संघीय सरकारको योजनाबाट ताप्लेजुङमा १९ मोटरेबल तथा झोलुंगे पुल बन्ने भएका छन्। आगामी आर्थिक वर्षमा ६ वटा मोटरेबल र १३ वटा झोलुंगे गरी १९ वटा पुल बन्ने भएका हुन्।
गाउँपालिका मैवाखोलामा मात्र तीनवटा मोटरेबल (मोटर गुड्ने) पुल बन्ने भएको छ। गाउँपालिकाभित्र पर्ने लोदम्बा खोला, मांमाया खोला र याङ्देली खोलामा मोटरेबल पुल बन्ने बताइएको छ।
यस्तै मेरिङ्देन गाउँपालिकाको लङ्वा खोला, आठराई त्रिवेणीको सोबुवाखोला र पाथीभरा याङ्वरक गाउँपालिकाको फावाखोलामा मोटरेबल पुल बन्ने भएको हो।
स्थानीय तहमा १३ वटा झोलुंगे पुल निर्माण हुने गरी योजना परेको छ। जिल्लाको सिरिजंगा गाउँपालिकाअन्तर्गत काबेली खोलामा दुईवटा र खोयाखोलामा एउटा झोलुंगे पुल बन्ने भएको हो।
सिदिङ्वा गाउँपालिकाअन्तर्गत इवाखोला, तावाखोला र खोरिम्बा खोलामा झोलुंगे पुलको योजना परेको छ। पाथीभरा याङ्वरक गाउँपालिकाको सेरुपा, मैवाखोला गाउँपालिको मांमाया र मेरिङ्देनको मुलिङ खोलामा झोलुंगे पुल बन्ने भएको हो।
मिक्वाखोला गाउँपालिकामा थुम्मा खोला, हाँडीखोला तथा पापुङ र साँवा जोड्ने मेवाखोलामा झोलुंगे पुल बन्ने भएको छ। त्यसैगरी, फक्ताङ्लुङ गाउँपालिकाको मेनथुक्मा खोला, मेदेम्बा खोला र तावा खोलामा झोलुंगे पुल बन्नेछ।
आठराई त्रिवेणी गाउँपालिकाअन्तर्गत फुगुवा खोलामा निघुरादिन र तेह्रथुमको ह्वाकु जोड्न झोलुंगे पुल बन्ने भएको हो। गत वर्षको बर्खा याममा गएको बाढी र पहिरोले मोटरेबल साथै झोलुंगे पुल क्षतिग्रस्त बनेको र उक्त ठाउँमा नयाँ पुल निर्माण गर्ने गरी योजना स्वीकृत भएको बताइएको छ। उक्त पुलहरू निर्माणका लागि चार करोड ८१ लाख रुपैयाँभन्दा बढी बजेट विनियोजन गरिएको छ।