मोदीको शपथग्रहणमा सहभागी हुन प्रधानमन्त्री प्रचण्ड आज अपराह्न नयाँदिल्ली जाँदै

राष्ट्रपति भवनमा आयोजित विशेष समारोहमा आइतबार साँझ सवा ७ बजे राष्ट्रपति मुर्मूले प्रधानमन्त्री मोदी र मन्त्रिपरिषद् सदस्यहलाई शपथग्रहण गराउने कार्यक्रम छ

आइतबार, २७ जेठ, २०८१
डिजिटल संस्करण
मोदीको शपथग्रहणमा सहभागी हुन प्रधानमन्त्री प्रचण्ड आज अपराह्न नयाँदिल्ली जाँदै

फाइल तस्बिर

प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ आफ्ना भारतीय समकक्षी नरेन्द्र मोदीको शपथग्रहण समारोहमा सहभागी हुन पाँच सदस्यीय प्रतिनिधिमण्डलको नेतृत्व गर्दै आज अपराह्न नयाँदिल्ली जाँदै छन् ।

प्रधानमन्त्री प्रचण्डका साथ उनकी सुपुत्री गंगा दाहाल, कानुन, न्याय तथा संसदीय व्यवस्थामन्त्री पदम गिरी, परराष्ट्रसचिव सेवा लम्साललगायत उच्चपदस्थ सरकारी कर्मचारी रहेका छन् । भारतीय प्रधानमन्त्री मोदीले तेस्रो कार्यकालका लागि आज साँझ शपथ लिने कार्यक्रम छ ।  

भारतीय जनता पार्टीका नेता मोदीले शपथ लिएपछि प्रधानमन्त्री प्रचण्डसँग आज साँझ नै भेटवार्ता गर्ने कार्यक्रम रहेको नयाँदिल्लीस्थित नेपालको राजदूतावासले जनाएको छ । प्रधानमन्त्री प्रचण्ड भोलि स्वदेश फर्कने कार्यक्रम छ।

प्रधानमन्त्री प्रचण्डले शनिबार राष्ट्रपति रामचन्द्र पौडेललाई भेटेर आफ्नो भारत भ्रमणबारे जानकारी गराइसकेका छन् । मन्त्रिपरिषद्को बिहीबारको बैठकले भारतीय प्रधानमन्त्री मोदीको शपथग्रहण समारोहमा प्रधानमन्त्री प्रचण्ड सहभागी हुने निर्णय गरेको थियो । 

भारत सरकारले छिमेकीबाट प्रधानमन्त्री प्रचण्ड, बंगलादेशका प्रधानमन्त्री शेख हसिना, भुटानका प्रधानमन्त्री छिरिङ तोब्गे, श्रीलंकाका राष्ट्रपति रनिल विक्रमासिंघे, माल्दिभ्सका राष्ट्रपति मोहम्मद मिज्जुलाई बोलाएको छ । बंगलादेशकी प्रधानमन्त्री हसिना शनिबारै दिल्ली पुगेकी छिन् । मोरिससका प्रधानमन्त्री प्रविन्दकुमार जगन्नाथ र सेसेल्सका उपराष्ट्रपति अहम्मद अफिफ पनि शपथग्रहणमा सहभागी हुनेछन् । सेसेल्सका उपराष्ट्रपति अफिफ पनि शनिबारै दिल्ली पुगेका छन् । 

भारतीय राष्ट्रपति द्रौपदी मुर्मूले शुक्रबार मोदीलाई प्रधानमन्त्री नियुक्त गर्दै मन्त्रिपरिषद् विस्तारका लागि स्वीकृति दिएकी थिइन् । राष्ट्रपति भवनमा आयोजित विशेष समारोहमा आइतबार साँझ सवा ७ बजे राष्ट्रपति मुर्मूले प्रधानमन्त्री मोदी र मन्त्रिपरिषद् सदस्यहरूलाई शपथग्रहण गराउने कार्यक्रम छ । शपथग्रहण समारोहमा विदेशीसहित आठ हजार पाहुनालाई आमन्त्रित गरिएको छ । 
     

सुझावित समाचार