१२१ वर्षपछिको सिंहदरबार...

शनिबार, २६ जेठ, २०८१
डिजिटल संस्करण
१२१ वर्षपछिको सिंहदरबार...

विसं १९६० मा निर्मित सिंहदरबार पुनर्निर्माणपछि गत मंसिर दोस्रो साता प्रधानमन्त्री प्रचण्ड र एमाले अध्यक्ष केपी ओली सिंहदरबारस्थित प्रधानमन्त्री कार्यालयमा । फाइल तस्बिर

- बेलायतका प्रख्यात ‘निउक्लासिकल’ र ‘पल्लाडियन’ शैलीमा निर्मित सिंहदरबार ००७ सम्म विश्वकै सुन्दर र सुविधासम्पन्न दरबारका रूपमा चिनिन्थ्यो, ०७२ को भूकम्पले क्षति पुर्याएपछि ६ वर्ष लगाएर प्रबलीकरण गर्दै आधुनिक स्वरूप दिइएको छ

- डेढ अर्ब खर्च गरी सकियो प्रबलीकरण : चार तलाको सिंहदरबारमा ‘लिफ्ट’ जडान, प्रत्येक कोठामा अत्याधुनिक बिजुली बत्ती र आकर्षक झुमर

१२ वैशाख ०७२ को भूकम्पले बस्नै नहुने गरी क्षति पुर्याएपछि २० जेठ ०७५ बाट प्रबलीकरण सुरु गरिएको थियो । प्रबलीकरणपछि सिंहदरबारका प्रत्येक चोटाकोठामा आधुनिकताको बिम्ब भेटिन्छ । चार तलाको सिंहदरबार तलमाथि गर्न ‘लिफ्ट’ जडान गरिएका छन् । प्रवेशद्वारदेखि भुइँमै चम्किला टायल बिछ्याइएका छन् । भित्तामा उज्यालो रङ पोतिएको छ । कलात्मक शैलीमा राखिएका बिजुली बत्तीले भुइँका टायल र भित्ताका रङलाई चम्काउन अझ सहयोग गरेको छ । फराकिलो भर्याङको दायाँबायाँ राखिएका काठका बार उत्तिकै सुन्दर देखिन्छन् । सिंहदबारभित्रका कोठा उत्तिकै आकर्षक देखिन्छन् । प्रत्येक कोठामा अत्याधुनिक बिजुली बत्ती जडान गरिएका छन् । कतिपय कोठामा आकर्षक झुमर राखिएका छन् । दरबारस्थित प्रत्येक लबी उत्तिकै आकर्षक देखिन्छन् । प्रधानमन्त्री कार्यालय अझ भव्य छ । फराकिलो बैठक, आकर्षक सोफा, झिलिमिली बत्तीले कार्यालयको भव्यतालाई उचाइमा पुर्याएको छ । दरबारभित्रको स्टेट हल र बेलायती कक्ष भव्यताको अर्को बिम्ब हो । फराकिलो कक्षमा विशाल झुमर राखिएको छ । भित्ता आकर्षक ढंगले सजाइएको छ । सेतो र सुनौलो रङको ‘कम्बिनेसन’लाई झुमरबाट निस्किएको प्रकाशले कक्षको सुन्दरता अझ बढाएको छ । पहुनाका लागि राखिएका सोफा उत्तिकै भव्य छन् । भुइँमा ओछ्याएका नेपाली गलैँचाले कक्षलाई झकिझकाउ तुल्याएको छ । 

        ...                                               ...

एक सय २१ वर्षपछि देशको मुख्य प्रशासनिक केन्द्र सिंहदरबारले आधुनिक स्वरूप पाएको छ । ०७२ को भूकम्पले क्षतिग्रस्त सिंहदरबारलाई आधुनिक स्वरूप दिने गरी प्रबलीकरण (रेट्रोफिटिङ) गर्न सरकारले एक अर्ब ५१ करोड खर्च गरेको छ । र, बाँकी रहेका थोरै संरचना बनाउन २४ करोड ५२ लाख खर्च गर्दै छ ।

१२ वैशाख ०७२ को भूकम्पले सिंहदरबारमा बस्नै नहुने गरी क्षति पुर्याएपछि २० जेठ ०७५ बाट प्रबलीकरण सुरु गरिएको थियो । दैनिक प्रशासन चलाउन मुस्किल परेपछि प्रधानमन्त्री कार्यालय हालको गृह मन्त्रालय रहेको भवनमा सारिएको थियो । सहरी विकास तथा भवन निर्माण विभागअन्तर्गत केन्द्रीय योजना कार्यान्वयन एकाइका अनुसार प्रबलीकरणको काम गत २० वैशाखमा सम्पन्न भएको छ । 

