा गम्भीर प्रश्न उब्जियो– के हामी साँच्चै दिगो विकासको बाटोमा छौँ, वा विकासका नाममा आफ्नै प्रकृति, संस्कृति र पर्यावरणलाई विनाशतर्फ धकेल्दै छौँ ? विकास अपरिहार्य छ। तर, प्रकृतिलाई क्षतविक्षत बनाएर गरिने यस्ता कामले हाम्रो भविष्यलाई कता पुर्याउलान् ? यसबारे गम्भीर विमर्श गर्दै हामी अगाडि बढ्यौँ।

बुलबुले क्षेत्र पार गर्दै जाँदा प्रकृतिको सौन्दर्यले फेरि मन लोभ्यायो। जंगलमा गुराँस र चिमालका रूखहरू देखिन थाले। कतै घना जंगल, कतै खुला घाँसेमैदान, कतै उकालो डाँडा त कतै क्षितिजसम्म फैलिएको हिमाली भू–दृश्य। उचाइ बढ्दै जाँदा हावाको चिसोपन त बढेकै थियो। तर, त्यो चिसोमा पनि एउटा अनौठो स्फूर्ति र ताजगी थियो। हामी लुबुचे पुगेपछि मोटरबाइकको यात्रा त्यहीँ टुंगियो। बाइकहरू सुरक्षित रूपमा पार्क गरेर आवश्यक सामान मिलायौँ र पैदल यात्राको तयारी गर्यौँ। अब गाडीको बाटो सकिएको थियो। यात्रा आफ्नै खुट्टाको बलमा पूरा गर्नुपर्ने थियो। लाम्जुराबाट पिके बेसक्याम्पतर्फको पदयात्रा सुरु गर्दा हामी सबैमा नयाँ ऊर्जा सञ्चार भयो।

करिब चार घण्टाको पैदल यात्रामा प्रकृतिले हरेक मोडमा नयाँ रूप देखाइरह्यो। बाटोमा चौँरीका बथानहरू चरिरहेका थिए। कतै खुला डाँडाबाट टाढासम्म फैलिएको पहाडी दृश्य देखिन्थ्यो भने कतै जंगलको शान्त वातावरणले स्वागत गर्थ्याे। साथीहरूबिच हाँसो, ठट्टा र गफगाफ चलिरह्यो। बाटोमा गीत सुन्दै र स्थानीय आराखाको चुस्की लिँदै हिँड्दा थकानभन्दा रमाइलोको मात्रा बढी थियो। उचाइ बढेसँगै हिँडाइ क्रमशः कठिन हुँदै गयो। हिँडाइ केही गाह्रौ बन्दै गयो, पाइलाहरू सुस्त भए। तर, गन्तव्य नजिकिँदै गरेको आभासले फेरि हौसला थपिरह्यो। अन्ततः हामी समुद्री सतहबाट करिब ३,६५० मिटरको उचाइमा रहेको पिके बेसक्याम्प पुग्यौँ। त्यहाँ पुग्दा वरिपरिको वातावरण नै भिन्न महसुस हुन्थ्यो। हावा चिसो थियो, आकाश नजिकै भएको भान हुन्थ्यो र चारैतिर पहाडहरू मौन उभिएका थिए।

राति आगो ताप्दै तोङ्बाको स्वाद लियौँ, जोक्पेको सुकुटी खायौँ र दिनभरिका अनुभवहरू साटासाट गर्याैँ। कोही बाटोका रोचक घटना सुनाउँदै थिए भने कोही भोलिपल्ट बिहानै शिखर पुग्ने योजना बनाउँदै थिए। बाहिर हिमाली रातको चिसो बढ्दै थियो, तर हाम्रो समूहभित्र भने उत्साहको तापक्रम उत्तिकै उच्च थियो।

