उद्योग संगठन मोरङको मानव संसाधन सम्मेलन सुरु

शनिबार, २९ बैशाख, २०८१
डिजिटल संस्करण

सम्मेलनमा भारतका बहुराष्ट्रिय कम्पनीहरूले मानव संसाधनका क्षेत्रमा काम गरेका प्रयास, अनुभव र प्रविधिको विषयमा छलफल हुने

औद्योगिक क्षेत्रको जनशक्तिलाई क्षमता वृद्धिमा सघाउ पुर्याउने उद्देश्यले उद्योग संगठन मोरङको आयोजनामा दुईदिने मानव संसाधन सम्मेलन सुरु भएको छ । 

सुनसरी मोरङ औद्योगिक करिडोरमा रहेको उद्योगका सञ्चालक, व्यवस्थापक, बहुराष्ट्रिय कम्पनीका मानव संसाधन प्रमुख, विश्वविद्यालयका प्राज्ञिकवर्ग, विकास साझेदार संस्थाहरू आइएलओ, स्विस विकास सहयोग, जर्मन सहयोग, इन्स्योर हेल्भेटास, एनभिक्युएसलगायत एक सय ५० भन्दा बढीले कार्यपत्रमार्फत बहस गर्ने कार्यतालिका छ ।

विभिन्न ११ वटा सेसन रहेको सम्मेलनमा भारतका बहुराष्ट्रिय कम्पनीहरूले मानव संसाधन विकासको क्षेत्रमा काम गरेका प्रयास र अनुभव, प्रविधिको विकासले मानव संसाधनको क्षेत्रमा पारेको प्रभाव, उपलब्धि र यसको सदुपयोगका विषयमा समेत छलफल हुने संगठनले जनाएको छ ।

त्यसैगरी, दक्ष जनशक्ति विकासमा उद्योगको भूमिका, औद्योगिक प्रशिक्षार्थीले मानव संसाधनका क्षेत्रमा गर्न सक्ने  योगदान, अन्तर्राष्ट्रिय मापदण्ड परिपालन गर्न अपनाउनुपर्ने गुणस्तरीय व्यवस्थापन प्रणाली, मूल्य अभिवृद्धि शृंखला विकासमा उद्योगमा कार्यरत जनशक्तिको भूमिकालगायतका विषयमा कार्यपत्र प्रस्तुति हुने संगठनका अध्यक्ष राकेश सुरानाले जानकारी दिए ।

सम्मेलनको उद्घाटन गर्दै अध्यक्ष सुरानाले स्थानीय उद्योग–व्यवसायमा कार्यरत जनशक्तिको क्षमता विकास गरी उत्पादकत्व वृद्धि र औद्योगिक वातावरण निर्माणमा सम्मेलनले सहयोग पुग्ने विश्वास व्यक्त गरे । उनले वैदेशिक रोजगारी मात्र नभई स्वदेशी उद्योग–व्यवसायमा समेत सम्मानजनक काम गर्ने वातावरण तयार गर्न र रोजगारीका नयाँ अवसर सिर्जना गर्न आवश्यक रहेको बताए ।

बौद्धिक वर्गलाई उद्योग–व्यवसाय क्षेत्रमा काम गर्ने राम्रो वातावरण रहेको सन्देश दिने गरी बहुराष्ट्रिय कम्पनी र मुलुकभित्रकै प्रतिष्ठित घरानाले गरेका अभ्यासहरूको अनुभव आदान–प्रदानसमेत गरिने उनले जानकारी दिए ।

कार्यक्रममा काठमाडौं विश्वविद्यालयका प्रा.डा. भोला थापाले औद्योगिक जनशक्ति विकासका लागि उद्योग र एकेडेमिक क्षेत्रको सहकार्य आवश्यक रहेको बताए । उनले अर्थतन्त्रलाई चलायमान बनाउन, आर्थिक समृद्धि प्राप्त गर्न दक्ष जनशक्ति आवश्यक रहेको औँल्याउँदै पाठ्यक्रम विकासका क्रममा विश्वविद्यालयलाई निजी क्षेत्रको सुझाव आवश्यक हुने बताए ।

See More On

सुझावित समाचार