अरविन्द केजरिवाल : भ्रष्टाचारको मुद्दामा उदाए, भ्रष्टाचारकै आरोपमा तानिए

लोकसभा निर्वाचनको पूर्वसन्ध्यामा भएको केजरिवालको गिरफ्तारी भारतीय राजनीतिमा बन्यो ठूलो मुद्दा

शनिबार, १० चैत, २०८०
डिजिटल संस्करण

भ्रष्टाचारविरोधी आन्दोलनबाट उदाएर दशक अगाडि राजनीतिक मैदानमा उत्रेका आम आदमी पार्टी (आप)का संयोजक तथा दिल्लीका मुख्यमन्त्री अरविन्द केजरिवालको पद भ्रष्टाचारकै आरोपले संकटमा परेको छ । मदिरा नीति घोटाला मामलामा बिहीबार राति पक्राउ परेका केजरिवाल न्यायालयले २८ मार्चसम्म प्रवर्तन निर्देशनालय (इडी)को हिरासतमा राख्न अनुमति दिएको छ । 

केजरिवाललाई इडीले शुक्रबार दिल्लीको हाउज एभेन्यु कोर्ट (जिल्ला अदालत)मा १० दिन म्याद थपका लागि प्रस्तुत गरेको थियो । तर, अदालतले एक साताका लागि मात्र हिरासतमा राखेर अनुसन्धान गर्न अनुमति दिएको छ । लोकसभा निर्वाचनको पूर्वसन्ध्यामा भएको केजरिवालको गिरफ्तारी भारतीय राजनीतिको ठूलो मुद्दा बनेको छ । केजरीवालको विरोधमा आपले देशभर प्रर्दशनको कार्यक्रम तय गरेको छ । 

ईडीले हिरासतमा लिएको २४ घण्टाभन्दा धेरै समय बितिसकेको र म्याद थप समेत भइसक्दा पनि केजरीवालले दिल्लीको मुख्यमन्त्रीको पदबाट भने राजिनामा दिएका छैनन । आपका नेताहरूले केजरीवालले मुख्यमन्त्रीको पदबाट राजिनामा नदिने र जेलबाट नै सरकार चलाउने बताएका छन् । यद्यपी यसबारे पार्टीको औपचारिक निर्णय आउन वाँकी छ । 

केजरीवालको राजीनामाले विशेष दर्जाको मान्यता पाएको राज्य दिल्लीमा संवैधानिक संकट उत्पन्न भए जस्तो देखिएको छ । राज्यमा संवैधानिक संकट आउदा राष्ट्रपति शासन लागु गर्ने विकल्प केन्द्र सरकारसँग रहन्छ । केन्द्र र दिल्ली सरकारवीच कैयौ मुद्दामा तनाव हुँदै आएको छ । 

दिल्लीका पूर्वविधानसभाका सचिव एवं संविधान विद् एसके शर्मा यो विषयमा संविधानले केही नबोलेको बताँउछन । राज्य सरकारका कयौ काममा मुख्यमन्त्रीको उपस्थिती अनिवार्य हुन्छ । मन्त्रिपरिषदको बैठकबाहेक अन्य कयौ समितिको अध्यक्षता पनि मुख्यमन्त्रीले गर्नुपर्ने हुन्छ । साथै, सरकारले कयौ गोपनीय निर्णय पनि लिनु पर्ने हुन्छ जसमा मुख्यमन्त्रीको सहमती एवं उपस्थिती अनिवार्य हुन्छ । यसैले ‘दिल्ली सरकार’ जेलबाट सञ्चातिल हुन नसक्ने शर्माको भनाई छ । ‘संविधानमा सरकार प्रमुख जेल गए भने उनले जेलबाटै सरकार चलाउन सक्ने व्यवस्था पनि छैन,’ दैनिक भाष्करले एसके शर्मालाई उदृत गरेको छ । 

यसबीच, केजरीवालका मन्त्रीहरू भने आफुहरूसँग विधानसभामा पूर्ण बहुमत रहेकोले मुख्यमन्त्रीले राजीनामा नदिने बताइरहेका छन । आपले केजरीवालले राजिनामा दिनुपर्ने अवस्था आएको खण्डमा शिक्षा मन्त्री आतिशी सिंहलाई मुख्य मन्त्रीको अधिकार सुम्पने र उनले दिल्ली सरकार चलाउने योजना बनाएको बताइएको छ । जेलमा रहेका मनिष सिसौदियालाई दिइएका मन्त्रालय पनि अहिले आतिशीले नै सम्हाली रहेकी छन् ।

