इन्द्रजात्रा पर्व प्राचीन वैदिक संस्कृति एउटा अत्यन्तै जीवन्त र प्रामाणिक रूप हो, जसले शास्त्रीय संस्कृत ज्योतिषीय ग्रन्थहरूदेखि लिएर नेपालका समकालीन धार्मिक सांस्कृतिक अनुष्ठानहरूसम्म आफ्नो अविच्छिन्न परम्परा कायम राखेको छ।
नेपाल मण्डल काठमाडौँका ऐतिहासिक, अभिलेखीय र पुरातात्त्विक प्रमाणहरूले देखाउँछन् कि राज्य सञ्चालन, धार्मिक, सांस्कृतिक समन्वय र मूर्तिकलाको क्षेत्रमा इन्द्रको स्वरूप र विकासले गहिरो निरन्तरता कायम राखेको छ।
दक्षिण एसिया वा भारतीय उपमहाद्वीपमा धार्मिक चिन्तनको विकास हुँदै जाँदा, नेपाल मण्डलको सीमित भूगोलभित्र इन्द्रको स्वरूपले एक विशिष्ट चरित्र ग्रहण गर्याे। काठमाडौँ उपत्यकाको कृषि प्रणाली पूर्णतया मनसुनी वर्षामा निर्भर भएकाले, इन्द्रले वर्षाका सर्वोच्च देवताको रूपमा आफ्नो सक्रिय र जीवन्त कार्यात्मक भूमिका जोगाइराखे। हिन्दु धर्मले त इन्द्रको बारम्बार आराधना गरेको पाइन्छ नै ।
बौद्ध धर्मले इन्द्रलाई ‘शक्र’ वा ‘देवानाम इन्द्र’ का रूपमा स्वीकार गर्दै स्वर्गका राजा र बुद्ध धर्मका एक प्रमुख संरक्षक (धर्मपाल) को रूपमा समावेश गर्याे। यो दोहोरो धार्मिक पहिचानले इन्द्रलाई कान्तिपुर, पाटन र भक्तपुरका मन्दिरहरू तथा पाण्डुलिपिका चित्रहरूमा हिन्दु राजकीय विचारधारा र बौद्ध अनुष्ठान परम्परालाई जोड्ने एक सांस्कृतिक पुलको रूपमा स्थापित गर्याे।
मथुरा र सारनाथ शैलीका प्रारम्भिक भारतीय इन्द्रका मूर्तिहरूले मानक मूर्तिकलाका विशेषताहरू स्थापित गरेका थिए ।
करण्ड मुकुटका रूपमा भव्य मुकुट, शान्त अनुहारको अभिव्यक्ति र हातमा वज्र। नेपाल मण्डलका स्थानीय कलाकारहरूले यी नमुनाहरूलाई स्थानीय कालो बसाल्ट ढुंगा र सूक्ष्म बलौटे ढुंगाको प्रयोग गरी, शास्त्रीय अनुपातलाई स्थानीय कलात्मक चेतनासँग मिसाएर एक विशिष्ट नेपाली शास्त्रीय मूर्तिकला परम्पराको सिर्जना गरे।
काठमाडौँको मरु इन्द्र इन्द्रराज द्यः वा इन्द्रद्यःजस्ता क्षेत्रहरूमा पाइने इन्द्रका प्रसिद्ध पत्थरका मूर्तिहरू यसका उदाहरण हुन्। नेपाल मण्डलको लोककथाअनुसार, सुरुमा इन्द्र आफ्नी आमाको पूजाका लागि पारिजातको फूल टिप्न पृथ्वीमा आउँछन् । त्यसै वेला उपत्यकाका बासिन्दाहरूद्वारा उनी समातिन्छन् र कालान्तरमा मानिसहरूद्वारा पूजित पनि हुन्छन्। नेवारी संस्कृतिमा इन्द्रलाई इन्द्रद्यः वा शक्रु भनेर सम्बोधन गरिन्छ, र येँयाः (इन्द्रजात्रा) पुन्हिको समयमा ऐतिहासिक र सांस्कृतिक रूपमा इन्द्रको पूजा गर्ने परम्परा आज पनि पूर्ण रूपमा जीवन्त छ।