तेस्रो दिन : पिकेपिकको आरोहण र हिउँको संसार
बिहान करिब ४ बजे हामी पिकेपिकको शिखरतर्फ लाग्यौँ। बिहानैदेखि मौसम प्रतिकूल थियो; बाक्लो बादल मडारिइरहेको थियो र पानी परिरहेको थियो। केहीबेर मौसम सुध्रिएला कि भनेर पर्खियौँ, तर कुनै लक्षण देखिएन। अन्ततः मौसम जस्तोसुकै भए पनि अगाडि बढ्ने निधो गर्याैँ। उचाइ बढ्दै जाँदा वर्षा हिउँमा परिणत हुन थाल्यो। हेर्दाहेर्दै वरिपरिको भूगोल सेतो च्यादरले बेरिएझैँ देखियो। बाटो हिउँले ढाकिँदै गयो, रुखका हाँगाहरूमा हिउँ थुप्रियो र सिरेटोले अनुहारमा हिर्काउन थाल्यो। हिउँ परेको दृश्य देखेपछि शरीरको थकान क्षणभरमै हरायो। हामीमध्ये कतिपयका लागि यति नजिकबाट हिमपातको प्रत्यक्ष अनुभव गर्ने यो पहिलो अवसर थियो। हिउँका सेता कणहरू शरीरमा बर्सिँदा हामी झन् उत्साहित भएर पाइला चाल्न थाल्यौँ। बाटोमा मौसम खराब भएको भन्दै केही यात्रुहरू फर्कँदै थिए। तर, हाम्रो टोली भने पिकेको चुचुरो नटेकी फर्कने मनस्थितिमा थिएन।

करिब ४५ मिनेटको निरन्तर उकालोपछि अन्ततः हामी शिखरमा पुग्यौँ। यद्यपि, केही साथीहरू आइपुग्न बाँकी नै थियो। हामी त्यहाँ रहेका अन्य आन्तरिक तथा बाह्य पर्यटकहरूसँग दृश्य नियाल्दै, एक–अर्कालाई आफूले चिनेका भूगोल र डाँडाहरू देखाउन थाल्यौँ। त्यस दिन पिकमा हामीबाहेक दसजनाजति विदेशी पर्यटक र उनीहरूका नेपाली गाइडहरू मात्र थिए। ती गाइडहरूसँग कुरा गर्दा मौसम बिग्रिएका कारण आज पर्यटकहरूको उपस्थिति निकै कम भएको थाहा भयो।

यत्तिकैमा बाँकी साथीहरू पनि शिखरमा आइपुगे। त्यो क्षण शब्दमा वर्णन गर्नै नसकिने खालको थियो। यात्राको थकान, चिसो र उकालोका सबै कष्ट एकैछिनमा विलीन भए। हामी हिउँमा लडीबुडी गर्यौँ, तस्बिर खिच्यौँ, गीत गायौँ र हिउँको डल्ला हानाहान गरेर खेल्यौँ। कसैले हिउँ हातमा लिएर अनुहारमा दले, कसैले साथीहरूमाथि हिउँ छ्यापे। त्यो क्षणमा हामी सबै फेरि बाल्यकालमै फर्किएजस्ता भयौँ। अग्लो हिमाली चुचुरो, चारैतिर फैलिएको सेतो हिउँ र बिचमा हाम्रो टोलीको उन्मुक्त हाँसो– त्यो दृश्य आज पनि आँखामा झल्झली नाचिरहन्छ।

हाम्रो ठुलो धोको थियो– मौसम खुलोस् र वरिपरिका हिमशृंखलाहरूको मनोरम दृश्य आँखाभरि साँचूँ। त्यसैले करिब एक घण्टासम्म कुहिरो फाट्ला कि भन्ने आशामा हामी त्यहीँ पर्खिरह्यौँ। तर, मौसम खुल्ने कुनै संकेत देखिएन। बाक्लो कुहिरोले चारैतिर छेकिरह्यो। हिमालका लामो लर्कन स्पष्ट हेर्न नपाए पनि त्यसले हाम्रो खुसीलाई भने घटाउन सकेन। प्रकृतिले आफूलाई बादलुको घुम्टोबाट पूर्ण रूपमा नउघारे पनि उसले दिने सानो स्पर्श नै जीवनभरका लागि पर्याप्त हुँदो रहेछ।