कतिपय कानुनविद्ले जेलबाट सरकार चलाउन सकिने तर यसमा जेल प्रशासनको भूमिका महत्वपूर्ण हुने मत राख्छन् । ‘कानुनको नजरमा गिरफ्तारी हुनु दोषी सिद्ध हुनु होइन । यसैले गिरफ्तारी हुदैमा उनीबाट राजिनामा आइहाल्नु पर्छ भन्ने छैन । तर जेलबाट सरकार चलाउने कुरा भने धेरैहदसम्म जेलको नियममा निर्भर गर्छ । मुख्यमन्त्रीले भिडियो कन्फ्रेन्सीङका माध्यमबाट पनि क्याबिनेटको बैठक राख्न सक्छन् । तर यसका लागि पनि उनलाई जेल प्रशासनले मन्जुरी दिनुपर्ने हुन्छ’, सर्वाेच्च अदालतका अधिवक्ता विराग गुप्ताले भने ।

अर्का अधिवक्ता एवं संविधानविद् अश्विनी कुमार दुबे यस्तो अवस्थामा राज्य सरकारलाई चलाउन मुख्यमन्त्रीले राजिनमा दिनु पर्ने बताउछन् । ‘यस्तो इमयुनिटी केवल राज्यपाल र राष्ट्रपतिलाई मात्रै हुन्छ । उनीहरूलाई गिरफ्तार गर्न सकिदैन, तर मुख्यमन्त्री माथि कुनै आरोप लाग्छ भने जाँच एजेन्सीले उनलाई जुनसुकै समय गिरफ्तार गर्न सक्छन्’, दुबेले भने । शुक्रवार नै दिल्ली उच्च अदालतमा केजरीवाललाई पदमुक्त गर्न रिट दायर भएको छ । 

संवैधानिक व्यवस्था
भारतको संविधानको ‘धारा २३९ एए’ ले दिल्लीलाई राष्ट्रिय राजधानी क्षेत्रको विशेष दर्जा प्रदान गरेको छ । यही धाराले दिल्ली सरकार सञ्चालनको रुपरेखा पनि प्रस्तुत गर्छ । संविधानअनुसार मुख्यमन्त्रीले राष्ट्रपतिले चाहदाँ सम्ममात्रै पदमा कायम रही काम गर्न सक्छन् । जुनसुकै स्थितीमा पनि राष्ट्रपतिले मुख्यमन्त्रीलाई पदबाट हटाउन सक्छन् । 

राजनीतिक दाउपेचकाबीच यदि दिल्लीका उप–राज्यपालले राष्ट्रपतिलाई गम्भिर आरोपमा गिरफ्तारी हुदाँ समेत केजरीवालले आफ्नो पद परित्याग नगरेको पत्र लेखेमा राष्ट्रपतिले उनलाई पदबाट हटाउन सक्नेछन् । राष्ट्रपतिले मुख्यमन्त्रीलाई अपदस्थ गर्नुको अर्थ दिल्लीमा राष्ट्रपति शासन लागू हुनेछ । यसमा केन्द्रिय गृह मन्त्रालयको भूमिका मुख्य रहन्छ किनकि यी काम गृह मन्त्रालयमार्फत् नै पुरा गर्नुपर्ने हुन्छ । यो मुद्धा विपक्षी गठबन्धन इन्डियाका लागि लोकसभा निर्वाचनको संघारमा भाजपालाई घेर्ने गतिलो मसला हुन सक्छ ।   

पहिले पनि मुख्यमन्त्री जेल गएका थिए 
यसअघि पनि भारतका केही मुख्यमन्त्री जेल गएका थिए । तर, केजरीवालका विपरित जेल जाने निश्चित भएपछि उनीहरूले पदबाट राजिनामा दिएका थिए । सन् १९९६ मा तमिलनाडुकी मुख्यमन्त्री जयललिता अकुत सम्पतीको मामलामा दोषी ठहर भएर जेल गएकी थिइन । अकुत सम्पतीमा दोषी ठहरिए पछि उनले ५ डिसेम्बर, १९९६ मा राजिनामा दिएन । उनलाई ७ डिसेम्बरमा पक्राउ गरी जेल पठाइयो ।

सन् १९९७ मा बिहारका मुख्यमन्त्री लालू प्रसाद यादव चारा घोटालामा दोषि ठहर भए । दोषि ठहर भएपछि लालुले पदबाट राजिनामा दिएर पत्नी राबडी देवीलाई बिहारको मुख्यमन्त्री बनाए । त्यसपछि उनले अख्तियार दुरुपयोग सम्बन्धी अभियोजन गर्ने निकाय लोकायुक्त अदालतसमक्ष आत्मसमर्पण गरेका थिए ।

सन् २०११ मा कर्नाटकका मुख्यमन्त्री बीएस येदियुरप्पा पदबाट राजिनामा गर्दै जेल गएका थिए । उनी जमिनसम्बन्धी घोटालामा मुछिएका थिए । रक्षा भूमि घोटलामा जोडेर यही १६ जनवरीमा झारखन्डका मुख्यमन्त्री हेमन्त सोरेनलाई पनि राजिनामाका लागि बाध्य बनाइयो । राजिनामा लगतै उनलाई गिरफ्तार गरिएको थियो । 