वराहमिहिरको बृहतसंहिताको अध्याय ४३ मा इन्द्रध्वजसम्पद् वा इन्द्रको ध्वजाको महिमा ग्रहीय गणना र वनस्पति चयनदेखि लिएर राजकीय अभिषेकसम्मका विषयहरू समेट्दै गहिरो वैज्ञानिक र आध्यात्मिक शुद्धताले परिपूर्ण भएको कुरा वर्णन गरिएको छ। प्राचीन नेपाल मण्डलमा इन्द्रध्वजोत्थान (लिङ्गो गाड्ने) कार्य हिन्दु, बौद्ध र सम्पूर्ण नेपालीहरूबिचको साझा सांस्कृतिक एकताको प्रतीकका रूपमा ठुलो पर्वको महत्त्व बोकेको पर्व मानिएको छ ।
नेपालमा इन्द्रजात्राको संरक्षणले प्राचीन भरतवर्षको व्यावहारिक ज्योतिषीय साहित्य कसरी एक नागरिक–सहरी परम्परामा रूपान्तरित भयो भन्ने दुर्लभ उदाहरण प्रस्तुत गर्दछ। वराहमिहिरको बृहतसंहिताअनुसार, दानवहरूसँगको पराजयबाट दुःखी भएका देवताहरूद्वारा इन्द्रध्वजोत्थानको परम्परा सुरु गरिएको थियो। ब्रह्माण्ड र पृथ्वीमा विजय सुनिश्चित गर्न देवताहरूले विष्णुको शक्तिबाट उत्पन्न एक दिव्य ध्वजा प्राप्त गरेका थिए। त्यही ध्वजा इन्द्रध्वजका रूपमा प्रचलित छ ।
उपमहाद्वीपको भूगोललाई छुट्टै क्षेत्रका रूपमा हेर्नुको सट्टा, वराहमिहिरको ब्रह्माण्डीय संरचनाले यसका विभिन्न क्षेत्रहरूलाई सिधै विशिष्ट ग्रहीय क्षेत्रहरू मण्डलसँग जोडेर हेरेको छ। अर्थात् वराहमिहिरको बृहतसंहिताले विभिन्न देश र क्षेत्रहरूलाई ग्रहहरूको प्रभाव मण्डलअनुसार वर्गीकरण गर्दछ।
बृहतसंहिताले कान्तिपुर काठमाडौँलाई मंगल ग्रह भौमको ऊर्जाद्वारा प्रत्यक्ष रूपमा शासित क्षेत्रको रूपमा निर्दिष्ट गर्दछ, जसले यस प्राचीन राजधानीको महत्त्वलाई ब्रह्माण्डीय दिव्य सञ्जालभित्र भौमरक्षित मण्डलका रूपमा स्थापित गरेको छ ।
बृहतसंहिताको अध्याय १४ कूर्मविभागले भरतवर्षका विभिन्न क्षेत्रहरूलाई दिशा र ग्रहीय प्रभाव क्षेत्रहरूअनुसार कछुवा कूर्मको आकारमा विभाजित गर्दछ। मध्यदेश र यसका वरपरका क्षेत्रहरूको विवरण दिँदा, यस अध्यायले कान्तिपुर काठमाडौँ उपत्यका लाई मंगल भौमको प्रभाव क्षेत्रभित्र राख्छ, जुन एक मान्यता प्राप्त शास्त्रीय ज्योतिषीय सिद्धान्त पनि हो।
नेपाल बृहत्तर ज्योतिषीय भूगोलभित्र पनि समेटिएको छ। उदाहरणका लागि, नेपालका मानिसहरू बुधको क्षेत्र (गंगा, यमुना र सदानीरा वा गण्डकी क्षेत्र)सँग पनि जोडिएका छन्। कान्तिपुरको उल्लेख शुक्रसँग सम्बन्धित सन्दर्भहरूमा पनि गरिएको छ, जहाँ चन्द्र कक्षसँगका आकाशीय संयोजनहरू विशिष्ट प्रतीकात्मक कालक्रमानुसारका चक्रहरूसँग मिल्छन्।
