प्रायः हामीमध्ये धेरैले रातको समयमा घरवरपरका रुखबाट हुँ...हुँ गरेको आवाज पक्कै सुनेका छाैँ । कतिपय अवस्थामा त अँध्यारोमा दुईवटा चम्किला आँखाले घुरेर आफूलाई नै हेरेकोजस्तो देख्दा झस्किएका पनि छौँ होला। धेरैजसो मानिसहरू यो आवाज सुन्नेबित्तिकै अशुभ भयो, साइत बिग्रियो भन्दै डराउँछन् वा त्यसलाई लखेट्नतिर लाग्छन्। हाम्रो समाजमा एउटा अनौठो विरोधाभास छ। हामी धनकी देवी लक्ष्मीको पूजा गर्छौँ र श्रद्धापूर्वक उनको वाहनको रूपमा यसलाई पुकार्छौँ। तर, विडम्बना ! त्यही चरा जब साक्षात् हाम्रो घरको आँगनमा झुल्किन्छ, तब हामी त्यसलाई डर र अन्धविश्वासको भुमरीमा पारिदिन्छौँ। तर, के हामीले कहिल्यै सोचेका छौँ, रातभरि नसुती हाम्रो घर खेतबारीको आसपासमा बस्ने त्यो चरा वास्तवमा के हो र यसले के गरिरहेको छ ? हामीले लाटो ठानेर बेवास्ता गरेको लाटोकोसेरो अर्थात उल्लु प्रकृतिको सबैभन्दा चलाख र उपयोगी जीव हो।
लाटोकोसेरो प्रायः बिहान तथा रातको समयमा सक्रिय हुने र सिकार गर्ने मांसाहारी चरा हो। मुसा, सर्प, भ्यागुता, चमेरा, किरा इत्यादि यिनीहरूको मुख्य आहार हुन्। तुलनात्मक रूपमा यिनीहरू रातको समयमा भन्दा दिनमा कम आँखा देख्ने गर्दछन्। यिनीहरूको तौल ३.१ देखि ४.५ किलोग्रामसम्म हुने गर्छ। यिनीहरूले रुखको टोड, जमिन तथा पहरामा फुल पार्ने र कोरल्ने गर्दछन्। अन्तराष्ट्रिय पक्षी संरक्षण संघका अनुसार विश्वभर २५४ प्रजातिका लाटोकोसेराहरू पाइन्छन्। हालसम्मको अध्ययनअनुसार नेपालमा २३ प्रजातिका लाटोकोसेरा पाइन्छन्। त्यसमा पनि आठ प्रजातिहरू नेपालमा दुर्लभ अवस्थामा रहेका छन्।
तपाईं, हामीले गाउँघरमा यो त कस्तो उल्लु रहेछ भत्रे गरेको त सुनेकै छौँ होला। तैपनि लाटोकोसेरोसम्बन्धी विभिन्न ठाउँअनुसार फरक–फरक किसिमका बुझाइ छन्। नेपाललगायत एसियाली मुलुकहरूमा काम नलाग्ने, अल्छी मानिसलाई उल्लू भन्ने गरे पनि युरोपेली मुलुकहरूमा भने बुद्धिमानी मानिससँग लाटोकोसेरोको तुलना गरिन्छ। लाटोकोसेरो समूहलाई अंग्रेजीमा ‘पार्लियामेन्ट’ अर्थात् संसद् भनिन्छ। यिनीहरू आफ्नो टाउकोलाई २७० डिग्रीसम्म घुमाउन सक्छन्। यिनीहरूको आँखाको देख्ने र कानको सुन्ने क्षमता अत्यन्तै राम्रो हुने, शरीर हलुका तथा नरम भुवाहरूले ढाकेको हुनाले उडिरहेको समयमा आवाज आउँदैन, त्यसैले यिनीहरूलाई मौन सिकारी पनि भन्ने गरिन्छ।
कुनै पनि ठाउँमा लाटोकोसेरोको उपस्थिति हुनु त्यस ठाउँको वातावरणीय स्वास्थ्यको सूचक मानिन्छ। एउटा लाटोकोसेरोको परिवारले फुल पारेर बच्चा उडाउने वेलासम्म करिब तीन हजारवटासम्म मुसा खाने गर्दछन्। जसले गर्दा एकातिर मुसाको संख्या नियन्त्रण गर्छ भने अर्कोतिर किसानले विषादी खरिद गर्ने खर्चमा कटौती गर्न मद्दत गर्दछ। त्यसैले लाटोकोसेरोलाई किसानको साथी भत्रे गरिन्छ। साथै लाटोकोसेरोको सक्रियता अर्थात् बिहान र साँझ उपस्थितिको आधारमा पुर्खाहरूले समयबारे अनुमान गर्ने गरेकोसमेत पाइन्छ।