प्रबलीकरण सक्न झन्डै ६ वर्ष लागेको छ । विभिन्न आकारप्रकारका एक सय २४ कोठा बनाइएका छन् । जसमध्ये २४ कोठामा ‘इन्टेरियर डिजाइन’को काम बाँकी छ । सिंहदरबारको वास्तुकलामा बेलायती ‘निउक्लासिकल’ र ‘पल्लाडियन’ शैलीलाई नै निरन्तरता दिइएको छ । 

६ मंसिर ०८० पछि प्रधानमन्त्री कार्यालयको दैनिक प्रशासनिक काम सिंहदरबारबाटै हुँदै आएको छ । केन्द्रीय योजना कार्यान्वयन एकाइका प्रमुख कोषनाथ अधिकारीले गत ६ मंसिरदेखि नै प्रधानमन्त्री कार्यालय सिंहदबारमा सरिसकेको बताए ।

‘सिंहदरबारको प्रबलीकरणको काम करिब–करिब पूरा भएको छ । केही भागमा ‘इन्टेरियर डिजाइन’को काम हुँदै छ । अन्यमा त्यो काम पनि पूरा भएको छ । उक्त स्थानमा प्रधानमन्त्री कार्यालय सरिसकेको छ । ६ महिनादेखि दैनिक प्रशासनिक काम सोही स्थानबाट हुँदै आएको छ,’ उनले भने ।

‘निउक्लासिकल’ र ‘पल्लाडियन’ शैलीमा निर्मित सिंहदरबारलाई ००७ सम्म विश्वकै सुन्दर र सुविधासम्पन्न दरबारका रूपमा लिइन्थ्यो । १९६० मा निर्मित सिंहदरबारको ‘आर्किटेक्ट’ इन्जिनियर कुमारसिंह राणा र किशोरनरसिंह राणा थिए । त्यसवेला सिंहदरबार निर्माण गर्न करिब ५० लाख रुपैयाँ लागेको थियो । 

इतिहासकार पुरुषोत्तम राणाले लेखेको ‘श्री ३ हरूको तथ्य वृत्तान्त भाग २’ पुस्तकमा उल्लेख भएअनुसार दरबार निर्माणका लागि आवश्यक काठ उपत्यकाकै ‘छरिया’ जंगलबाट कटान गरिएको थियो । फलामे छड, किला, काँटी, फलामे सत्तरी, फलामे दलिन भने भारतबाट झिकाइएको थियो । 

‘चन्द्रशमशेरको पैसा पर्यो भने आली किला–काँटी, फलामे छड, फलामे सत्तरी, दलिन इत्यादि जुन भारतबाट खरिद गर्नुपर्दथ्यो । सो सामानको भन्सार पनि कति पनि पर्दैनथ्यो । तसर्थ, श्री ३ चन्द्रले सिंहदरबार निर्माणार्थ ५० लाख रुपैयाँभन्दा बढी खर्च गरेका छैनन्,’ पुस्तकमा उल्लेख छ ।

२५ असार ०३० को आगलागीपछि सिंहदबारको तीनमध्ये दुई भाग जलेर नष्ट भयो । त्यसपछि सिंहदरबारको प्रख्यातिमा बादल लाग्यो । यद्यपि, मुलुकको मुख्य प्रशासनिक काम भने सिंहदरबारबाटै सम्पादन हुँदै आएको थियो । १२ वैशाख ०७२ मा भूकम्पले बस्नै नसकिने गरी सिंहदरबारमा क्षति पुगेपछि सिंहदरबार हालको गृह मन्त्रालय रहेको भवनमा सारिएको थियो । 

प्रबलीकरणपछि सिंहदरबारका प्रत्येक चोटाकोठामा आधुनिकताको बिम्ब भेटिन्छ । चार तलाको सिंहदरबार तलमाथि गर्न ‘लिफ्ट’ जडान गरिएका छन् । प्रवेशद्वारदेखि भुइँमै चम्किला टायल बिछ्याइएका छन् । भित्तामा उज्यालो रङ पोतिएका छन् । कलात्मक शैलीमा राखिएका बिजुली बत्तीले भुइँका टायल र भित्ताका रङलाई चम्काउन अझ सहयोग गरेको छ । फराकिलो भर्याङको दायाँबायाँ राखिएका काठका बार उत्तिकै सुन्दर देखिन्छन् ।

