हामो आदर्श, हाम्रो धरोहर

आइतबार, २९ भदौ, २०८२
डिजिटल संस्करण

राजनीतिज्ञहरुको जीवन कुनै रहस्य नभई खुला किताब जस्तै पारदर्शी हुनुभर्छ भन्ने मान्यता उहाँ (पोष्टबहादुर बोगटी) को थियो र आफ्नो राजनीतिक जीवनमा उहाँले यसलाई लागू गर्ने कोशिष गर्नुभयो । 

प्रभा बोगटी 

देश आज असाधारण राजनीतिक मोडमा उभिएको छ । जेनजी आन्दोलनपश्चात् संसद् विघटन भएको छ, अन्तरिम सरकार गठन भएको छ र फागुन २१ गते प्रतिनिधिसभा निर्वाचनको मिति तय गरिएको छ । यिनै घटनाक्रमसँगै दल र नेतृत्वको कार्यशैली, पारदर्शिता, नैतिकता, इमानदारिता र आदर्शबारे प्रश्न र विमर्श तीव्र बनेका छन् ।

भदौ ३०, मेरो पिता पोष्टबहादुर बोगटीको ११औं स्मृति दिवस । यस विशेष दिनमा उहाँले देखाएको संघर्षको यात्रा, जनयुद्धका कठोर पाटा र शान्ति प्रक्रियापछि पनि राजनीतिलाई नैतिकता, इमानदारिता र आदर्शमा अड्याएर अघि बढाउने उहाँको अडान स्मरण गर्न मन लाग्यो । 

बुवा सधैँ भन्नुहुन्थ्यो– राजनीतिज्ञहरुको जीवन कुनै रहस्य नभई खुला किताब जस्तै पारदर्शी हुनुभर्छ । र, आफ्नो राजनीतिक जीवनमा उहाँले यसलाई लागू गर्ने कोशिष गर्नुभयो । साथै परिवारलाई यही पारदर्शी राजनीतिक विरासत सुम्पेर जानुभयो । मेरो मानसपटलमा बुवाका ती शब्दहरूको कहिल्यै नमेटिने तस्वीर छ । 

आज देशमा असल नेतृत्व र जनउत्तरदायी राजनीतिमा गम्भीर खडेरी परेको छ, त्यही घडी उहाँको त्याग, समर्पण र योगदानलाई जनमानसमा उजागर गर्नु मेरो लागि केवल सम्झना मात्र होइन, जिम्मेवारी र गौरव दुवै हो । किनभने जस्तोसुकै अवस्थामा पनि उहाँले भ्रष्टाचारसँग दुरी बनाएर आफूलाई बचाउनुभयो ।

उहाँको जन्म ३ साउन २०१० मा नुवाकोटको तुच्चेमा भएको हो । उहाँको आमा लेखकुमारी र बुवा भैरवबहादुर बोगटीको हुनुहुन्थ्यो । बुवाको ०५१ र आमाको ०६१ सालमा निधन भयो । उहाँको निधन भएको एघारौं वर्षमा उहाँका छोरी उहाँको एक असल कार्यकर्ता र अनुयायीको हिसाबले केही लेख्ने प्रयास गर्दैछु । 

एउटा महान उद्देश्य र लक्ष्यका साथ उहाँले आफ्नो जीवन नेपालको राजनीतिमा समर्पित गर्नु भयो । उहाँले नयाँ नेपाल र नयाँ संस्कारको निर्माण सहित वर्गविहिन साम्यवादी व्यवस्थाको महान सपना देख्नु भएको थियो । नुवाकोटको ग्रामिण निम्न वर्गीय पारिवारिक धरातलबाट नेपाली राजनीतिमा आमूल परिवर्तन ल्याउन सफल माओवादी आन्दोलनको शीर्ष नेतामा आफूलाई स्थापित गर्नु पक्कै पनि सामान्य विषय होइन । 

युवा अवस्था देखि नै सामाजिक कार्य, शैक्षिक विकास र रुढिवादी संस्कार संस्कृतिलाई समय अनुकुल परिवर्तन गर्नुपर्छ भन्दै राजनीतिको यात्रा तय गर्नु भएका उहाँ आफ्नो जीवनको अन्तिम क्षणसम्म पनि समाज रुपान्तरण र राजनीति परिवर्तनको लागि समर्पित हुनु भएको थियो ।

