भाडामा भैँसी ल्याएर प्रदेशको अनुदान कुम्ल्याउने दाउ

शुक्रबार, १५ असार, २०८१
डिजिटल संस्करण

सुदूरपश्चिममा प्रदेश सरकारले वितरण गर्ने अनुदान स्वाहा पार्ने गरी प्रपञ्च भइरहेको पाइएको छ। चालू आर्थिक वर्ष ०८०/८१ मा प्रदेश सरकार भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालयले किसानलाई भैँसीपालनमा वितरण गर्ने अनुदान कुम्ल्याउन प्रपञ्च भएको खुलेकाे हाे। 

मन्त्रालयले बेलडाँडीका १५ किसानलाई दिएको ‘भैँसी प्रवर्द्धन अनुदान’ कार्यक्रममा ‘किसान समूह’ले भैँसी खरिद गर्नुपर्ने भए पनि गाउँछिमेकका भैँसी भाडामा ल्याएर अनुदानको ४० लाख रकम खाने दाउ रचिएको खुलेको हो।

बेलडाँडी गाउँपालिका– ३ कमरीस्थित जमुना गाईभैँसीपालन कृषक समूहले एउटा राँगोसहित ३० वटा भैँसी खरिद र गोठसुधारमा नक्कली काम गरेको छ। उक्त समूहले भैँसी खरिद गर्नुपर्ने भए पनि भाडामा ल्याएर अनुदान रकम खान खोजेको हो।

गत वैशाख अन्तिम सातातिर जिल्लास्थित भेटेरेनरी तथा पशु सेवा विज्ञ केन्द्रबाट अनुगमनमा गएको सरकारी टोलीले सबै गोठ सुधार र भैँसी खरिद गर्न निर्देशन दिएपछि समूहले बाध्य भएर भैँसी गरिद गरेको छ। अनुगमन टोली पुग्दा समूहले रातारात गाउँलेहरूका भैँसी भाडामा ल्याएर देखाएको थियो। प्रतिभैँसी पाँच सय भाडा दिएर प्रदेश सरकारको अनुदान कुल्याउने दाउ असफल भएको छ। भेटेरेनरी तथा पशु सेवा विज्ञ केन्द्रले नक्कली भैँसी खडा गरेको भेटेपछि भुक्तानी नदिएकाले समूहले बाध्य भएर पछि भैँसी खरिद गरेको छ।

नक्कली काम गरेको खुलेपछि जमुना गाईभैँसी पालन कृषक समूहले नक्कली भैँसी खडा गर्ने काम  बेलडाँडीकै जनप्रतिनिधिले उपाय सिकाएको आरोप लगाएका छन्। कृषक समूहका सल्लाहकार हरिकिसन रानाले समूहमा नक्कली भैँसी खडा गर्न बेलडाँडीकी उपाध्यक्ष शान्ति नाथले जुक्ति दिएको आरोप लगाए। ‘मलाई उपाध्यक्ष नाथले नै नयाँ भैँसी खरिद नगर्न सुझाव दिएको हो। अनुगमनका क्रममा गाउँबाट नक्कली भैँसी देखाउन भने । बाँकी रकम भुक्तानीका लागि हाकिमलाई सेटिङ गर्नुपर्छ भन्दै मबाट १२ लाख रुपैयाँको चेक लिए,’ उनले भने, ‘अहिले आएर ममाथि चेक बाउन्सको मुद्दा दिनसमेत खोजियो।’

उपाध्यक्षकै योजनाअनुरूप आफूहरूले नक्कली भैँसी खडा गरेर अनुदानको रकम पचाउन खोजेको रानाले स्वीकार गरेका छन्। ‘मलाई १२ लाख रुपैयाँ हाकिमलाई दिनुपर्छ भन्दै चेक मागियो, अनि आफ्ना लागि चार लाख मागिन्, तर मैले चार लाख दिइनँ,’ उनले भने, ‘१२ लाखको चेक दिए पनि कार्यालयले भुक्तानी नदिएपछि एउटा राँगोसहित ३० वटा  भैँसी खरिद गरेपछि मात्रै भुक्तानी पाएको र अहिले १५  वटै किसानका घरमा भैँसी छन, जतिवेला जतिपटक अनुगमनमा जाँदा पनि भैँसी भेटिन्छन्।’

उपाध्यक्षले कुन कार्यालयको हाकिमका लागि १२ लाख मागेको भन्ने विषयमा भने रानाले थप बोल्न चाहेनन्। रानाले उपाध्यक्षलाई आफ्नो निजी खाताको चेक दिएको बताउँदै पछि खरिदका लागि चारवटा सक्कली भैँसी खोजिदिएपछि उनले मागेको चार लाख पनि दिएको दाबी गरेका छन्।

उक्त घटनालाई केलाउँदा किसानका लागि प्रदेश सरकारले दिने योजनामा जनप्रतिनिधि, किसानका बिचौलियादेखि कर्मचारीको साँठगाँठ देखिएको स्थानीयहरू बताउँछन्। भेटेरेनरी तथा पशु सेवा विज्ञ केन्द्र कञ्चनपुरका प्रमुख चन्द्रकान्त पन्तले पहिलो अनुगमनमा जाँदा समूहले फल्ट र अधुरो काम गरेको पाइएको बताउँदै दोस्रो अनुगममा पूरा काम भएको पाइएपछि मात्रै भुक्तानी दिएको बताए।

गाउँपालिका उपाध्यक्ष शान्ति नाथले आरोपको खण्डन गर्दै घुस मागेको आरोप लगाउने  रानाले कुन कार्यालयको प्रमुखका लागि मागेको सबै स्पष्ट पार्नुपर्ने बताइन्। ‘ममाथि लगाएका नक्कली भैँसी खडा गर्नेदेखि हाकिमका लागि १२ लाख र आफ्ना लागि चार लाख मागेको आरोप मिथ्या हो,’ उनले भनिन्, ‘गोठ निर्माणका क्रममा रानाले मेरो आफन्तबाट लिएको रकम अझै फिर्ता गरेका छैनन्। पाँच भैँसी खरिदको रकम पनि अझै दिएका छैनन्। महिनौँदेखि भागेका छन्, अनि ममाथि अनेकन निराधार आरोप लगाउन मात्रै जानेका छन्।’

See More On

सुझावित समाचार