सिंहदबारभित्रका कोठा उत्तिकै आकर्षक देखिन्छ । प्रत्येक कोठामा अत्याधुनिक बिजुली बत्ती जडान गरिएका छन् । कतिपय कोठामा आकर्षक झुमर राखिएका छन् । दरबारस्थित प्रत्येक लबी उत्तिकै आकर्षक देखिन्छ । प्रधानमन्त्री कार्यालय अझ भव्य छ । फराकिलो बैठक, आकर्षक सोफा, झिलिमिली बत्तीले कार्यालयको भव्यतालाई उचाइमा पुर्याएको छ । 

दरबारभित्रको स्टेट हल र बेलायती कक्ष भव्यताको अर्को बिम्ब हो । फराकिलो कक्षमा विशाल झुमर राखिएको छ । भित्ता आकर्षक ढंगले सजाइएको छ । सेतो र सुनौलो रङको ‘कम्बिनेसन’लाई झुमरबाट निस्किएको प्रकाशले कक्षको सुन्दरता अझ बढाएको छ । पहुनाका लागि राखिएका सोफा उत्तिकै भव्य छन् । भुइँमा ओछ्याएका नेपाली गलैँचाले कक्षलाई झकिझकाउ तुल्याएको छ ।

बेलायतमा प्रख्यात ‘निउक्लासिकल’ र ‘पल्लाडियन’ शैलीमा सिंहदरबार 
सिंहदरबारका आर्किटेक्ट कुमार सिंह र किशोर नरसिंहले सिंहदरबार बनाउन बेलायतमा प्रख्यात ‘निउक्लासिकल’ र ‘पल्लाडियन’ शैलीलाई अँगालेका थिए । १८औँ र १९औँ शताब्दीमा विकसित यो शैलीलाई तत्कालीन समयमा वैभव र सौन्दर्यको बिम्ब ठानिन्थ्यो । विशेषगरी बेलायतका तत्कालीन सरकारी दरबार सोही शैलीमा बन्ने गर्थे । जसको तुलना रोमको शाही दरबारसँग गरिन्थ्यो । उपनिवेशमार्फत यो शैली अमेरिका, ल्याटिन अमेरिकादेखि एसियासम्म फैलियो । १९६० अर्थात् सन् १९०४ मा निर्मित सिंहदरबार निर्माणमा पनि सोही शैली अनुसरण गरिएका थिए ।

एक सय २१ वर्षअघि प्रयोगमा ल्याएको सोही शैलीलाई कायम राख्दै प्रबलीकरणपछिको सिंहदरबारमा केही सुविधा थप गरिएका छन् । त्यसवेला वाताअनुकूलित, फायर फाइटिङ, हिटिङ भेन्टिलेसन एअर कन्डिसन प्रणाली विकास भइसकेका थिएनन् । अहिले सिंहदरबारमा यो प्रणाली थप गरिएका छन् । त्यसबाहेक सुविधासम्पन्न धारा, शौचालय, पानी दरबारमा जडान गरिएका छन् । सुरक्षा व्यवस्था मजबुतीका लागि सिंहदरबारमा सेन्सरसहितको सिसिक्यामेरा जडान गरिएका छन् । जसबाट सिंहदरबारको प्रत्येक कोठा, लबी, बगैँचा २४सै घन्टा निगरानीमा रहन्छन् । 

भवनको आवरणमा देखिने भित्ता, स्तम्भ, झ्याल, ढोका, छानामा एकरूपता ‘निउक्लासिकल’ र ‘पल्लाडियन’ शैलीको विशेषता हो । सरल ज्यामितीय संरचना यो शैलीको अर्को विशेषता हो । सिंहदरबार प्रबलीकरणमा ठीक यही शैलीलाई अनुसरण गरिएको छ । तर, संरचनाका आधार भने विगतभन्दा अझ बलियो तुल्याइएको छ । भवनको प्रत्येक जगमा फलामका दरिला ‘पाइल’ हालिएका छन् । पिलर र बिममा फलामका रड र सिमेन्ट प्रयोग गरिएका छन् । तर, गाह्रोमा भने दचिअपा इँटा र सुर्की नै प्रयोग गरिएका छन् । 

