सन्दीपलाई सफाइ : विश्वकप खेलाउने क्यानको तयारी

काठमाडौं जिल्ला अदालतको फैसला उल्टाउँदै उच्च अदालत पाटनले क्रिकेटर सन्दीप लामिछानेलाई बलात्कार मुद्दामा सफाइ दिएको छ

बिहिबार, ३ जेठ, २०८१
डिजिटल संस्करण
सन्दीपलाई सफाइ : विश्वकप खेलाउने क्यानको तयारी

तस्बिर : संजित परियार/नयाँ पत्रिका

जिल्ला अदालतको फैसला उल्टाउँदै राष्ट्रिय क्रिकेट टोलीका पूर्वकप्तान सन्दीप लामिछानेलाई उच्च अदालत पाटनले जबर्जस्ती करणी मुद्दामा सफाइ दिएको छ । सफाइ पाएसँगै खेलमा फर्कन पाउने गरी बुधबार नै राष्ट्रिय क्रिकेट संघ क्यानले उनको निलम्बन फुकुवा गरेको छ । 

उच्च अदालतका न्यायाधीशहरू सुदर्शनदेव भट्ट र अञ्जु उप्रेती ढकालको इजलासले मंगलबारदेखि सुनुवाइ गर्दै जिल्ला अदालतको फैसला उल्टी हुने फैसला गरेको हो । ‘यस मुद्दामा प्रतिवादीलाई सफाइ हुने फैसला भएको छ । जिल्लाको जुन फैसला थियो, त्यो उल्टी हुने भएको छ,’ उच्चका प्रवक्ता विमल पराजुलीले भने । सफाइका आधार अदालतको राय किताबमा लेखिएको छैन । पछि लिखित रूपमा आउने उच्च अदालतले जनाएको छ । 

क्रिकेटर लामिछानेलाई जिल्ला अदालत काठमाडौंले गत १३ पुसमा कसुरदार ठहर गरेकोमा न्यायाधीश शिशिरराज ढकालको इजलासले २५ पुसमा सजाय निर्धारण गर्दै लामिछानेलाई आठ वर्ष कैद तथा तीन लाख रुपैयाँ जरिवाना तोकेको थियो । साथै, प्रतिवादीले पीडितलाई थप दुई लाख रुपैयाँ क्षतिपूर्ति भराइदिनसमेत आदेश गरेको थियो । यसैविरुद्ध लामिछानेले उच्चमा पुनरावेदन गरेका थिए । न्यायाधीश ढकालको इजलासले वादी बालिग रहेको भन्दै त्यसैअनुसार सजाय निर्धारण गरेको थियो । 

फैसलापछि लामिछानेले आफूलाई फसाइएको बताउँदै अब क्रिकेटमै फर्किने बताए । ‘धेरै तरिकाले फसाएर नभएको अपराधमा दोषी करार गरिएको थियो । अन्त्यमा हामी यहाँ आइपुगेका छौँ । यो फैसलाको सम्मान गर्छु,’ उनले भने । नेपाली क्रिकेटलाई आफूले माथि पुर्‍याउने उनको भनाइ थियो । अदालतअगाडि ठूलो संख्यामा उनका समर्थक भेला भएका थिए । 

जिल्लाले करणी लेनदेन भएको भन्दै असमान हैसियतमा भएको उक्त कार्यलाई मञ्जुरी मान्न नमिल्ने फैसला गरेको थियो । प्रतिवादी लामिछानेले नै पटक–पटक वादीलाई सम्पर्क गरेको देखिएको भन्दै सामान्य क्रमले हेर्दा प्रतिवादीको मनसाय पीडितसँग करणी गर्नु नै रहेको निष्कर्ष जिल्ला अदालतको थियो । साथै, पीडितले प्रतिवादीलाई फसाउनुपर्ने कारण नरहेको भन्दै घटना भएको ठहर गरेको थियो । 

एसइई दिएकी पीडित र २२ वर्षे लामिछानेबीच उमेर, आर्थिक र पारिवारिक हैसियतलगायतका विविध विषय समान नरहेको फैसलामा थियो । यसरी राष्ट्रिय तथा अन्तर्राष्ट्रिय ख्याति कमाएका लामिछानेको युवतीसँग थुप्रै विषयमा असमानता रहेको भन्दै यस्तोमा दिइएको मञ्जुरीलाई स्वतन्त्र मान्न नमिल्ने न्यायाधीश ढकालको ठहर थियो । 

प्रतिकार नगरेको मात्र कारणले करणीमा मञ्जुरी रहेको मान्न नमिल्ने न्यायाधीश ढकालको इजलासले फैसलामा उल्लेख गरेको थियो । एक पक्षबाट भौतिक बल प्रयोग भएमा वा बल प्रयोग गर्ने धम्की दिएको अवस्थामा, अर्को पक्ष अचेत रहेको वा शारीरिक रूपमा अशक्त रहेको अवस्थामा प्रतिकार नगरी समर्पण गर्नुपर्ने अवस्था हुन सक्ने भन्दै यसलाई मञ्जुरी मान्न नमिल्ने फैसलामा थियो । 