इडीले केजरीवाललाई ‘आबकारी नीति घोटाला’ को मुख्य योजनाकार भएको, ६ अर्ब भन्दा धेरैको घुस लिएर गोवा विधानसभाको चुनावी अभियानमा खर्च गरेकाको जस्ता गम्भिर आरोप लगाएको छ । यो प्रकरण दिल्लीमा नीजि क्षेत्रलाई महिरा विक्रीको लाइसेन्स वितरणसँग जोडिएको छ । 

केजरीवाल पक्राउ परेपछि उनका वकिलहरूले पक्राउ विरुद्ध बिहिवार राती नै सर्वाेच्च अदालत समक्ष निवेदन पेश गरेका थिए । तर, शुक्रवार सुनुवाई हुनु अघि नै सर्वाेच्च अदालतलाई निवेदन फिर्ता गरिदिन अनुरोध गरियो । सर्वाेच्च अदालतबाट निवेदन फिर्ता लिएर तल्लो अदालतमा पेश गरिएको छ । 

केजरीवालको गिरफ्तारीलाई लिएर भाजपा समर्थकहरूले खुसी व्यक्त गरिरहेका छन् भने विपक्षी दलहरूले चर्काे विरोध गर्दै छन् । रोचक के भने कुनै समय केजरीवाललाई खुबै मन पराउने सत्याग्रही अन्ना हजारेले भने यसलाई कर्मको फलका रुपमा चित्रण गरिदिए । ‘कुनै समय मसँग काम गरेका, मदिरा विरुद्ध आवाज बुलन्द गर्ने अरबिन्द केजरीवालले नै अहिले मदिरा नीति बनाइरहेको कुराले म एकदमै मर्माहत छु । उनको गिरफ्तारी उनको आफ्नै कर्मको फल हो’, अन्ना हजारेको टिव्इट छ । 

जेलबाटै सरकार चलाउन सम्भव छ ?
दिल्लीका मुख्यमन्त्री अरविन्द केजरिवालको गिरफ्तारीले राष्ट्रिय राजधानी क्षेत्रको विशेष दर्जाको मान्यता पाएको राज्य दिल्लीमा संवैधानिक संकट उत्पन्न भएजस्तो देखिएको छ । यसैबीच आपका नेताहरूले केजरिवालले मुख्यमन्त्रीको पदबाट राजीनामा नदिने र जेलबाट नै सरकार चलाउने बताएका छन् । यद्यपि, यसबारे पार्टीको औपचारिक निर्णय आउन बाँकी छ । 

दिल्लीका पूर्वविधान सभाका सचिव एवं संविधानविद् एसके शर्मा यस विषयमा संविधानले केही नबोलेको बताउँछन् । राज्य सरकारका कैयौँ काममा मुख्यमन्त्रीको उपस्थिति अनिवार्य हुन्छ । मन्त्रिपरिषद् बैठकबाहेक अन्य कैयौँ समितिको अध्यक्षता पनि मुख्यमन्त्रीले गर्नुपर्ने हुन्छ । साथै, सरकारले कैयौँ गोपनीय निर्णय पनि लिनुपर्ने हुन्छ, जसमा मुख्यमन्त्रीको सहमति एवं उपस्थिति अनिवार्य हुन्छ । यसैले ‘दिल्ली सरकार’ जेलबाट सञ्चालित हुन नसक्ने शर्माको भनाइ छ । ‘संविधानमा सरकार प्रमुख जेल गए भने उनले जेलबाटै सरकार चलाउन सक्ने व्यवस्था पनि छैन,’ दैनिक भास्करले एसके शर्मालाई उद्धृत गर्दै लेखेको छ । 

कतिपय कानुनविद् जेलबाट सरकार चलाउन सकिने, तर यसमा जेल प्रशासनको भूमिका महत्वपूर्ण हुने मत राख्छन् । ‘कानुनको नजरमा गिरफ्तारी हुनु दोषी सिद्ध हुनु होइन । यसैले गिरफ्तारी हुँदैमा उनीबाट राजीनामा आइहाल्नुपर्छ भन्ने छैन । तर, जेलबाट सरकार चलाउने कुरा भने धेरै हदसम्म जेलको नियममा निर्भर गर्छ । मुख्यमन्त्रीले भिडियो कन्फ्रेन्सिङका माध्यमबाट पनि क्याबिनेट बैठक राख्न सक्छन् । तर, यसका लागि पनि उनलाई जेल प्रशासनले मञ्जुरी दिनुपर्ने हुन्छ,’ सर्वाेच्च अदालतका अधिवक्ता विराग गुप्ताले भने । अर्का अधिवक्ता एवं संविधानविद् अश्विनीकुमार दुबे यस्तो अवस्थामा राज्य सरकारलाई चलाउन मुख्यमन्त्रीले राजीनामा दिनुपर्ने बताउँछन् ।

सुझावित समाचार