केन्द्रीय योजना कार्यान्वयन एकाइका इन्जिनियर रोशन यादवले सिंहदरबार आवरणमा पुरानै शैलीमा प्रबलीकरण गरिए पनि जग, पिलर, बिमलगायतमा सिमेन्ट, स्टिल र फलाम प्रयोग गरिएको बताए । ‘सिंहदरबार पुरानै शैलीमा प्रबलीकरण गरिएको छ । यसको स्वरूप पुरानो सिंहदरबारभन्दा फरक छैन । सजावट पनि सोही शैलीमा गरिएका छन् । तर, यसमा फायर फाइटिङ, सिसिक्यामेरा, एयरकन्डिसनलगायत थपिएका छन् । यसको जग, बिम, पिलरलगायतमा भने स्टिल, फलाम र सिमेन्ट प्रयोग भएका छन् । अन्य ठाउँमा सुर्की प्रयोग गरिएका छन् । सिंहदरबारको पुरानो भव्यतालाई जोगाउँदै नयाँ सुविधा जडान गर्ने उद्देश्य लगभग पूरा भएको छ,’ उनले भने ।

इतिहासकार राणाले लेखेको ‘श्री ३ हरूको तथ्य वृत्तान्त’ पुस्तकका अनुसार सिंहदरबार निर्माण र ‘इन्टेरियर जिडाइन’का लागि काठमाडौं उपत्यकाभित्र रहेको ‘छरिया’ जंगलको काठ प्रयोग गरिएका थिए । ‘छरिया’ त्यही जंगल थियो, जहाँ पूर्वप्रधानमन्त्री जंगबहादुर राणाले १९१७ मा विभिन्न किसिमका अहिंस्रक जंगली जनावर र चरा संरक्षणका लागि छाडेका थिए । जसलाई गोकर्ण र नागार्जुन वनलाई झैँ संरक्षण गर्न भनिएको थियो । तर, चन्द्रशमशेरले सिंहदबार बनाउन जंगल नै साफ गरे । ‘काठ काठमाडौंनजिकको ‘छरिया’ जंगल जुन स्व. श्री ३ जंगले विसं १९१७ मा अनेक प्रकारका अहिंस्रक जनावर र चराहरू छोडी गोकर्ण र नागार्जुन वनलाई झैँ रेखदेख गरी संरक्षण पुर्याइराखेका थिए । सो वन साफ हुने गरी लकडी ओसारे । काठ मात्रै ओसारेनन्, ‘छरिया’को नामोनिसान राखेनन् । आज काठमाडौंनिवासी धेरैलाई थाहा छैन होला, ‘छरिया’ भन्ने ठाउँ कहाँ हो ?’ पुस्तकमा भनिएको छ । 

प्रबलीकरणपछिको सिंहदरबार निर्माणमा तराईको जंगलबाट सिसौको काठ ल्याइयो । सोही काठबाट दरबारको ‘इन्टेरियर डिजाइन’ गरिएका छन् । ‘सिंहदरबारको ‘इन्टेरियर डिजाइन’मा हामीले नेपाली काठ नै प्रयोग गरेका छौँ । यी काठ तराईका जंगलबाट ल्याएका हुन् । डिजाइनमा सबै सिसौ प्रयोग गरिएका छन्,’ कार्यान्वयन एकाइका इन्जिनियर रोशन यादवले भने ।

सिंहदबार बनाउन साढे ३१ हजारमा खरिद गरिएको थियो ३५० रोपनी जग्गा 
देवशमशेरलाई धनकुटा धपाएपछि १० असार १९५८ मा प्रधानमन्त्री बनेका थिए चन्द्रशमशेर । उनलाई दरबारको आवश्यकता पर्यो । उनले वीरशमशेरले बनाएको लालदरबार र सेतोदरबार खरिद गर्न खोजे । तर, उनले दरबारको मालिक क्रमशः तेजशमशेर र गेहेन्द्रशमशेरलाई सीधै प्रस्ताव गर्न सकेनन् । यसका लागि उनले विश्वासिला पण्डित काशीनाथ आचार्य दीक्षित र डिल्लीशमशेर थापालाई दूत बनाएर प्रस्ताव राख्न लगाए । तर, तेजशमशेरले भने, ‘महाराजलाई मेरो घर लालदरबारको आवश्यकता महसुस भएको छ भने टक्र्याउँछु । तर, मुमा (तोपकुमारी देवी)लाई मैले कहाँ राखुँ ?’

