वीरकाे बेहाल : अस्तव्यस्त व्यवस्थापन, बिरामी सधैँ मारमा

सोमबार, १३ साउन, २०८२
डिजिटल संस्करण

हिजो राति एक्कासि एकजना गाउँले दाइको फोन आयो। ११ बजेतिर आएको उक्त फोन उठाएँ। ‘भाइ आमालाई असाध्यै गाह्रो भएर वीरमा ल्याएको बेड नै पाएन।’ दाइको कुरा सुनेपछि ‘एकैछिन, म सोध्छु है’ भन्दै फोन राखेँ।

त्यसपछि आफूले चिनेका वीरका डाक्टरलाई फोन गरेँ। उठेन । फेरि अर्का डाक्टरलाई फोन थिचेँ। उनको फोन उठ्यो। उनले इमर्जेन्सीमा बेड छैन, एउटै बेडमा दुईजना बस्ने भए मिलाउँछु भने। रातको वेला। जसोतसो इमर्जेन्सीमा भर्ना गरेर उपचार सुरु गर्नु ठिकै होला भन्ने लागेर हुन्छ भन्दै फोन राखेँ। डाक्टरसँगको कुराकानीपछि ती दाइलाई फोन गरेँ, डाक्टरको नम्बर दिएँ। अनि उनले आमालाई अर्को बिरामी भएको बेडमै भर्ना गरे।

वीरको इमर्जेन्सी सेवा कस्तो छ भन्ने यो एउटा ताजा घटना हो। वीरमा उपचारका लागि आएका भुइँमान्छेले कुन तहसम्मको दुःख पाउँछन् र दुःख दिइन्छ भन्ने यहाँ बिरामी बनेर विनाभनसुन आएका भुक्तभोगीलाई थाहा होला। म आफैँँ पनि स्वास्थ्य बिटमा रिपोर्टिङ गर्ने भएकाले रिपोर्टिङका दौरान यहाँको सेवा कुन हदसम्मको छ भन्ने केही जान्ने मौका पाएको छु।

वर्षमा हजारौँ बिरामीलाई उपचार सेवा दिने वीर आफैँमा गौरवशाली इतिहास बोकेको सरकारी अस्पताल हो। यसको इतिहास १३६ वर्ष पुरानो भइसक्योे। वीरशमशेरले रैतीले औषधि–उपचारमा दुःख पाएको देखेपछि यो अस्पताल स्थापना गरेका थिए। अहिले पनि सर्वसाधारणको उपचारको भरोसा भनेको वीर नै हो। तर, राणाकालीन इतिहास बोकेको यो अस्पतालभित्रको किचलो र स्वास्थ्य क्षेत्रमा हुने राजनीतिले वेलावेलामा सेवा प्रवाहलाई समेत बिथोलिरहन्छ।

हाल सबै गरी यहाँ झन्डै एक हजार पाँच सयको जनशक्ति छ। त्यसमा पनि आठ सयहाराहारी चिकित्सक छन्। चार सयहाराहारी नर्स। अझ चिकित्सा विज्ञान प्रतिष्ठानमा अध्ययन गरिरहेका विद्यार्थीले अभ्यास गर्ने थलो पनि यही हो। स्वास्थ्य मन्त्रालयको रेकर्डअनुसार वीरमा चाहिनेभन्दा बढी चिकित्सक र कर्मचारी थुप्रिएका छन्। तर, वीरमा दरबन्दी भएका सिनियर डाक्टर यहाँ बस्दैनन्। पहुँचका भरमा उनीहरू स्वास्थ्य मन्त्रालय तथा अन्य स्वास्थ्य संस्थामा हाकिम बन्ने दौडधुपमा छन्। कतिपय चिकित्सक आउँछन्, ‘हाटा’ कस्छन्। कतिपय चिकित्सक दिनहुँ स्वास्थ्य मन्त्रालय र राजनीतिक भेटघाटमा व्यस्त हुन्छन्। तर, बिरामीको उपचारमा खटिने चिकित्सक भने सीमित छन्। सीमित चिकित्सक असीमित बिरामी हुँदा यहाँको सेवा प्रवाह कठिन हुने गरेको छ। एउटा दाँत फुकाल्न गएको बिरामीलाई एक सातापछिको पालो दिइन्छ। शरीरको कुनै ठाउँमा सानो मासु पलाएर गएको बिरामीलाई तीन–चार दिनपछि आउनुस् भनिन्छ।

