वैदेशिक अध्ययनमा सात महिनामा बाहिरियो ६६ अर्ब ६४ करोड

गत आवको सोही अवधिभन्दा २२ अर्ब ९० करोड अर्थात ५२.३ प्रतिशत बढी बाहिरियो

बुधबार, २१ चैत, २०८०
डिजिटल संस्करण
वैदेशिक अध्ययनमा सात महिनामा बाहिरियो ६६ अर्ब ६४ करोड

सानोठिमीस्थित वैदेशिक अध्ययन अनुमतिपत्र कार्यालयमा एनओसी लिन लाइन लागेका विद्यार्थी । फाइल तस्बिर

वैदेशिक अध्ययनमा जाने विद्यार्थीबाट पछिल्लो सात महिनामै ६६ अर्ब ६४ करोड रकम बाहिरिएको छ । चालू आवको माघ मसान्तसम्म गत वर्षको भन्दा २२ अर्ब ९० करोड बढी रकम बाहिरिएको छ । यो तथ्यांक गत वर्षको सोही अवधिको भन्दा ५२.३ प्रतिशतले बढी हो ।

चालू आर्थिक वर्षको माघ मसान्तसम्म ६९ हजार तीन सयले एनओसी लिएका छन् । गत वर्ष (०७९) माघ मसान्तसम्म ५१ हजार ८१६ जना विद्यार्थीले एनओसी लिएका थिए । विद्यार्थी संख्या बढेसँगै वैदेशिक अध्ययनका लागि बाहिरिने रकम पनि बढेको हो । 

राष्ट्र बैंकका सहप्रवक्ता डा. डिल्लीराम पोख्रेलका अनुसार गत वर्षभन्दा यस वर्ष विदेश जाने विद्यार्थीको संख्या बढी छ । सोही कारण बिदेसिने मुद्रा पनि बढेको हो । ‘गत वर्षको सात महिना र चालू आवको सात महिनासम्मको तथ्यांकलाई तुलना गर्दा ५२.३ प्रतिशत बढी रकम बाहिरिएको छ । यो वर्ष धेरै रकम बाहिरिने अनुमान छ,’ उनले भने । 

प्रतिमहिना ९–१० अर्ब रकम विद्यार्थीबाट बाहिरिने गरेको राष्ट्र बैंकको आकलन

उनले अध्ययनका लागि विदेश गएका विद्यार्थीबाट सुरुको समयमा मुद्रा बाहिरिए पनि सो मुद्रा रेमिटरयान्सको माध्यम हुँदै फिर्तासमेत हुने गरेको बताए । विद्यार्थीले पढ्दै कमाउँदै गरेको पैसा रेमिट्यान्समार्फत पठाउने भएकोले बिदेसिएको रकमले खासै अर्थ नराख्ने सहप्रवक्ता डा. पोख्रेलको भनाइ छ । ‘विश्वव्यापीकरणको यो समयमा मुद्रा र जनशक्ति बिदेसिनु ठूलो विषय होइन, तर रेमिट्यान्स पनि बढ्नुपर्यो,’ उनले भने । 

पछिल्लो फागुनभरि र चैत्र महिनाको १५ गतेसम्म कति रकम बाहिरियो भन्ने तथ्यांक राष्ट्र बैंकले अझै तयार पारेको छैन । तर, औसतमा हेर्दा प्रतिमहिना ९/१० अर्ब रकम विद्यार्थीबाट बाहिरिने गरेको राष्ट्र बैंकको आकलन छ । राष्ट्र बैंकले अध्ययनमा गएका विद्यार्थीबाट फागुनमा कति मुद्रा बाहिरियो भन्ने तथ्यांक केही दिनमै सार्वजनिक गर्ने सहप्रवक्ता डा. पोख्रेलले बताए । 
दुई साताअघिसम्म एनओसी कार्यालयका सेवाग्राहीको अत्यधिक भिडभाड थियो । समयमै एनओसी लिन नपाएपछि विद्यार्थी तनावमा हुन्थे । तर, एक सातायता भने कार्यालयको सेवा प्रवाहमा सुधार आएको छ । 

 मध्यचैतसम्म ८५ हजारले लिए एनओसी  
वैदेशिक अध्ययन अनुमति शाखा (एनओसी) कार्यालयका अनुसार गत वर्षको तुलनामा यस वर्ष बिदेसिने विद्यार्थीको संख्या पनि धेरै हुने अनुमान छ । गत आर्थिक वर्षमा एक लाख १० हजार विद्यार्थी बिदेसिएका थिए । चालू आर्थिक वर्षको १४ चैतसम्म ८५ हजार पाँच सय विद्यार्थीले एनओसी लिएका छन् । 

चालू आर्थिक वर्षको अझै साढे तीन महिना अवधि बाँकी रहेकाले गत वर्षभन्दा यस आर्थिक वर्षमा बढीले एनओसी लिने एनओसी कार्यालयको अनुमान छ । कार्यालयका प्रमुख वासुदेव वस्तीका अनुसार यस आर्थिक वर्षमा सबैभन्दा बढी विद्यार्थी जापान गएका छन् ।

जहाँका लागि ३५ हजार विद्यार्थीले एनओसी लिएका छन् । त्यसपछि अस्ट्रेलिया, क्यानडा, युएसएलगायत देशका लागि एनओसी लिने विद्यार्थीको संख्या बढी देखिन्छ । ‘गत वर्षको भन्दा यस वर्ष एनओसी लिनेको संख्या बढी हुने देखिन्छ,’ कार्यालय प्रमुख वस्तीले भने, ‘यस वर्ष जापान जाने विद्यार्थीको संख्या अत्यधिक छ ।’  

सुझावित समाचार