आठ महिनामा दुई खर्ब १८ अर्ब ऋण प्राप्ति, पुँजीगत खर्च ८१ अर्ब मात्रै

आइतबार, ११ चैत, २०८०
डिजिटल संस्करण

सार्वजनिक ऋण प्राप्तिसँगै ऋण सेवामा हुने खर्च बढ्दो, पुँजीगत खर्चमा सुधार भएन

सरकारले सार्वजनिक ऋणको प्रयोग पुँजी निर्माण नहुने क्षेत्रमा बढी गरेको देखिएको छ । ऋणको प्रयोग पुँजी एवं विकास निर्माणमा मात्रै गर्नुपर्ने आफ्नै नीतिविपरीत सरकारले ऋण उठाएर चालू प्रकृतिका कार्यमा बढी खर्च गरिरहेको तथ्यांकले देखाउँछ ।

चालू आर्थिक वर्षको आठ महिनामा सरकारले पुँजी निर्माणमा गरेको खर्चभन्दा तीन गुणा बढी ऋण उठाएको तथ्यांकले नै देखाउँछ । सार्वजनिक ऋण व्यवस्थापन कार्यालयका अनुसार फागुन मसान्तसम्म सरकारले दुई खर्ब १८ अर्ब ८६ करोड सार्वजनिक ऋण प्राप्त गरेको छ । जबकि यही अवधिमा पुँजीगत खर्च भने ८१ अर्ब २१ करोडबराबर मात्रै भएको महालेखा नियन्त्रक कार्यालयको तथ्यांक छ । प्राप्ति गरेको ऋणभन्दा पुँजीगत खर्च एकतिहाइ मात्रै हुनुले ऋण उठाएको रकम ऋणकै साँवा–ब्याज भुक्तानी र चालू प्रकृतिका कार्यमा खर्च भइरहेको देखाउँछ । 

सरकारले चालू आर्थिक वर्षमा दुई खर्ब ४० अर्ब आन्तरिक र दुई खर्ब १२ अर्ब रुपैयाँ वैदेशिक गरी कुल चार खर्ब ५२ अर्ब रुपैयाँ सार्वजनिक ऋण परिचालन गर्ने लक्ष्य लिएको छ । जबकि, चालू आवका लागि पुँजीगततर्फको बजेट भने तीन खर्ब दुई अर्ब सात करोड रुपैयाँबराबरको रहेको छ । चालू आर्थिक वर्षको लक्ष्यअनुसार प्राप्त र खर्च भएमा सरकारले गर्ने पुँजीगत खर्चभन्दा ऋणको प्राप्ति एक खर्ब ५० अर्बले बढी हुनेछ । 

यस अवधिमा सरकारले पुँजीगततर्फभन्दा ऋण सेवामा बढी खर्च गरेको देखिन्छ । यस अवधिमा साँवातर्फ एक खर्ब २६ अर्ब तीन करोड र ब्याजतर्फ ४९ अर्ब ४७ करोड गरी ऋण सेवामा कुल एक खर्ब ७५ अर्ब ५० करोड खर्च गरेको छ । ऋण सेवामा भएको यो खर्च पुँजीगततर्फको भन्दा ९४ अर्ब २९ करोड रुपैयाँले बढी हो ।

ऋण र ऋण सेवामा हुने खर्च बढे पनि पुँजीगत खर्चमा भने सरकारले अपेक्षित सुधार गर्न सकेको छैन । शुक्रबारसम्ममा सरकारले ८७ अर्ब ३० करोड रुपैयाँ पुँजीगत खर्च गर्न सकेको छ । जुन विनियोजित कुल पुँजीगत बजेटको २८.९ प्रतिशत मात्रै हो । चालूतर्फ भने विनियोजित बजेटको ५२.३ प्रतिशत अर्थात् पाँच खर्ब ९७ अर्ब रुपैयाँ खर्च गरिसकेको छ । 

अर्थशास्त्री प्रा.डा. चन्द्रमणि अधिकारी सार्वजनिक ऋणको परिचालन पुँजी निर्माण नहुँदा त्यसले भविष्यमा जोखिम निम्त्याउन सक्ने बताउँछन् । उनले ऋण र ऋण सेवामा हुने खर्च वृद्धिको तुलनामा पुँजीगत खर्च कम हुनु अर्थतन्त्रका लागि हानिकारक हुने बताए । ‘हरेक नीति कार्यक्रम र बजेटमा ऋणलाई पुँजी निर्माण र विकासका कार्यमा मात्रै लगाइने उद्घोष गरिँदै आएको छ, तर त्यसको कार्यान्वयन भने भएको देखिँदैन,’ उनले भने, ‘ऋणलाई चालू खर्चमा प्रयोग गर्ने तथा ऋण तिर्नका लागि ऋण नै लिने अवस्था र प्रवृत्तिले अर्थतन्त्रलाई सही दिशामा लैजाँदैन, यसमा सुधार आवश्यक छ ।’

सार्वजनिक ऋण २३ खर्ब ८८ अर्ब पुग्यो 
नेपालले भुक्तानी गर्नुपर्ने सार्वजनिक ऋण पौने २४ खर्ब पुगेको छ । फागुन मसान्तसम्ममा आन्तरिक ऋण ११ खर्ब ८५ अर्ब ५२ करोड र बाह्य ऋण १२ खर्ब दुई अर्ब ७३ करोड गरी कुल सार्वजनिक ऋण २३ खर्ब ८८ अर्ब २६ करोड रुपैयाँबराबर पुगेको हो । गएको असार मसान्तसम्ममा सरकारले तिर्न बाँकी ऋण २२ खर्ब ९५ अर्ब ४३ करोड रुपैयाँबराबर रहेको थियो । यो आठ महिनामा सरकारले दुई खर्ब १८ अर्ब ८६ करोड ऋण लिँदा एक खर्ब २६ अर्ब तीन करोड साँवा फिर्ता गरेको छ ।

यसबाट ९२ अर्ब ८३ करोड ऋण दायित्व बढेको देखिन्छ । चालू आवमा नेपालको सार्वजनिक ऋण २५ खर्ब ५६ अर्ब पुग्ने अनुमान गरिएको छ । सरकारको वार्षिक बजेटले चालू आवको अन्त्यसम्ममा आन्तरिक ऋण ११ खर्ब ८४ अर्ब नौ करोड र बाह्य ऋण १३ खर्ब ७२ अर्ब ८८ करोड पुग्ने अनुमान गरेको छ ।

See More On

सुझावित समाचार