राखेपलाई एन्फाको जवाफ : मन्त्रीकै निर्देशनमा पदाधिकारीलाई बहराइन पठाइएकोे हो

आइतबार, २५ चैत, २०८०
डिजिटल संस्करण

अनुमतिविना नै पदाधिकारीको जम्बो टोली अफिसियलका रूपमा बहराइन पठाएको भन्दै गत ३० फागुनमा खेलकुद मन्त्रालयले एन्फालाई कारबाही गर्न राखेपलाई निर्देशन दिएको थियो । एन्फा महासचिव किरण राईले मन्त्रीकै निर्देशनमा टोली पठाइएको स्पष्टीकरण दिएका छन् ।

अखिल नेपाल फुटबल संघ (एन्फा)ले खेलकुदमन्त्री विराजभक्त श्रेष्ठको निर्देशनमै नेपाली टोलीसँगै आठजना अफिसियल बहराइन पठाएको राष्ट्रिय खेलकुद परिषद (राखेप)लाई स्पष्टीकरण दिएको छ । गत ३० फागुनमा राखेपको अनुमतिविना नै नेपाली टोलीसँगै अनावश्यक रूपमा पदाधिकारीको जम्बो टोलीलाई पठाउन लागेपछि मन्त्री श्रेष्ठले एन्फालाई कारबाही गर्न राखेपलाई निर्देशन दिएका थिए । तर, मन्त्री श्रेष्ठकै निर्देशनमा आठ अफिसियललाई बहराइन पठाएको एन्फाका महासचिव किरण राइले राखेपलाई स्पष्टीकरण दिएका छन् । ती पदाधिकारीकोे सबै खर्च बहराइनले व्यहोरेको जानकारीसमेत उनले दिएका छन् । 

राष्ट्रिय खेलकुद विकास ऐन, २०७७ को दफा २८ (झ) मा परिषद्को स्वीकृति लिएर मात्र अन्तर्राष्ट्रिय खेलकुद प्रतियोगितामा सहभागी हुनुपर्ने कानुनी व्यवस्था छ । तर, एन्फाले १ चैतमा एन्फाले बहराइन जान थप ११ जनाको नाम सिफारिससहित स्वीकृति मागेको थियो । राखेपले एन्फाका आठ अफिसियललाई बहराइनमा ८ र १३ चैतमा बहराइनविरुद्धको विश्वकप छनोट खेलका लागि पठाउने स्वीकृति दिएको थियो । 

‘युवा तथा खेलकुद मन्त्रालय र परिषद्मा स्वीकृति तथा जानकारीका लागि पत्राचार गरिएकोमा खेलकुद मन्त्रीज्यूको सचिवालयमा भएको छलफलपश्चात संघले सिफारिस गरेका ९ पदाधिकारीमध्ये एकजना हटाई आठजना पदाधिकारीलाई जिम्मेवावरीसहित बहराइन पठाउन परिषद्मा समन्वय गरिएको थियो’, राईले हस्ताक्षरसहित खेलकुद मन्त्रालय, राखेप, राखेप संघ–संस्था समन्वय शाखा, राखेप खेलकुद विकास विभाग र सूचना अधिकारीलाई बोधार्थ बनाएर स्पष्टीकरण दिएका छन् । 

खेलकुद मन्त्रालयले ३० फागुनमा अनुमति नलिई फुटबल टोली मलेसिया पठाएपछि एन्फालाई कारबाही गर्न राखेपलाई निर्देशन दिएको थियो । एन्फाले भागबन्डा मिलाउन ११ जनालाई अफिसियल बनाएर बहराइन पठाउन राखेपसँग स्वीकृति मागेको थियो । तर, राखेपले ११ मध्ये एक डाक्टर र पत्रकारलाई मात्रै स्विकृत दियो । राखेपले बाँकी नौजनालाई स्विकृत दिइएन । मलेसिया पुगेको को–को र बहराइन जाने को–को भन्ने राखेले एन्फासँग प्रश्न गरेको थियो । एन्फाको पहिलो जवाफ चित्त बुझ्दो नभएपछि राखेपले दोस्रोपटक जवाफ मागेको थियो । बहराइन गएका आठ जनालाई राखेपले स्विकृत नदिएको राखेप संघ संस्था समन्वय शाखा प्रमुख चन्द्र राईले नयाँ पत्रिकालाई बताएका थिए । 