null

यात्राभरि मैले केवल हाइनेक र ट्र्याकमाथि भेडाको ऊनले बुनेको एउटा बाक्लो लुकुनी मात्र लगाएको थिएँ। बाटोमा साथीहरूले ‘कठ्याङ्ग्रिँदो चिसो भयो’ भन्दा म आफ्नै सुरमा ठट्टा गर्दै भन्थेँ, ‘धत्, यत्तिको पनि चिसो हुन्छ र !’ तर, पिकेपिकको चुचुरोमा निरन्तर एक घण्टा हिउँ र सिरेटोमा बस्दा भने मेरो त्यो फुइँ बिस्तारै गल्न थाल्यो। चुचुरोको चिसो हाडभित्रै पस्यो; खुट्टा पूरै सुन्निए, अनुहार पनि चिसोले कटकटिएर डल्लो पर्याे। चिसोले शरीर धान्नै नसक्ने भएपछि म साथीहरूसँग बिदा मागेर अरूभन्दा अलि चाँडै बेसक्याम्पतर्फ ओर्लिएँ। बाटोभरि साथीहरूमाझ चिसोलाई सामान्य भन्दै ठुला गफ हाँकिएको थियो। त्यसैले ‘मलाई चिसोले गाह्रो भयो’ भनेर वास्तविकता बताउन मलाई निकै असहज भयो। यो भोगाइले मलाई एउटा गतिलो पाठ सिकायो। ‘उच्च हिमाली भेगको यात्रामा निस्कँदा उचाइ र मौसमलाई थेग्न सक्ने उपयुक्त कपडा, जुत्ता र आवश्यक बन्दोबस्तीका सामग्री अनिवार्य चाहिने रहेछ ! प्रकृतिको कठोरतासँग केवल मनको उत्साहले मात्र जुध्न सकिँदैन। पर्याप्त पूर्वतयारी भएन भने ज्यानै जोखिममा पर्न सक्छ।’

फर्कँदाको यात्रा : टुङ्ना बाजे र यात्राको सन्देश
हामी शिखरबाट बेसक्याम्प झरेपछि ‘टुङ्ना बाजेको होटेल’ पुग्यौँ। ७० वर्ष पार गरिसक्नुभएका होटेल सञ्चालक बाजेले टुङ्ना बजाएर सेलो गाउने भएकाले होटेलको नाम नै ‘टुङ्ना बाजेको होटेल’ राखिएको रहेछ। अघिल्लो साँझ त्यहीँ बसेका हामीलाई उहाँको गीत सुन्ने ठुलो रहर भए पनि उहाँ उपस्थित नभएकाले सम्भव भएन। तर, बिहान बाजेले टुङ्नाको तालमा मौलिक भाका हाल्दै ‘टुङ्नाको धुनमा डाँडापारि जुनमा वनचरी उड्यो वनै छोडेर’, ‘हाम्रो तेन्जिङ नोर्गे चढ्यो हिमाल चुचुरी’लगायतका गीत सुनाउनुभयो। र्याप र पप संगीतको कोलाहलबिच त्यस्तो मौलिक धुन सुन्दा मनै फुरुंग भयो।

पिकेपिकको त्यो यात्रा सम्झँदा अहिले पनि बाटोका हरेक दृश्य स्मृतिमा ताजा भएर आउँछन्। दिक्तेलबजारबाट सुरु भएको यात्रा, पुरानो कच्ची गोरेटो, नुनथला र बिजुले, लामीडाँडाको विमानस्थल, दुधकोशीको किनार, रँभुवाबजार, झोलुंगे पुल, निशङ्खेको उकालो, गोरुमारेका ती नानीहरूको तोते बोली, धापको आगो, झाप्रेको चिया र मकै–भटमास, बुलबुलेको जंगल, गुराँस र चिमालका बोटहरू, लुबुचेबाट सुरु भएको पैदल यात्रा, चौँरीका बथान, पिके बेसक्याम्पको न्यानो आगो, टुङ्ना बाजेको सेलो र अन्ततः शिखरमा परेको हिउँ।

यो यात्रा केवल एउटा भौगोलिक दूरी पार गर्ने सामान्य घुमघाम थिएन। यसले प्रकृतिसँगको हाम्रो साइनोलाई अझ प्रगाढ बनाइदियो। उकालोले शरीरको सामर्थ्य जाँच्यो, चिसोले पूर्वतयारी र सहनशीलताको पाठ सिकायो। हिउँले बालसुलभ खुसी जगाइदियो र यात्राले साथीहरूबिचको सम्बन्धलाई अझ कसिलो बनायो। बाटोमा भेटिएका मानिसहरू, सुनिएका इतिहासका प्रसंगहरू, देखिएका भू–दृश्यहरू र भोगिएका चुनौतीहरू सबै मिलेर यात्रालाई एउटा जीवन्त दस्ताबेजमा रूपान्तरण गरिदिए।