राजनीति यात्रा तय गर्नु अघि उहाँ स्कूलबाट बञ्चित छोरी बुहारीहरुलाई साक्षर बनाउने अभियानमा लाग्नु भएको थियो ।  प्रौढ शिक्षा कार्यक्रम मार्फत आफ्नो गाउँका निरक्षर छोरी बुहारीहरुलाई अक्षर लेख्न र पढ्न सक्ने बनाउनु भएको थियो । उहाँको आफ्नो परिवारमा वहिनी मैया बोगटी, श्रीमती राममाया बोगटी, भाइबुहारी मैया बोगटी पनि त्यही साक्षरता अभियानबाट अक्षर चिन्न र लेख्न सक्नु भएको हो । 

बोगटीले गाउँमा शैक्षिक क्षेत्रको विकासको लागि चण्डिकाथान मन्दिरको नामबाट चण्डेश्वरी विद्यालयको स्थापना गरी त्यसको विकास र विस्तारको लागि आफ्नो धानखेत स्कूलको भौतिक पूर्वाधार विकासको लागि हस्तान्तरण गर्नु भएको थियो । उहाँले ग्रामीण स्तरमा शैक्षिक अध्ययनका लागि धेरै नै महत्वपूर्ण भूमिका निर्वाह गर्नु भएको थियो । यसबाट पनि उहाँ समाजको निम्ति सर्वमान्य हुनुहुन्थ्यो भन्ने कुरा पुष्टि हुन्छ । 

सामाजिक परिवर्तनका लागि समय अनुकुल धर्म संस्कृति र संस्कारहरुलाई आत्मसात गर्नु पर्छ भन्ने मान्यता सहित, बाहुनले पनि हलो जोत्न हुने अभियान चलाई खेती किसानीमा सबै समुदायलाई लाग्न प्रेरित गर्नुभयो । जाडरक्सी जुवातास जस्ता कुलतबाट समाजलाई बचाउदै सभ्य समाज निर्माणमा योगदानलाई आजपनि गाउ“घरमा स्मरण गरिने गरिन्छ । 

उहाँले खेतीकिसानीलाई आधुनिकीकरण गर्न परम्परागत शैलीका साथै आधुनिक मल विऊको जोहो गर्न किसानलाई प्रेरित गर्नु भएको थियो । उहाँले आफ्नो राजनीतिको सुभारम्भ पनि किसान संगठनबाट नै गर्नु भएको थियो ।  

२०४४ सालतिर अखिल नेपाल किसान संघको अध्यक्ष हुनुहुन्थ्यो र किसान आन्दोलनको नेतृत्व गर्नुहुन्थ्यो । त्यतिबेला उहाँकै निर्देशनमा बारा, पर्सा, रौतहटलगायत तराईका जिल्ला र पहाडमा समेत किसानहरुको आन्दोलन अघि बढेको थियो । 

सबैका प्रिय उहाँले नेपालको कम्युनिष्ट आन्दोलनमा निरन्तर लामो समय देखि क्रियाशिल र सक्रिय हुनु भएको थियो । जनयुद्धको तयारी, जनयुद्धको थालनी र त्यसको विस्तार र विकासमा उहाँको महत्वपूर्ण योगदान छ । फौजी कमाण्ड, राजनीतिक नेताहरुको देशव्यापी रुपमा विस्तारका साथै अन्य क्षेत्रको विकासमा पनि पश्चिमले महत्वपूर्ण भूमिका खेलेको थियो । सोहि पश्चिम कमाण्डको नेत्तृत्व उहाँले गर्नु भएको थियो । 

स्वयम्मा एउटा प्राज्ञिक वा एकेकडेमिक पृष्ठभूमिबाट आएको नभएता पनि उहा“ राम्रो चिन्तकको रुपमा चिनिनु हुन्थ्यो । उहा राम्रो बुद्धिजीवी र बौद्धिक व्यक्तित्वको रुपमा परिचित हुनुहुन्थ्यो । पार्टीको नीति निर्माण, पार्टीको विचार निर्माणमा उहाँको महत्वपूर्ण भूमिका थियो । उहाँका नयाँ–नयाँ विचारहरु पार्टीको नीति निर्माण र विचार निर्माणमा निकै अर्थ राख्दथे। 

