गुल्मी जिल्लामा खेतीयोग्य जमिन ८५ हजार ६ सय ७० हेक्टर रहेको छ । जलस्राेत तथा सिँचाइ विकास डिभिजन कार्यालय गुल्मीका अनुसार खेती गरिएको सिँचाइयोग्य जमिन ३४ हजार तीन सय ९५ हेक्टर रहेको छ ।
त्यस्तै, सिँचाइ सुविधा ११ हजार सात सय २० हेक्टरमा पुगेको छ । जसमा कुलो निर्माणबाट सिँचाइ आठ हजार नौ सय, नहरमार्फत दुई हजार चार सय ५० र लिफ्ट तथा पोखरीबाट तीन सय ६० हेक्टर क्षेत्रफलमा सिँचाइको सुविधा पुगेको जलस्राेत तथा सिँचाइ विकास डिभिजन कार्यालय गुल्मीले जनाएको छ ।
चौरासीफाँट सिँचाइ योजना हस्तान्तरण
चौरासीफाँट सिँचाइ योजना इस्मा गाउँपालिका– ६ उपभोक्ता समितिलाई हस्तान्तरण गरिएको छ । जलस्राेत तथा सिँचाइ विकास डिभिजन कार्यालय गुल्मीले मझौला तथा वैकल्पिक प्रविधिमा आधारित सिँचाइ योजना निर्माण गरेको थियो । ०७६७७ सालमा स्वीकृत योजना अहिले सम्पन्न भएको हो । जिल्ला समन्वय समिति गुल्मीका प्रमुख द्रोणबहादुर खत्रीले गाउँपालिका अध्यक्ष भगतसिंह खड्का र जल उपभोक्ता समितिलाई योजना हस्तान्तरण गरे ।
खत्रीले योजनाको दीर्घकालीन सञ्चालनका लागि उपभोक्ता समिति सक्रिय रहन आग्रह गरे । ‘नहरमा राज्यको ठूलो लगानी भएको छ । नहरको उपयोगबाट चौरासीफाँट कृषि क्षेत्रको हब बनाऔँ,’ उनले भने, ‘सम्पत्तिका मालिकहरू नै नहरको संरक्षक हो ।’ इस्मा गाउँपालिका अध्यक्ष भगतसिंह खड्काले नहर निर्माणले व्यावसायिक कृषि खेतीमा ठूलो आशा जगाएकाले काम गर्नेहरूलाई पालिकाको तर्फबाट पनि सहयोग गरिने बताए ।
जिल्लामा सबैभन्दा ठूलो योजना
एक सय १४ हेक्टर क्षेत्रफलमा सँचाइ हुने १०.८ किलोमिटर लामो सिँचाइ योजना (नहर) जिल्लाको सबैभन्दा ठूलो रहेको जलस्राेत तथा सिँचाइ विकास डिभिजन कार्यालय गुल्मीका प्रमुख इन्जिनियर भरत सापकोटाले जानकारी दिए । योजनाबाट दुई सय १६ घरधुरीका आठ सय ३७ जना लाभान्वित हुनेछन् । चार करोड ३७ लाखको लागतमा निर्माण गरिएको योजना चौरासीफाँटको समृद्धिको प्रमुख महत्त्वपूर्ण आधार हो । कोवाल चार, आरसिसिवाल ३५ मिटर, एक्युडक्ट एक, मेसिनरीवाल नाै सय ३२ घनमिटर, पापलाइन सात सय मिटर, गेवियन कार्य दुई सय घनमिटर, डबल साइड क्यानल आरसिसी लाइनिङ ४.५ किलोमिटर निर्माण गरिएको सापकोटाले बताए ।
मुख्य २१ सिँचाइ योजना
जलस्राेत तथा सिँचाइ विकास डिभिजन कार्यालय गुल्मीका अनुसार गुल्मी जिल्लामा मुख्य २१ सिँचाइ योजनाहरू रहेका छन् । इस्मामा चौरासीफाँट सिँचाइ योजना, छल्दीखोला–भालुखोला–भलायटोरी–सेरा सिँचाइ योजना र खोलाखेत कल्लेनीटार सिँचाइ योजना रहेका छन् । खोलाखेत कल्लेनीटार सिँचाइ योजना यस वर्षबाट अगाि बढ्नेछ ।
छल्दीखोला–भालुखोला योजना गत वर्षबाट सञ्चालन रहेको छ । यस्तै, चौरासीफाँट सिँचाइ योजनाको अधिकांश काम सकिएर हस्तान्तरण गरिएको छ । त्यस्तै, सत्यवतीमा अस्लेवा चौर र चेहमी सिँचाइ योजना रहेका छन् । दुवै योजनाको धेरै काम भएका छन् । मुसिकोटमा बर्गती सानीचौर र झेदी खोला सिँचाइ योजनाको काम पनि सकिएको जलस्राेत तथा सिँचाइ विकास डिभिजन कार्यालय गुल्मीका सूचना अधिकारी तथा प्राविधिक बालकृष्ण बुढाथोकीले जानकारी दिए । उनका अनुसार कालीगण्डकीमा जेठी र कान्छी कुलो सिँचाइ योजना रहेका छन् । दुवैको काम सकिएको छ ।
चन्द्रकोटमा दमुका सोता, हुँग्दी तुराङ र सराङ खोला सिँचाइ योजना, रुरु क्षेत्रमा बिरुवाफाँट र बेसीकाचौर सिँचाइ योजना रहेका छन । छत्रकोटमा बोहाफाँट सिँचाइ योजना, धुर्कोटमा कुमालटारी सिँचाइ योजना, गुल्मीदरबारमा कुमालटारी सिँचाइ योजना रहेका छन् ।
रेसुंगामा भुल्के भर्ला डाँडाखर्क सिँचाइ योजना रहेको छ । यो योजनामा गत वर्षबाट काम भइरहेको छ । मदानेको ओडारे ठूलाखेत फलाँटे पटेरा सिँचाइ योजनाको यो आर्थिक वर्षबाट काम सुरु हुने बुढाथोकीले बताए । मुसिकोट– ५ को आँपचौर कफी खेती सिँचाइ योजना पुनर्निर्माण गर्नुपर्ने अवस्थामा रहेको छ ।