तर, एन्फाले मन्त्रालयको निर्देशनसँगै नौमध्ये आठ पदाधिकारीलाई बहराइन पठाएको दावी गरेपछि आवश्यक कारबाही गर्न मन्त्रालयले राखेपलाई पटक–पटक पत्राचार गरेको थियो । मन्त्रालयले कारबाहीको दबाब दिएपछि राखेपले एन्फासँग पुनः स्पष्टीकरण सोधेको हो । राखेपले एन्फाको जवाफ चित्तबुझ्दो नरहेको बताउँदै आएको थियो । एन्फाका महासचिव राईले ३० फागुनमा पत्र लेख्दै राखेपलाई जानकारी गराएका थिए । उनले राखेपबाट प्राप्त सचेत पत्रलाई एन्फाले गम्भीरतापूर्वक ग्रहण गरी महसुस गरेको बताएका छन् । राईले बहराइनसँग खेल्नुअघि नै टोली मलेसियाविरुद्ध अभ्यास खेलका लागि पुगेकाले स्वीकृति लिन असम्भव भएको प्रस्ट पारेका छन् । ‘बहराइनसँग हुने खेल तयारीस्वरूप मलेसियामा अभ्यासका लागि प्रस्थान गरिसकेको र मलेसियाबाट नै बहराइन प्रस्थान गर्ने कार्यक्रम रहेकोले राखेपबाट स्वीकृति लिन असम्भव रहेको कुरा प्रस्ट पार्न चाहन्छु,’ राईले भनेका छन् । 

टोलीको खर्च बहराइनले नै व्यहोर्ने
महासचिव राईले बहराइन पुगेको टोलीको सबै खर्च बहराइनले व्यहोर्ने प्रस्ट पारेका छन् । राईले राखेपलाई लेखेको पत्रमा बहराइन जाने टोलीको आर्थिक भार नेपाल सरकार र एन्फालाई नपर्ने पनि बताए । ‘आर्थिक व्ययभारको सन्दर्भमा नेपाल सरकार र एन्फालाई पदाधिकारीको आर्थिक भार नपर्ने र मित्र राष्ट्रहरूबाट नै व्यहोर्ने कुरा स्पष्ट गर्न चाहन्छु,’ उनले भनेका छटन् । तर, राईले बहराइन र मलेसिया दुवै देशको खर्च एन्फाले व्यहोर्नुपर्ने कि नपर्ने प्रस्ट पारेका छैनन् । उल्टै सम्पूर्ण तयारी भइसकेको अवस्थामा पदाधिकारीलाई त्यसतर्फ नपठाउँदा देशकै बदनामी हुने र अन्तर्राष्ट्रिय समुदायमा नराम्रो असर गर्ने उत्तर दिएका छन् । 

राईमाथि भ्रष्टाचारको उजुरी 
गोरखा जिल्ला सदस्य अमित खत्रीले एन्फा महासचिव राईमाथि भ्रष्टाचार र अनियमितता गरेको‌ आरोप लगाएका छन् । राईले एन्फाभित्र ठूलो भ्रष्टाचार र अनियमितता गरेको भन्दै खत्रीले सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागमा छानबिनको माग गर्दै उजुरी दर्ता गराएका छन् । खत्रीले एन्फामा भ्रष्टाचार र बेथिति व्याप्त रहेकोले नेपालमा फुटबल खेलको भविष्य नदेखेर दिनहुँ खेलाडी बिदेसिन बाध्य भएको उल्लेख गर्दै उजरी दिएका हुन् । ‘एन्फाका महासचिव राईले होटेल सोल्टी, केटिएम सिटी, केल्मीलगायत विभिन्न मार्केटिङ एन्ड टिकेटिङ कम्पनीबाट लाखौँ रुपैयाँ कमिसन खाई अस्वाभाविक जीवन यापन गरेको र काठमाडौंमा घरघडेरी जोडेको भन्ने जानकारी प्राप्त हुन आएकाले निजले घरघडेरी जोडेको हो भने निजको सम्पत्तिको स्रोत के हो ? सोसमेत पहिचान गरी छानबिन गरी कारबाही गर्न अनुरोध गर्दछु,’ खत्रीले लेखेका छन् । 

सुझावित समाचार