पित्तथैली र किड्नीमा पत्थरीको उपचारका लागि पुगेका बिरामीलाई त दुई वर्षसम्मै कुराइन्छ। अस्पतालकै डाक्टरले जाँच्ने क्रममा ‘एक सातापछि अप्रेसन गर्नुपर्छ’ भनिए पनि बिरामीले एक वर्षसम्म कुर्नुपर्छ। स्वास्थ्य बिमामा उपचार सेवा कट्टी गर्न खोजेका बिरामीलाई कर्केनजरले हेरिन्छ। बिमा तथा सामाजिक सुरक्षा शाखाका कर्मचारीले आफैँले उपचार गरिदिने जसरी अनेकौँ प्रश्नले घोचेर बिरामीलाई ‘हत्तेरी बिमामा उपचार गर्दिनँ’ भन्ने स्थितिमा पुर्याउँछन्। अस्पतालभित्र फार्मेसी छ, तर औषधि छैन। ९८ प्रकारका औषधिमध्ये ५० प्रकारका औषधिसमेत भेट्न मुस्किल हुन्छ। अझ महँगा औषधि त अस्पतालको फार्मेसीमा पाउने अवस्थै छैन।

वीरमा उपचार गर्न आउने बिरामीलाई अर्को तनाव लामो समयसम्म कुर्नु हो। वीरमा दैनिक बिहान आठ बजेटदेखि नै ओपिडी सेवा सुरु हुन्छ। तर, ओपिडीमा आठ बजे पुग्नुपर्ने चिकित्सक ८ः३० मा पुग्छन्। कतिपय चिकित्सक नाै बजे पुग्छन्। १२ बजे ब्रेक हुन्छ। कतिपय बाठा डाक्टरहरू ११ः३० मै ओपिडीबाट अनेकौँ कारण देखाएर बाहिरिन्छन्। एक घण्टा खाजा खाने समयमा वीरका सबै ओपिडीका ढोका बन्द हुन्छ। पालोमा बसेका बिरामीलाई पालेले बाहिर निकाल्छन्। एक बजे डाक्टर आउनुहुन्छ भन्दै आश्वासन दिन्छन्। तर, डाक्टर कम्तीमा आधा घण्टा ढिलो आउँछन्। कुनैकुनै डाक्टर दुई बजे आउँछन्। बिरामी पालो कुरेको कुर्यै, डाक्टर आउने बाटो हेरेको हेर्यै हुन्छन्। तर, समयभन्दा छिटो निस्किएका र समयमै नपुगेका चिकित्सकलाई पछ्याउने हो भने उनीहरू निजी अस्पताल वा क्लिनिकमा नभेटिएलान् भन्न सकिन्न।

डाक्टर समयमै नपुगेका कारण घण्टाैँसम्म पालो कुरेका बिरामीहरू बिहानैदेखि भिड छिचोल्दै डाक्टरलाई भेट्ने ठाउँमा पुग्न युद्ध जितेझैँ महसुस गर्छन्। अझ वीरमा अस्पतालको कोठा र उपचार कक्षसमेत पत्ता लगाउन नसक्ने दूरदराजबाट आएका बिरामीलाई उपचार कक्ष देखाइदिने सहयोगी छैनन्। भुइँतलामा सोधपुछ कक्ष राखिए पनि टेबल र कुर्ची प्रायः खाली हुन्छ।

अब कुरा गरौँ वीरको अनलाइन सिस्टम र जेनेरेटरको। यहाँ समयसमयमा अनलाइन सिस्टम डाउन हुन्छ। मुसाले तार काटेर जेनेरेटर बिग्रन्छ। बिलिङदेखि टिकट वितरणसम्म ठप्प हुन्छ। केही महिनाअघि वीरमा बिरामी पुर्जासमेत सकिएर उपचार रोकिने अवस्था थियो। एक्स–रे सिट नहुँदा कैयौँ बिरामीको रिपोर्ट रोकिएको थियो।

