सुदूरपश्चिम प्रदेशमै पहिलो एपिएफ स्कुल सञ्चालन

मंगलबार, २५ बैशाख, २०८१
डिजिटल संस्करण

सुदूरपश्चिम प्रदेशमै पहिलोपटक सशस्त्र प्रहरी बल नेपालले विद्यालय सञ्चालनमा ल्याएको छ। सशस्त्र प्रहरी बलले कञ्चनपुरको शुक्लाफाँटा नगरपालिका– ५ झलारीपिपलाडीमा ‘नेपाल एपिएफ स्कुल’ सञ्चालनमा ल्याएको हो । सशस्त्र प्रहरी बल नेपाल कल्याणकारी कोषले चालू शैक्षिक सत्र ०८१ देखि प्रदेशमै पहिलो आधारभूत तहको विद्यालय सञ्चालनमा ल्याएको छ। 

सोमबार एक कार्यक्रमबीच उक्त एपिएफ विद्यालयको उद्घाटन गरिएको छ । सशस्त्र प्रहरी महानिरीक्षक (आइजिपी) राजु अर्यालले विद्यालयको उद्घाटन गर्दै देशका लागि चाहिने दक्ष जनशक्ति उत्पादन गर्ने प्रतिबद्धता जाहेर गरेका छन् । सशस्त्र प्रहरीले कञ्चनपुरसहित देशभरका चार स्थानमा विद्यालय सञ्चालन गरेको बताउँदै एपिएफ स्कुलबाट भावी दिनमा देशलाई चाहिने जनशक्ति उत्पादन गरिने बताए। 

‘एपिएफ विद्यालयमा अध्ययन गरेका विद्यार्थी भावी दिनमा देशको नेतृत्व सम्हाल्नेदेखि नैतिकवान, असल जिम्मेवार नागरिक बन्नुपर्छ,’ आइजिपी अर्यालले भने, ‘सोहीअनुरूप विद्यालय सञ्चालन गर्दै गुणस्तरीय शिक्षामा केन्द्रित हुनुहोला ।’ आइजिपी अर्यालले आफू डिआइजी हुँदा सुदूरपश्चिम क्षेत्रको अनुगमनका क्रममा सशस्त्र प्रहरी कर्मचारीबाट माग भएबमोजिम आफू आइजिपी हुँदा पूरा गरेको र विद्यालय सञ्चालनमा आ–आफ्नो क्षेत्रबाट सक्दो सहयोग गर्न निर्देशन दिएका छन् । 

नेपाल एपिएफ स्कुल झलारीका सशस्त्र प्रहरी उपरीक्षक (एसपी) प्रेम रावलले कक्षा चारमा ३३ र कक्षा पाँच मा ७२ गरी पहिलो वर्ष एक सय पाँच विद्यार्थी भर्ना भएको बताए । छात्र ९२ र छात्रा १३ जना रहेका छन् । संगठनको योजनाअनुरूप विद्यालयमा सशस्त्र प्रहरी बलका कर्मचारीका सन्तान एवं सर्वसाधारणका सन्तान अध्ययनरत छन् ।

विद्यालयले गुणस्तरीय शिक्षा, अनुशासन, नैतिकवान विद्यार्थी उत्पादन गर्ने लक्ष्य अघि सारेको एसपी रावलले बताए । १८ वैशाखदेखि नियमित कक्षा सञ्चालन भएका छन् । विद्यालयमा हाल ६ जना शिक्षक–शिक्षिका कार्यरत छन् । आगामी वर्षदेखि कक्षा थप हुँदै जाने एपिएफ विद्यालयले जनाएको छ । हाल विद्यालय सशस्त्र प्रहरी बल ३५ नम्बर गणकै भवनमा सञ्चालन भएको छ । विद्यार्थीलाई बसोवासदेखि खानपिनको व्यवस्थासँगै जिल्लामै पहिलोपटक एपिएफले विद्यालय सञ्चालन गरेपछि अभिभावकसमेत हर्षित भएका छन् । 

सुझावित समाचार