क्लोज क्याम्पमा रहेको र भोलिपल्ट विदेश जानुपर्ने लामिछानेले आफूलाई छुट्याइएको हाताय प्लेसको कोठामा नबसी राति पीडितलाई होटेलमा लिएर जानु, पीडित बसेको कोठामा बस्नुजस्ता क्रियाकलापले प्रतिवादी लामिछानेको मनसाय नै पीडितसँग करणी गर्नु रहेको अदालतको ठहर छ । ‘प्रतिवादी र पीडितका बीचमा स्न्यापच्याटमार्फत चिनजान भएको एक साता पनि भएको देखिँदैन । पीडित र प्रतिवादीबीचमा कुनै किसिमको नाता–सम्बन्ध रहेको देखिँदैन । निजहरू प्रेम सम्बन्धमा रहेको अवस्था पनि देखिँदैन । प्रतिवादी र पीडित प्रत्यक्ष रूपमा घटना हुनुभन्दा अगाडि भेट भएको भन्ने अवस्था पनि देखिँदैन । मिसिल संलग्न कल डिटेल्स रिपोर्ट हेर्दा प्रतिवादी पक्षबाट नै धेरैपटक सम्पर्क गरेको देखिन्छ,’ फैसलामा छ । 

महानगरीय प्रहरी वृत्त गौशालामा २१ भदौ २०७८ मा लामिछानेले बलात्कार गरेको भन्दै किटानी जाहेरी परेको थियो । जाहेरीअनुसार ५ भदौ २०७९ मा पीडित भेट्न जाँदा उनलाई नगरकोट लगेको र फर्केर काठमाडौं आउँदा दुवैजना एउटै कोठामा बसेको युवतीको भनाइ थियो । यसै क्रममा लामिछानेले आफूमाथि राति जबर्जस्ती करणी गरेको दाबी पीडितको थियो । 

विश्वकप खेलाउने क्यानको तयारी

उच्च अदालत पाटनले बलात्कार मुद्दामा निर्दाेष रहेको फैसला गरेसँगै नेपाल क्रिकेट संघ (क्यान)ले सन्दीप लामिछानेलाई सबैखाले क्रिकेट गतिविधिबाट निलम्बन फुकुवा गरेको छ । अध्यक्ष चतुरबहादुर चन्दले सन्दीपको निलम्बन फुकुवा भएको र विश्वकपमा टिममा समावेश गर्ने तयारी रहेको बताए । आइसिसीको नियमअनुसार मे २५ सम्म कुनै पनि टोलीले खेलाडी परिवर्तन गर्न सक्छ । सोहीअनुसार अमेरिकामा रहेको १५ सदस्यीय टोलीबाट एक खेलाडीको नाम फिर्ता लिँदै सन्दीपको नाम पठाउने योजना क्यानको छ । 

यसअघि काठमाडौं जिल्ला अदालतमा सन्दीपविरुद्ध बलात्कार मुद्दा दर्ता भएपछि क्यानले २३ भदौ ०७९ मा उनलाई राष्ट्रिय टोलीबाट निलम्बन गरेको थियो । २८ पुसमा २० लाख धरौटीमा थुनामुक्त भएपछि सन्दीप पुनः अन्तर्राष्ट्रिय क्रिकेटमा फर्किएका थिए । क्यानले १६ माघमा निलम्बन फुकुवा गरेको थियो । १५ फागुनमा सर्वाेच्च अदालतबाट अनुमतिसहित विदेशमा खेल्न जान पाएका थिए ।  १३ पुस ०८० मा जिल्ला अदालत काठमाडौंबाट बलात्कार मुद्दामा दोषी ठहर भएपछि क्यानले २६ पुसमा अनिश्चितकालका लागि राष्ट्रिय टोलीबाट निलम्बन गरेको थियो । अब भने सन्दीपलाई अन्तर्राष्ट्रिय खेलमा सहभागी हुन बाटो खुलेको छ । 

फिटनेस र आइसिसीको सहमति कुर्छाैँ : चतुरबहादुर चन्द, अध्यक्ष, क्यान 

सन्दीपको निलम्बन फुुकुवा गरिएको छ । विश्वकप टोलीमा समावेश गर्ने/नगर्नेबारे छलफलमै छौँ । आइसिसी, क्यानको छनोट कमिटी तथा राष्ट्रिय टोलीका कप्तान र कोचसँग समन्वय गरेर काम गर्छौं । जे गर्छाैँ, आइसिसीको मापदण्डमा टेकेर मात्रै गर्छाैँ । सन्दीप फिट छ कि छैन, त्यो पनि हेर्नुपर्‍यो । छनोट कमिटीले कोच र कप्तानसँग कुरा गर्छ । सबैसँग सहकार्य गरिरहेका छौँ । सबै कुरा मिल्दै गए सन्दीप विश्वकप खेल्ने १५ सदस्यीय टोलीमा हुनेछन् ।

See More On

सुझावित समाचार