काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र साहले नेकपा एमालेका अध्यक्ष केपी ओलीलाई झापा गिरीबन्धुमा बैना लिनेहरूलाई ‘दुई वर्षभित्र गिरीबन्धुकै जग्गा दिलाउँछौँ’ भनेर लिएको पीडितको बैना फिर्ता गर्न आग्रह गरेका छन् । सोमबार बिहान सामाजिक सञ्जाल फेसबुकमार्फत बालेनले १० हजार करोडको काण्ड लुकाउन अर्को काण्ड गरेर जनता नझुक्काउन उनले ओलीलाई आग्रह गरे ।
उनले लेखेका छन्, ‘झापा गिरीबन्धुमा बैना लिनेहरूलाई ‘दुई वर्षभित्र गिरीबन्धुकै जग्गा दिलाउँछौँ’ भनेर थमथमाउनुभएछ। गिरीबन्धु चिया बगानको जग्गामा गर्न खोजेको नीतिगत घोटालामा तपाईंको सहभागिताको इतिहास हेर्दा त्यहाँ तपाईंलाई नभनी पात पनि हल्लन्छ भन्ने लाग्दैन ।’
बालेनले १० हजार करोडको काण्ड लुकाउन र जनतालाई भुलाउन राज्यको सम्पूर्ण शक्ति लगाएर न्युरोडमा आफूले बनाउन लागेको फुटपाथ फेरेर सडक बनाउन थालेको आरोप लगाए।
‘अब बल्ल देश बन्ने भएछ। आफ्ना कर्तुत लुकाउन र विषयान्तर गरे पनि काम हुनु राम्रो हो । तपाईंको शक्तिले अब रिङरोड बनाउनु, बुटवल–चितवन बाटो बनाउनु, यस्ता धेरै आयोजनामा लगाउनुहोला। हामी साथमा छौँ । अनि समयमै गिरीबन्धुमा पीडितको बैना फिर्ता गर्नुहोला । नत्र कोही साँच्चैको नयाँ आउला र फाइल पल्टाउला । हुन त, पहिले पनि जेल बस्नुभएको हो । धन्यवाद,’ उनले लेखेका छन् ।