- प्रदेश राजधानीमा मौलिक सहरमा विकास गरिने, भेरीगंगा उपत्यकामा आधुनिक सहर
- ५४ हजार तीन सय ९२ घरमा फुस र खरको छानो विस्थापित गरी जस्तापाताले छाइने
- ‘एक वडा पार्क’ कार्यक्रम घोषणा, डोटीको सिलगढीलाई सांस्कृतिक सहर बनाइने
सरकारले काठमाडौं उपत्यकाको धोबीखोला, बागमती र विष्णुमती करिडोरमा स्काई–वे तथा पडवे यातायात प्रणाली बनाउने घोषणा गरेको छ । मंगलबार संसद्मा प्रस्तुत आगामी आर्थिक वर्ष ०८१/८२ को बजेटबाट यस्तो घोषणा गरिएको हो । यस्तै, उपत्यकाको गोदावरी, तारकेश्वर, ललितपुर, नागार्जुन, चाँगुनारायण, भक्तपुरलगायत नगरपालिकामा जग्गा विकास परियोजना अघि बढाउने घोषणा पनि गरिएको छ । यसैगरी, काठमाडौंको उत्तर–पूर्व क्षेत्रमा नयाँ नगर निर्माण कार्य अगाडि बढाउने पनि बजेटमा घोषणा छ ।
यस्तै, काठमाडौं उपत्यका र अन्य सम्भाव्य स्थानमा सरकारी र निजी क्षेत्रको सहभागितामा जग्गा विकास गरी ५० हजार आवास एकाइको विकास गरिने घोषणा गरिएको छ । त्यसमा पहिलो चरणमा काठमाडौं उपत्यका विकास प्राधिकरणबाट प्रस्ताव गरिएका नयाँ सहरमा कार्यक्रम सञ्चालन गरिनेछ । दोस्रो चरणमा सम्भाव्यताका आधारमा काठमाडौं उपत्यकाबाहिर आवास एकाइ विकास गरिने बजेटमा उल्लेख छ । सुर्खेतको भेरीगंगा उपत्यकालाई पहाडी क्षेत्रको आधुनिक सहर बनाउने घोषणा पनि गरिएको छ । त्यसका लागि आवश्यक गुरुयोजना बनाउने बजेटमा उल्लेख छ । डोटीको सिलगढीलाई सांस्कृतिक सहरका रूपमा विकास गरिने अर्थमन्त्री वर्षमान पुनले बताए ।
यसैगरी, बाराको सिम्रौनगढ, पर्साको ठोरी, मुस्ताङको लोमान्थाङ, उपल्लो डोल्पाको धो उपत्यका, हुम्लाको लिमी उपत्यका र कञ्चनपुरको चाँदनी–दोधारामा नयाँ नमुना बस्ती निर्माण गरी आर्थिक तथा पर्यटकीय केन्द्रका रूपमा विकास गरिने पनि बजेटमा उल्लेख छ ।
वैदेशिक रोजगारीबाट आर्जित रकमबाट आवास बनाउन चाहने परिवारलाई व्यवस्थित बस्ती विकास कार्यक्रममा आबद्ध गरिने नीति पनि ल्याइएको छ । स्थानीय तहसँग समन्वय गरी विप्रेषणको रकमले घर बनाउन चाहने कम्तीमा १० परिवारलाई एकै स्थानमा एकल वा सामूहिक आवास बनाउन प्रोत्साहित गरिने बजेटमा उल्लेख छ ।यस्तै, हुलाकी राजमार्गआसपासका साना तथा नयाँ सहरमा सहरी पूर्वाधार निर्माण गरिने बजेटमा उल्लेख छ ।