पार्टीका जति पनि दस्तावेजहरु निर्माण भए चाहे ती महाधिवेश होस वा राष्ट्रिय सम्मेलनहरु, त्यसमा उहाँको महत्वपूर्ण छाप पाइन्छ । जनयुद्ध देखि शान्ति प्रक्रियासम्म आउँदा उहा“ले लामो समय पश्चिम कमाण्डको नेतृत्व गर्नु भयो । पश्चिम नेपाल जनयुद्धको केन्द्र थियो र त्यसको नेतृत्व उहाँले गर्नु भएको थियो । यहिंबाट पनि कम्युनिष्ट आन्दोलन र विशेषतः माओवादी जनयुद्धमामा उहा“को भूमिका, महत्व र योगदान कुन प्रकारको थियो भनि बुझ्न सकिन्छ ।

माओवादी पार्टीभित्रको उहाँ एउटा कुशल संगठक पनि हो । पार्टी भित्रका अन्र्तरविरोधहरुलाई हल गर्ने कुराहरुमा कार्यकर्ताहरुलाई परिचालन गर्ने कुराहरुमा उहाँभित्र विशिष्ट क्षमता थियो । यसैले त माओवादी आन्दोलनमा उहाँ कुशल संगठक र कुशल परिचालकको रुपमा मानिनु हुन्थ्यो । पार्टीभित्र कही कतै अन्तरविरोधहरु भयो भने त्यसको समाधानका लागि उहाँलाई नै पार्टीले मुख्य जिम्मेवारी दिन्थ्यो  । 

पार्टीभित्र संगठनात्मक रुपमा थुपैं समस्याहरु आउथे ।  ती समस्याहरु पश्चिम क्षेत्रको मात्रै नभइ पूर्व, मध्य वा देशैभरि नै त्यसको हल गर्न पार्टीले पोष्टबहादुर बोगटीलाई नै खटाउने गर्दथ्योे । पार्टीभित्रका संगठनात्मक सम्याहरुको समाधानका लागि उहाँलाई नै खोजिन्थ्यो ।  

कुनै पनि पार्टीले कार्यदिशा, योजना र नीति निर्माण बनाइसकेपछि मुख्य काम संगठनको नै हुन्छ । यदि कसैले ठीक ढंगले संगठन परिचालन गर्न सकेन वा ठीक ढंगले संगठनमा स्प्रिड पैदा गर्न सकेन भने विचार र नीतिहरुलाई योजनाहरुलाई लागु गर्न सक्दैन । 

पार्टीको विचार र नीतिहरुलाई संगठनमा लागु गराउन उहाँले महत्वपूर्ण भूमिका खेल्नु हुन्थ्यो । आज पार्टीभित्र विचार र नीतिहरुलाई संगठनमा कसरी प्रभावकारी ढंगले लागु गराउन सकिन्छ भनेर उहाँको स्मरण हुने गरेको छ ।  
संगठनमा सामूहिक नेतृत्व, सामुहिक प्रयत्न, सामूहिक इच्छाशक्ति, सामूहिक उत्प्रेरणा जगाउन सक्नु उहाँको विशेषता हो। 
उहाँ कुशल संगठक मात्र नभई राम्रो योजनाकार पनि हुनुहुन्थ्यो । माओवादी आन्दोलनको योजना निर्माणमा उहा“को महत्वपूर्ण भूमिका छ । जनयुद्धका दौरान पश्चिममा जुन उपलब्धिहरु हासिल भए ती उपलब्धि प्राप्त गर्नको निमित्त आवश्यक र वस्तुवादी योजना निर्माण गर्नमा उहाँको हात रहेको छ । 

शान्ति प्रक्रियामा आइसकेपछि पनि उहाँलाई सदनको जिम्मा दिइएको थियो । प्रमुख सचेतकको भुमिका भनेको पनि संगठनात्मक भूमिका नै हो । त्यो जिम्मेवारी पनि उहाँले कुशलतापूर्वक निर्वाह गर्नुभयो  । पछि सरकारमा सहभागी भएर पनि उहाँ कुशलता र सफलतापूर्वक भूमिका निर्वाह गर्नु भयो । 
उहाँले जनयुद्ध, शान्ति प्रक्रिया, सदन र सरकार सबै ठा“उमा आफ्नो कुशल योजना र नीति निर्माणले अमिट छाप छोड्न सफल हुनु भयो ।