यी चक्रहरू ऋत धर्म वा ब्रह्माण्डीय व्यवस्थालाई कायम राख्न र अग्नि तथा इन्द्रजस्ता प्रकृतिका देवताहरूलाई प्रसन्न तुल्याउन गरिने यज्ञका अनुष्ठानहरूमा केन्द्रित छन्। मगध, गन्धार, कामरूप र कलिङ्गजस्ता ऐतिहासिक क्षेत्रहरूजस्तै नेपाललाई पनि सँगै राखेर बृहतसंहिताले काठमाडौँ उपत्यकालाई वैदिक विश्वको मानचित्रमा स्थापित गरेको छ । भरतवर्षको यो ऐतिहासिक र भौगोलिक निकटताले इन्द्रजात्रालाई कुनै एक समुदायमा मात्र सीमित नराखी सम्पूर्ण राष्ट्रको साझा गौरवका रूपमा उच्च स्थान दिनु सबै नेपालीको कर्तव्य हो भन्ने कुराको पुष्टि गर्दछ।
इन्द्रजात्राको शास्त्रीय आधार राजा उपरिचर वसुको कथासँग जोडिन्छ । राजा उपरिचर जो आकाशमा यात्रा गर्न सक्ने आफ्नो अद्वितीय क्षमताका लागि वैदिक संसारमा प्रसिद्ध थिए। बृहतसंहितामा विस्तृत रूपमा वर्णन गरिएको र महाभारत (आदि पर्व) मा दोहोर्याइएको यस विवरणअनुसार, भगवान् इन्द्रले राजा वसुलाई विष्णुको शक्तिले युक्त एक बाँसको खम्बा (ध्वजा) प्रदान गर्नुभयो र उहाँलाई यसको पूजा गर्ने पहिलो मानव शासकका रूपमा स्थापित गर्नुभयो।
राजा वसुको अनुकरण गर्ने शासकहरू अथाह समृद्धिले पुरस्कृत हुन्थे जसले गर्दा उनीहरूको आदेशको सम्पूर्ण राज्यभर पूर्ण पालना भयो। यस्ता इन्द्रभक्त राजाको राज्यमा प्रजा खुसी, महामारीबाट सुरक्षित, विभिन्न विपतहरूबाट मुक्त र प्रचुर अन्नले भरिपूर्ण भए ।
राजा उपरिचर वसुद्वारा स्थापित यो व्रत (इन्द्रको पूजा) पालन गरेर शासकहरूले शत्रुहरूद्वारा खडा गरिएका कुनै पनि बाधाबाट मुक्ति पाउँछन् मान्यता स्थापित भयो। इन्द्रले घोषणा गर्नुभयो कि यो ध्वजा आफैँले आफ्ना विभिन्न लक्षणहरूमार्फत यस क्षेत्रमा शुभ र अशुभ फलहरूको पूर्वसङ्केत दिने एक जीवन्त प्रतीकका रूपमा काम गर्नेछ।
इन्द्रजात्रा मनाउने क्रममा लिंगाे इन्द्रध्वज निर्माण वा उठाउने सम्बन्धमा वनस्पतिशास्त्र र ज्योतिषशास्त्रका केही कडा अनुष्ठानिक नियमहरू छन्। नेपालमा इन्द्रजात्रा संरक्षणको प्रत्यक्ष प्रमाण भनेको स्थानीय रूपमा लिंगाे भनिने इन्द्रको ध्वजाको मुख्य खम्बाको चयन, कटान र स्थापना हो। बृहतसंहिताको अध्याय ४३ ले ज्योतिष, वनस्पतिशास्त्र र देव प्रसन्नतालाई मिलाएर कडा नियमहरूको व्यवस्था गरेको छ।