हिमालको काखमा केही समय बिताउँदा जीवनलाई हेर्ने दृष्टिकोण नै बदलिँदो रहेछ। दैनिक जीवनका झमेला, व्यस्तता र तनावबाट केही समय पर पुगेर प्रकृतिको विराट रूपसामु उभिँदा मानिस आफूभित्रै संवाद गर्न थाल्दो रहेछ। अग्ला पहाडका अगाडि आफ्ना सांसारिक समस्याहरू कति साना लाग्दा रहेछन् ! यात्राका कठिन मोडहरू पार गर्दै जाँदा जीवनका अरू चुनौतीहरूसँग जुध्ने आत्मविश्वास पनि स्वतः बढ्दो रहेछ। पिकेपिकको शिखरमा हामीले खोजेजस्तो हिमालको स्पष्ट दर्शन मौसमले दिएन। तर, त्यसको बदलामा प्रकृतिले हिउँको संसारमा एउटा अविस्मरणीय उपहार दियो।

त्यसैले त्यो दिन हामीले एउटा गहिरो सत्य बुझ्यौँ– यात्राको सफलता सधैँ आफूले चाहेको दृश्य देखिनु वा गन्तव्यमा पुग्नुमा मात्र सीमित हुँदैन। बाटोमा बटुलिएका अनुभवहरू, पार गरिएका अप्ठ्याराहरू, सँगै हिँडेका सहयात्रीहरू र स्मृतिमा कोरिएका अनमोल क्षणहरूले नै यात्रालाई सार्थक बनाउँछन्। उच्च लेकाली तथा हिमाली भेगको यात्राबाट हामीले प्राकृतिक सुन्दरताको दृश्यपान, वनस्पतिहरूको पहिचान, चराचुरुंगी र वन्यजन्तुको आवाजको आनन्द लिनुका साथै लोप हुँदै गएका भेडीगोठ र चौँरीगोठको प्रत्यक्ष अवलोकन गर्याैँ। सँगसँगै त्यहाँका वातावरणीय समस्याहरू पनि हाम्रा आँखामा परे। विकासका नाममा जथाभावी खनिएका डोजरे सडकहरूले ऐतिहासिक पदमार्गहरू मासिँदै गएका छन्। जसका कारण भू–क्षय र पहिरोको जोखिम बढेको छ भने तल्लो तटीय क्षेत्रमा वातावरणीय विपत्ति निम्तिन थालेका छन्। अबका दिनमा ती क्षेत्रहरूमा पदयात्राका लागि पर्यावरणमैत्री पूर्वाधार (संरक्षित पदमार्ग) निर्माण गर्न अपरिहार्य देखिन्छ। यस्ता संवेदनशील पर्यटकीय गन्तव्यहरूमा जथाभावी सडक खन्ने होडबाजी रोक्नु नै बुद्धिमानी हुनेछ। पिकेपिकको यात्राबाट फर्किंदा हामीले महसुस गरेको मुख्य सन्देश यही हो।

अहिले पनि पिकेपिकको नाम लिनासाथ आँखाअगाडि हिउँले ढाकिएको त्यो सेतो बाटो नाच्न थाल्छ। कानमा साथीहरूको उन्मुक्त हाँसो गुञ्जिन्छ। शरीरमा चिसो हावाको स्पर्श ब्युँझिन्छ र बेसक्याम्पको आगोको न्यानोपनको सम्झना आउँछ। अनि यो मन फेरि त्यही यात्रातर्फ दौडिन खोज्छ। त्यसैले मेरो स्मृतिमा पिकेपिक केवल एउटा हिमाल मात्र होइन; हिउँको काखमा कोरिएको जीवनको एउटा सुन्दर र जीवन्त अध्याय हो– जहाँ गन्तव्यभन्दा यात्रा आफैँ बढी अविस्मरणीय बन्यो।

null

यात्राका सहयात्रीहरू : रविन सुनुवार, ध्रुव श्रेष्ठ, लक्ष्मी खनाल, सुवास राई, शिवराज राई, सुवास खनाल, हेम प्रधान, भीषण खड्का, नारद खनाल, उत्सव सुनुवार र सञ्जित राई।

सुझावित समाचार