आज पार्टीभित्र संगठन र संगठनले निर्माण गर्ने योजनामा उहा“को अभाव सामान्यतया सबैले र विशेषगरी नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले महसुस गरिरहेको देख्न सकिन्छ ।  पार्टीभित्रका भिषण अन्र्तसंघर्षहरुमा हेडक्वाटर (मूल नेतृत्व) लाई साथ दिंदै आउनु भयो । उहाँको मान्यता कम्युनिष्ट पार्टीको हेडक्वाटरलाई मजबुत र क्रान्तिको केन्द्रको रुपमा विकार र रक्षा गर्ने कुराले क्रान्तिलाई विजय वा पराजयको भागिदार बनाउछ भन्ने थियो । तर, फरक मत वा विचारहरुप्रति उहाँले कहिलेपनि असहिष्णु व्यवहार राख्नुभएन । त्यसैले उहाँलाई सन्तुलनकारी नेताको रुपमा पनि चिनिन्छ ।  

समस्या समाधानका लागि जति लचकता प्रदर्शन गर्नुहुन्थ्योे त्यति नै राजनैतिक परिवर्तनको मूल्यमान्यताप्रति प्रतिबद्ध हुनुहुन्थ्यो । बोली र व्यवहारबीचको तालमेलप्रति उहाँ सधै सचेत र गम्भीर हुनुहुन्थ्यो । हुन पनि माक्र्सवाद बोलीमा मात्र होइन जीवन व्यवहारमा झल्कनु पर्दछ । कोही व्यक्ति क्रान्तिकारी हो वा होइन भन्ने मापदण्डको एउटा आधार उसले अपनाउने जीवशैली पनि हो । ऊ कसरी सोच्छ र ऊ कसरी बाच्छ भन्ने कुराले नै उसलाई अरु भन्दा पृथक राख्दछ । 

राजनीतिक र मूलत: क्रान्तिकारीहरुको जीवन कुनै रहस्य नभई खुला किताब जस्तै पारदर्शी हुनुभर्छ भन्ने मान्यता उहाँको थियो  । वर्गप्रतिको निष्ठा, त्याग, राजनैतिक नैतिकता र पारदर्शी जविनशैलीले उहाँलाई आर्दश नेता र व्यक्तिको रुपमा स्थापित गरेको छ । यसैले त उहा“लाई माओवादी नेता कार्यकर्ताले मात्र होइन सिंगोे देशले नै सम्मानित नेताको रुपमा लिने गरेको छ । 

उहाँलाई धरातलसँग जोडिएको नेताको रुपमा पनि चिनिन्छ । पार्टीका कुनैपनि कार्यकर्ता आफ्नो व्यक्तिगत वा राजनीतिक जीवनका समस्या या अड्चनहरु उहाँसमक्ष राख्दथे । उहाँ साच्चै कार्यकर्ताहरुको समस्या समाधानमुखी नेता हुनुहुन्थ्यो । कार्यकर्ता र नेतृत्वबीचको पुल हुनुहुन्थ्यो । आज उहाँलाई स्मरण गर्दै माअोवादी पार्टी कार्यकर्ताहरु भन्ने गर्छन नेता र कार्यकर्ताबीचको पुल उहाँको निधनपछि भत्किएको छ ।

पार्टीको कुनै पनि योजना कार्यान्वयनका लागि फिल्डमै गएर त्यसलाई लागु गराउन बोगटी लागि पर्नुहुन्थयो । जनयुद्ध होस् या शान्ति प्रक्रिया, संसद होस् या सरकारमा सहभागि हु“दा उहाँ जनताको माझ कार्यर्ताको माझ नै देखिनु र भेटिनुहुन्थ्यो ।  


समग्रमा माथि उल्लेखित आयामहरुले उहाँको असाधारण व्यक्तित्व र योगदानलाई उजागर गर्छन् । आजको राजनीतिमा इमान्दारिता, निष्ठा र राजनीतिक संस्कार अभावग्रस्त देखिएको युगमा उहाँ त्यस्ता दुर्लभ उदाहरणीय पात्र हुनुहुन्थ्यो, जसले नैतिकता, आचरण र संस्कारमा कहिल्यै विचलन आउन दिनुभएन ।

उहाँ पार्टी, नीति, नेतृत्व, योजना र राजनीतिक दिशाप्रति जीवनभर अडिग रहनुभयो । राजनीति पार्टीका आजका नेता कार्यकर्ताहरुले उहा“का यीनै विशेषताहरु अध्ययन गरी आफ्नो जीवन व्यवहारमा लागु गर्न सक्छन् । 

प्रभा स्वर्गीय पूर्वमन्त्री पोष्टबहादुर बोगटीको छोरी हुन् । हाल उनी विदुर नगरपालिकाको उपमेयर छिन् । 

सुझावित समाचार