ध्वजा उठाउने दिन भाद्र शुक्ल द्वादशी तोकिएको छ, जुन आज पनि काठमाडौँ र भक्तपुरमा कडाइका साथ पालन गरिन्छ। ज्योतिषीले निर्धारण गरेको शुभमुहूर्त र दिनमा ज्योतिषी र सिकर्मी जंगलतर्फ प्रस्थान गर्छन्। ध्वजाका लागि अर्जुन, अजकर्ण, प्रियंक, धव र उदुम्बर जस्ता रुखहरूलाई सबैभन्दा उत्तम मानिन्छ। यसको विपरीत, मनोरञ्जन उद्यान, मन्दिर, श्मशानघाट, धमिरा लागेको वा सडकको किनारमा उम्रेका, साथै स्त्री नाम भएका, काँडा भएका, टुप्पो सुकेका वा लहराले बेरिएका रुखहरूलाई स्पष्ट रूपमा वर्जित गरिएको छ।
लिंगाेको रुख ढाल्ने र वनस्पति आचारसंहितामा विशेष ध्यान दिनुपर्छ। बन्चरो प्रहार गर्नुअघि, ब्राह्मण वा पुजारीले राति चयन गरिएको रुखको पूजा गर्छन्, मन्त्र उच्चारण गर्छन् र भित्र बस्ने देवीदेवताहरूलाई प्रार्थना गर्छन्– यस रुखमा बस्ने सम्पूर्ण प्राणीहरूलाई नमस्कार छ । राजाले तपाईंलाई देवराजको ध्वजाका लागि छनोट गर्नुभएको छ। कृपया यो पूजा स्वीकार गर्नुहोस्। भोलिपल्ट बिहानै, सिकर्मीले पूर्व वा उत्तरतर्फ फर्केर रुख काट्छन्। बन्चरोले हान्दा निस्कने आवाजको प्रकृति नै पहिलो सङ्केत बन्छः जस्तै सफा र पूर्ण आवाजले सफलताको सङ्केत गर्छ भने कर्कश आवाजले दुर्भाग्यको संकेत गर्छ।
कटानीदेखि लिंगाे खस्ने दिशासम्म विभिन्न दिशात्मक शुभ र अशुभ संकेतहरू हुन्छन्। वराहमिहिरको बृहतसंहिताअनुसार, लिंगाे खस्ने दिशाले राज्यको भू–राजनीतिक र वातावरणीय भविष्य निर्धारण गर्दछ। उत्तर, पूर्वोत्तर ईशान र पूर्व दिशालाई शुभ मानिन्छ, जसले विजय र राष्ट्रिय समृद्धिको संकेत गर्छ । जबकि आग्नेय (आगोको खतरा), दक्षिणरदक्षिण पश्चिम रोग र महामारी र उत्तर पश्चिम पशुधनको विनाशलाई अशुभ मानिन्छ।
यस लिंगाेको एक ब्रह्माण्डीय मूर्तिशास्त्र छ। लिंगाेको संरचनात्मक भव्यता यसलाई दिव्य प्रतीक र आभूषणहरूले सजाएपछि मात्र पूर्ण हुन्छ। बृहतसंहिताले सामान्य सजावट र १३ वटा विशिष्ट दिव्य आभूषणहरू पीटिकाहरूको वर्णन गर्दछ, जहाँ प्रत्येक पछिल्लो आभूषणको परिधि अघिल्लोको तुलनामा एक आठौँ भागले सानो हुनुपर्छ।
लिङ्गोलाई छाता, ध्वजा, ऐना, फलफूल, चन्द्रमाका आकृति, रङ्गीचङ्गी माला, केराको बोट, उखु, गवाक्ष ९झ्यालरढोकाका ढाँचा० र नाग, सिंह तथा दिक्पालहरूका कलात्मक आकृतिहरूले सजाइन्छ।
१३ पिटिकाहरू यसप्रकार छन् । विश्वकर्माको आभूषण वर्ग आकारको, रातो अशोकको फूलको रंगको। ब्रह्मा र शिवको पटुका बहुरंगी मेखला इन्द्रको आठगुने आभूषण अष्टकोण र नीलो रातो रंगको। यमको आभूषण ९९ गाढा र चमकिलो टुक्रा वरुणको आभूषण ६ कोण भएको, पानीको तरंग जस्तै सिन्दुरी रंगको। वायुको बाहुभूषण मुजुरको प्वाँखबाट बनेको, बादलजस्तै। सुब्रह्मण्य कार्तिकेयको बाहुभूषण बहुरंगी दिव्य ब्यान्ड।
