सहकारीको ऋण अपलचन गरी तीन अर्ब रुपैयाँ सम्पत्ति शुद्धीकरण गरेको आरोपमा सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागले बागलुङ जिल्ला सरकारी वकिल कार्यालयमा पेस गरेको मुद्दा एक महिनासम्म पनि दर्ता भएको छैन । विशेष सरकारी वकिल कार्यालयको रायअनुसार अनुसन्धानको अंग पुर्याएर वकिल कार्यालयमा पेस गरेको अनुसन्धान प्रतिवेदन दर्ता गर्न बागलुङ जिल्ला कार्यालयले आनाकानी गरेको हो ।
बढी ब्याज र सहज ऋणको आशामा सहकारीमा पैसा जम्मा गरेका एक हजार चार सय ८१ बचतकर्ताको रकम अपचलन गरी तीन अर्ब रुपैयाँ सम्पत्ति शुद्धीकरण गरेको आरोपमा बागलुङको ढोरपाटन नगरपालिकाका बहालवाला मेयर देवकुमार नेपाली र उनकी पत्नी छेला नेपालीलाई प्रमुख प्रतिवादी कायम गरेर विभागले गत १८ जेठमा जिल्ला सरकारी वकिल कार्यालयमा मुद्दाको अनुसन्धान प्रतिवेदन पेस गरेको थियो ।
बागलुङ र पोखरामा दर्ता भएका एकै नामका दुई सहकारी इमेज बचत तथा ऋण सहकारी संस्था लिमिटेडमा जम्मा गरेका बचतकर्ताको बचत रकम अपचलन गरी त्यसबाट आर्जित रकम लगानीसमेत गरेर शुद्धीकरण गरेको विभागको दाबी छ । सञ्चालक समिति सदस्य तथा सहकारीमा काम गर्ने कर्मचारीसमेतलाई दुरुपयोग गरेर रकम हिनामिना र शुद्धीकरण गरिएको अनुसन्धान प्रतिवेदनमा उल्लेख छ ।
लामो अनुसन्धान र तयारीपछि मुद्दाका सबै प्रक्रिया पूरा गरेर विभागले मुद्दाको अनुसन्धान प्रतिवेदन जिल्ला सरकारी वकिल कार्यालयमा पेस गरेको थियो । विभागले गत माघ अन्तिम साता सम्पत्ति शुद्धीकरणको छानबिन टुंग्याएको थियो । छानबिन टुंग्याएर मुद्दा दायर गर्नेसम्बन्धी रायका लागि विशेष सरकारी वकिल कार्यालयमा फाइल पेस गरिएको थियो । विशेष सरकारी वकिलले अनुसन्धानमा थप प्रस्ट पार्न फाइल विभागमा फर्काइदिएको थियो । विशेष सरकारी वकिलको रायबमोजिम मुद्दाका विषय समेटेर विभागले पुनः २५ चैतमा फाइल पेस गरेको थियो । तर, यसलगत्तै ३० चैतमा सम्पत्ति शुद्धीकरणसम्बन्धी नयाँ ऐन जारी भयो । नयाँ ऐनले सम्पत्ति शुद्धीकरण मुद्दा विभागले सम्बन्धित जिल्ला सरकारी वकिल कार्यालयमा पेस गर्ने र कार्यालयले नै दर्ता गर्ने व्यवस्था गरेको छ ।
नयाँ ऐनअनुसार आफ्नो क्षेत्राधिकार नपुग्ने भन्दै विशेष सरकारी वकिल कार्यालयले पुनः विभागमा फाइल फर्काइदियो । यसपछि ऐनबमोजिम विषय र प्रक्रिया मिलाएर विभागले गत १८ जेठमा बागलुङ जिल्ला सरकारी वकिल कार्यालयमा मुद्दाको अनुसन्धान प्रतिवेदन पेस गरेको थियो । तर, कार्यालयले हालसम्म पनि मुद्दा दर्ता गरेको छैन । यसपछि विभागले पेस गरेका कतिपय मुद्दा दर्ता भइसक्दा पनि बागलुङको यो मुद्दा भने अघि बढ्न सकेको छैन ।
फाइल गम्भीरतापूर्वक हेरिरहेका छौँ : जिल्ला न्यायाधिवक्ता
जिल्ला सरकारी वकिल कार्यालय बागलुङका जिल्ला न्यायाधिवक्ता स्वतन्त्र न्यौपानेले केही विषय बुझ्नुपर्ने भएका कारण दर्तामा ढिलाइ भएको बताए । सामान्यभन्दा फरक खालको मिसिल भएको र गम्भीरतापूर्वक हेर्नुपर्ने भएका कारण दर्तामा ढिलाइ भएको उनको प्रतिक्रिया छ । ‘सम्पत्ति शुद्धीकरणका मुद्दा यसअघि जिल्लाबाट दर्ता हुन्थेनन्,’ उनले भने, ‘हामी अध्ययन गरिरहेका छौं ।’ मुद्दा चाँडै नै दर्ता हुने उनले बताए । बचतकर्ताको बचत रकम अपचलन गरेर नेपालीले बागलुङको सहकारीबाट एक अर्ब ४१ करोड २७ लाख र पोखराको सहकारीबाट ७९ करोड ७४ लाख ३६ हजार ९६९ रुपैयाँसमेत दुई अर्ब २१ करोड रुपैयाँको गैरकानुनी रकम प्राप्ति गरेको मुद्दाको अनुसन्धान प्रतिवेदनमा उल्लेख छ ।