बिरामीको खाना खोसेको त्यो घटना
वीर अस्पतालमा सुरुवातदेखि नै बिरामीलाई खाना दिने प्रचलन हो। तर, वर्षौँदखि बिरामीलाई दिइँदै आएको खाना कटौती भएको तितो घटना यहाँ प्रस्तुत गरौँ। पुस ०८० मा स्वास्थ्य मन्त्रालयले वीर अस्पतालका बिरामीलाई खाजा र खानाका लागि दिइने बजेट  कटौती गर्याे। तत्कालीन समयमा स्वास्थ्यमन्त्री मोहनबहादुर बस्नेत थिए। स्थापनाकाल (१३३ वर्ष)देखि वीरले बिरामीलाई दिनको चारपटक खाना र खाजा उपलब्ध गराउँदै आएकोमा सरकारले नै खानाको बजेट कटौती गरेको थियो। सो विषयमा नयाँ पत्रिका दैनिकमा समाचार प्रकाशन भएपछि उक्त विषय सर्वोच्च अदालतसम्म पुगेको थियो। अदालतले खानाको बजेट नरोक्न स्वास्थ्य मन्त्रालयको नाममा अन्तरिम आदेशसमेत जारी गरेको थियो। त्यसपछि अर्थ मन्त्रालयले तत्काल बजेट विनियोजन गर्याे। वीरमा बिरामीको खाजा–खानाका लागि वार्षिक एक करोड ६८ लाख बजेट खर्च हुने गरेको छ। 

वीरभित्रको नदेखिँदो राजनीति
वीर मुख्यतः सर्वसाधारणको उपचार गर्ने थलो हो। यसले लाखौँको ज्यान बचाएको छ। कहिलेकाहीँ ‘स्वदेशमै उपचार गर्ने’ लोकरिझ्याइँका लागि नेताहरू पनि भिभिआइपी कक्षमा उपचारका लागि पुग्छन्। तर, बिरामीलाई उपचार गर्ने बेड नपुग्ने अस्पतालमा भिभिआइपीलाई बेड छुट्याएर उक्त बेड खाली भइरहेको अवस्था पनि छ।

वीर अस्पताल कतिपयका लागि राजनीति गर्ने थलो पनि भएको छ। कहिलेकाहीँ त माथिल्लो तहसम्मको राजनीति वीरमा छचल्किन्छ। नेपाल चिकित्सक संघ (एनएमए)ले राजनीति गर्नुपर्याे– वीरको सेवा ठप्प पार्छ। कोही डाक्टर कुटियो भने पनि सेवा रोकिने वीरमै हो। वीरको कर्मचारी र डाक्टरबिच विवादले पनि वीरको उपचार सेवा रोकिन्छ। अझ निजी मेडिकल कलेजका मालिकले चिकित्सकलाई तलब दिएनन् भने पनि वीरमै सेवा रोकिन्छ। कर्मचारी ट्रेड युनियनको स्वार्थ पूर्तिका लागि वीरलाई नै बलि बनाइन्छ। उपभोक्ता अदालतको आदेशको प्रतिशाेधमा रोकिने पनि वीरकै सेवा हो। त्यति मात्रै होइन, सिंहदरबारधरीले समेत अन्य प्रतिशोधको बदला वीरसँग लिन खोज्छ।

०००
वीर भनेकै यहाँका भगवानरूपी चिकित्सक तथा स्वास्थ्यकर्मी हुन्। तर, उनीहरूलाई समेत यहाँ उत्प्रेरणा छैन। कतिपय अस्पतालका चिकित्सक वर्षमा दसाैँपटक विदेश सयर गर्छन्। कतिपयले ‘विदेश’ सुन्नसमेत पाउँदैनन्। अझ स्वास्थ्य मन्त्रालयले प्रदान गर्ने विभिन्न पुरस्कार र सम्मानमा समेत राजनीतिक भागबन्डा हुँदा वीरमा सच्चा र इमानदार भएर काम गरेका कतिपय कर्मचारी अन्यायमा पर्ने गरेको कतिपय बताउने गर्छन्।

यो अस्पतालको वार्षिकोत्सवमा हरेक वर्ष प्रधानमन्त्री, स्वास्थ्यमन्त्रीसहितका व्यक्ति पुग्छन्। तर, वीरको भुइँतहको समस्या देख्दैनन्। वीर अस्पतालमा दूरदराजबाट आएका मानिसले उपचार पाउन नसकेको, बेड नपाएको, पालो नपाएको, चिकित्सकले अनावश्यक हैरानी दिएकोलगायत अनकौँ गुनासा आउँछन्। कहिले चिनेका र कहिले नचिनेका ती बिरामी र आफन्तलाई कतिपटक भनसुन गरिदिन भनेका छन्। तर, के वीरमा भनसुन गरेर उपचार लिनुपर्ने हो ? के चिनजान वा भनसुन गर्न नसक्ने मानिसले उपचार लिन नसक्ने हो ? यसबारेमा वीर अस्पताल प्रशासनले पक्कै ध्यान दिनुपर्ला। आज वीर अस्पतालको १३६औं वार्षिकोत्सव। शुभकामना वीर अस्पताल।

सुझावित समाचार