हिन्दु धर्मशास्त्रमा यसलाई लक्ष्मीको वाहन मान्ने गरिन्छ। तर, आजभोलि यी चराहरू पहिलेजस्तो खासै देखिँदैनन् किन होला ? हामीले विभित्र वन्यजन्तुहरूको आखेटोपहार चोरी सिकार र अवैध व्यापार भएका घटनाहरू प्रत्यक्ष वा अप्रत्यक्ष रूपमा विभित्र सञ्चारमाध्यमहरूमा देख्ने सुत्रे त गरेकै छौँ। मुख्यतया औषधि, तान्त्रिक विद्या र सजावटको नाममा मानिसहरूले लाटोकोसेरोको व्यापार गर्ने गरिरहेका छन्। नेपालमा वार्षिक एक हजारदेखि दुई हजारवटासम्म लाटोकोसेरोको सिकार हुने गरेको पाइन्छ। नेपालमा अवैध व्यापार र अन्धविश्वासका कारण ठुला खालका लाटोकोसेराहरू हुचिल, हप्सिलो, महाकौशिक, भासालुक, उलुक र कालपेचक लोप हुने अवस्थामा छन्। साथै वन–जंगलको फँडानी, खण्डीकरण, डडेलो, बुढा रुखहरूको कटानी, सहरीकरण, वासस्थान विनाश, आहारको कमी, कृषिमा प्रयोग हुने रासायनिक मल तथा विषादीको बढ्दो प्रयोग र जलवायु परिवर्तनका कारण लाटोकोसेराहरू थप संकटमा परेका छन्।
नेपालमा वार्षिक आउने पर्यटकमध्ये आठ प्रतिशत चराहरूको अवलोकन गर्न आउने गरेको तथ्यांक छ। जसले चराहरूको संरक्षण गर्नु कति महत्त्वपूर्ण छ भत्रे कुरालाई थप पुष्टि गर्छ। लाटोकोसेरो संरक्षणका लागि सरकारी र गैरसरकारि स्तरबाट विभित्र प्रयासहरू नभएका होइनन्। तर, सरकारको चासो भने यस क्षेत्रमा कम देखिन्छ। सरकारले दशवर्षे लाटोकोसेरो संरक्षण कार्ययोजना तयार गरे पनि प्रभावकारी कार्यान्वयन हुन सकेको छैन। बर्सेनि आयोजना हुने लाटोकोसेरो तथा हुचिल उत्सवले केही हदसम्म जनचेतना फैलाउन भूमिका खेलेका छन्। राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण ऐन, २०२९ ले यसको सिकार र व्यापार गर्ने कार्यलाई कडाइका साथ प्रतिबन्ध गरेको छ।
लाटोकोसेरो कुनै डरलाग्दो र अशुभ चरा होइन, यो प्रकृतिले हामीलाई दिएको निःशुल्क उपहार हो भनेर आममानिसलाई बुझाउन जरुरी छ। यसको मूल्य हामीले अझैसम्म सही तरिकाले बुझ्न सकेका छैनौँ। हामीले ‘लाटो’ उपनाम दिएर यसको क्षमतामाथि उपहास त गर्याैँ, तर वास्तवमा यसले हाम्रो पारिस्थितिक प्रणालीलाई सन्तुलनमा राख्न अद्वितीय भूमिका खेलिरहेको छ। अन्धविश्वास र गलत बुझाई तथा कृषिमा विषदीको प्रयोगजस्ता कारणले लोप हुँदै गइरहेका लाटोकोसेरोको संरक्षणमा स्थानीय समुदाय, स्थानीय सरकार, सरकार तथा गैरसरकारी संघसंस्थासहित सम्पूर्ण सरोकारवाला निकायहरू एकजुट हुन आवश्यक छ। लाटोकोसेरो संरक्षणमा हातेमालो गरौँ।
लेखक वन विज्ञान अध्ययन संस्थान, पोखरा क्याम्पसमा अध्ययनरत छात्रा हुन्।