चन्द्रशमशेरको प्रस्ताव लिएर उनका दूत गेहेन्द्रशमशेरकहाँ पुगे । ‘मैले मागेको मोल के महाराजबाट बक्सन्छ ? पहिले यसको जवाफ बुझेर मात्रै मकहाँ आउनू,’ उनले भने । गेहेन्द्रको कुरा लिएर दूत चन्द्रकहाँ पुगे । प्रस्तावका सम्बन्धमा बेलीबिस्तार लगाए । चन्द्रले दुवै दरबार लिन आँट गरेनन् । त्यसपछि चन्द्र लाजिम्पाटस्थित जितशमशेरको दरबार (हाल शंकर होटेल) र रुद्रशमशेरको चारबुर्जा दरबार ६–६ लाख रुपैयाँमा खरिद गर्न सहमत भए । तर, इन्जिनियर कुमारनरसिंह राणा र किशोरनरसिंह राणाले वर्ष दिनभित्र भनेअनुसारको भव्य दरबार बनाउन सकिने बताए । चन्द्र उनीहरूको प्रस्तावमा सहमत थिए । त्यसपछि खोजी भयो जग्गा । यही क्रममा हालको सिंहदरबार रहेको जग्गामा फेला पर्यो । प्रतिरोपनी ९० रुपैयाँका दरले तीन सय ५० रोपनी जग्गा खरिद गरियो । 

पुरानो सिंहदरबार बनाउन नि:शुल्क श्रम 
इतिहासकार पुरुषोत्तम राणाका अनुसार चन्द्रशमशेरले सुरुमा सिंहदरबार सामान्य बनाउन चाहेका थिए । बन्दाबन्दै विशाल बन्द पुग्यो । २००७ सम्म जसको तुलना विश्वका अन्य भव्य दरबारसँग हुन्थ्यो । करिब एक वर्ष लगाएर दरबार बन्यो । जसमा श्रम भने निःशुल्क प्रयोग गरिए । दरबारमा प्रयोग भएका काठ काट्न र ढुवानी गर्न बेगारी प्रयोग गरिएको थिए । जसलाई बिहान–बेलुका पेटभरि खान दिइएको थियो । सिकर्मी, डकर्मीको काम सेना, प्रहरी, पिपा तथा कैदीलाई लगाइएको थियो । ज्यालाका निम्ति उनीहरूलाई दैनिक चारदेखि ६ पैसासम्म दिइन्थ्यो । 

यसरी भयो सिंहदरबारको नामकरण
इतिहासकार राणाको ‘राणाकालीन प्रमुख ऐतिहासिक दरबारहरू’ नामक पुस्तकमा उल्लेखअनुसार वर्ष दिनभित्रै विशाल दरबार बन्यो । तर, नाम जुरिसकेको थिएन । यही क्रममा चन्द्रशमशेर आफ्नी जेठी रानी लोकभक्तलक्ष्मीदेवीसँग दरबार निरीक्षणमा निस्किए । उनीहरू दरबारको कौसीमा टहलिँदै थिए । यही क्रममा पश्चिमतर्फ बागदरबार देखियो । चन्द्रले औँल्याउँदै रानीलाई भने, ‘ऊ त्यो बागदरबार’ । रानी लोकभक्तले चन्द्रलाई तुरुन्तै भनिन्, ‘महाराज त्यो बागदरबार हो भने यो दरबारलाई सिंहदरबार भन्दा कसो होला ?’ चन्द्रशमशेरले हाँस्दै रानीलाई भने, ‘ल अब यो नयाँ दरबार सिंहदरबार भयो ।’ पछि विशाल सिंहदरबारलाई चन्द्रले दुई करोड रुपैयाँमा बेचे । सो रकम त्यसवेला राज्यको आपत्कालीन ढुकुटी (कौसी तोसाखाना)बाट झिकिएको थियो । जसको स्थापना जंगबहादुरले गरेका थिए । ११ करोड रुपैयाँमा स्थापना गरिएको कौसी तोसखानाको रकम संकटकालीन र दैवीप्रकोपमा मात्रै प्रयोग गर्न भनिएको थियो । तर, चन्द्रशमशेरले उक्त रकम लिएर सिंहदरबार सरकारलाई बेचे ।

कोषनाथ अधिकारी, प्रमुख, सहरी विकास तथा भवन निर्माण विभागअन्तर्गत केन्द्रीय आयोजना कार्यान्वयन एकाइ
सिंहदरबारको प्रबलीकरणको काम करिब–करिब पूरा भएको छ । केही भागमा ‘इन्टेरियर डिजाइन’को काम हुँदै छ । अन्यमा त्यो काम पनि पूरा भएको छ । उक्त स्थानमा प्रधानमन्त्री कार्यालय सरिसकेको छ । ६ महिनादेखि दैनिक प्रशासनिक काम सोही स्थानबाट हुँदै आएको छ ।

सुझावित समाचार