अग्निको गोलाकार आभूषण आगोको ज्वालाजस्तै इन्द्रको कण्ठहार इन्द्रनीलणि । त्वष्टाको चक्र ९ रथको पाङ्ग्रा आकारको विश्वदेवहरूको ध्वजाको आधार कमलको फूलजस्तै। ऋषिहरूको दीक्षा आभूषण नीलो कमलको रूप भएको वृहस्पति र शुक्रको शिरोभूषण माथि फराकिलो र रातो लाहा रंगको। स्रोतः वराहमिहिर, बृहतसंहिता, अध्याय ४३ इन्द्रजात्राको आध्यात्मिकता हृदयशास्त्रीय मौखिक परम्परामा पनि निर्भर गर्दछ। ध्वजा उठाउने समयमा, पुजारी वा अनुष्ठानकर्ताहरूले ध्वजालाई प्रत्यक्ष रूपमा सम्बोधन गर्दै र यसको अमर प्रकृतिको आह्वान गर्दै मन्त्रहरू उच्चारण गर्छन् ।
‘कृपया प्रसन्न मनले यी शुभ आभूषणहरू स्वीकार गर्नुहोस्। जसरी तपाईंलाई शिव, सूर्य, यम, इन्द्र, चन्द्रमा, कुबेर, अग्निदेव र वरुणले सर्वोच्च उपहारहरूद्वारा सम्मानित गर्नुभएको थियो।’ नेपाल मण्डलमा इन्द्रजात्राको यो अविच्छिन्न निरन्तरताले के प्रमाणित गर्छ भने भरतवर्षका प्राचीन, व्यापक वैज्ञानिक र अनुष्ठानिक ग्रन्थहरू केवल सैद्धान्तिक ग्रन्थ मात्र थिएनन्, यिनीहरू त एउटा सभ्यतामा बाँच्ने जीवनशैलीका व्यावहारिक नीतिहरू थिए।
वराहमिहिरको बृहतसंहितामा वर्णन गरिएका चन्द्रमा चक्रका समयतालिकाहरू, वनस्पतिसम्बन्धी विश्वासहरू, दिशात्मक शकुनहरू र वास्तुकलाका प्रतीकहरूलाई सटिक रूपमा पालन गरेर नेपालले वैदिक विज्ञान र आधुनिक सांस्कृतिक अभिव्यक्तिबिचको पुललाई जीवन्त राखेको छ।
विशेष गरी, इन्द्रजात्रा केवल एक धार्मिक वा क्षेत्रीय पर्व मात्र होइन। यो हिन्दु, बौद्ध र प्रकृति पूजकहरूलगायत नेपालका सम्पूर्ण आदिवासी तथा सांस्कृतिक समुदायहरूलाई जोड्ने एकताको एक महान् ध्वजा हो। जीवित देवी कुमारीको रथयात्रा, भैरव र गणेशको पूजा, विविध द्यः प्याखं (दिव्य नृत्य) र लाखेनाच प्रदर्शन गरिने यस पर्वमा सबै समुदायको सक्रिय सहभागिता रहन्छ।
यसले प्राचीन वैदिक जरा र तान्त्रिक परम्पराहरूलाई जोड्दछ। राजा उपरिचर वसुद्वारा स्थापित र बृहतसंहिताद्वारा निर्देशित यो ब्रह्माण्डीय सन्तुलनलाई अंगीकार गर्दै, सम्पूर्ण नेपालीले इन्द्रजात्रालाई उच्च मूल्य दिँदै यसलाई सामाजिक सदभाव, राष्ट्रिय अखण्डता र सांस्कृतिक एकताको जीवन्त प्रतीकका रूपमा सधैँ प्रवर्द्धन गर्नुपर्छ।
(बास्तोला संहिताशास्त्री हुन्)