विदेशी सम्बन्धनका कलेजमा भर्ना नगर्न निर्देशन

बिहिबार, २० असार, २०८१
डिजिटल संस्करण

शिक्षा मन्त्रालयले निर्देशिकाविपरीत सञ्चालनमा रहेका विदेशी शिक्षण संस्थालाई विद्यार्थी भर्ना नगर्न निर्देशन दिएको छ । मन्त्रालयले बुधबार उच्च शिक्षाप्रदायक शैक्षिक संस्थाहरूलाई भर्ना नगर्न र नगराउन निर्देशन दिएको हो । 

मन्त्रालयले विदेशी सम्बन्धनका कलेजबारे स्थलगत अध्ययन गर्दा बदमासी गरेको फेला परेको थियो । अनुगमनबाट प्राप्त प्रतिवेदन तथा निर्देशिकाअनुसार न्यूनतम सर्त पनि पूरा नगरेको मन्त्रालयको निष्कर्ष छ । उत्कृष्ट हजार र्याकिङभित्र नपर्नेको हकमा हाललाई विद्यार्थी भर्ना नगर्न–नगराउन भनिएको छ । विदेशी विश्वविद्यालय शिक्षण संस्थाको सम्बन्धनमा उच्च शिक्षाप्रदायक शैक्षिक संस्थाहरूले निर्देशिकामा भएका प्रावधानको परिपालना नगरेपछि उनीहरूलाई कारबाही गर्न लागिएको हो ।

उच्च शिक्षाप्रदायक शैक्षिक संस्था छनोट गर्दा सम्बन्धित देशको प्रचलित कानुनबमोजिम स्वीकृति र गुणस्तर सुनिश्चितता प्राप्त गरेको नगरेको ख्याल गर्न पनि मन्त्रालयले निर्देशन दिएको छ । विश्व वरीयतामा उत्कृष्ट हजारभित्र परेको नपरेको विषय सम्बन्धमा यकिन गरेर मात्र शैक्षिक संस्थाको छनोट गर्न मन्त्रालयले सचेत गराएको छ ।

सुझावित समाचार