हिमपातपछि किमाथांकामा जनजीवन कष्टकर

शुक्रबार, १२ माघ, २०८०
डिजिटल संस्करण
हिमपातपछि किमाथांकामा जनजीवन कष्टकर

तस्बिर : नवीन गुरुङ/नयाँ पत्रिका

पूर्वी पहाडी जिल्ला संखुवासभाको उच्च हिमाली भागहरूमा बाक्लो हिमपात हुन थालेको छ। जिल्लाको उत्तरी क्षेत्रको भोटखोला गाउँपालिकाको किमाथांकामा हिमपात भएपछि जनजीवन कष्टकर बनेको छ।

बुधबार साँझदेखि किमाथांका क्षेत्रमा हिमपात हुन सुरु भएपछि जनजीवन कष्टकर बनेको भोटखोला गाउँपालिका– १ किमाथांकाका वडाध्यक्ष नुर्बु च्यावाले बताए । उनका अनुसार गाउँको माथिमाथि डाँडामा दुई–तीन फिट र तल गाउँमा एक फिटसम्म हिउँ जमेको छ।

बाक्लो हिमपातका कारण किमाथांका-खाँदबारी आवतजावत गर्नसमेत समस्या भएको छ। हिउँले बाटो बन्द हुने अवस्था पुगेको छ। चिसोले बालबालिका, वृद्धवृद्धा र पशुचौपाया बढी प्रभावित भएका छन् भने आमसर्वसाधारण घरबाहिर निस्कन सकेका छैनन्।

यता, संखुवासभा, तेह्रथुम र ताप्लेजुङको संगमस्थल तिनजुरे–मिल्के–जलजले (टिएमजे) तथा गुफापोखरी क्षेत्रमा भने विगतका वर्षमा जस्तो बाक्लो हिमपात भएको छैन। अहिलेसम्म सामान्य हिमपात मात्रै भएको गुफापोखरीका स्थानीय भीम लिम्बूले बताए।

उनका अनुसार केही समयअघि सामान्य हिउँ झरेको, तर विगतमा जस्तो तीन–चार फिट नै जम्ने गरी बाक्लो हिमपात भइसकेको छैन। ‘बाक्लो हुस्सु र सामान्य पानी परिरहेको छ, मौसम हेर्दा अब एक–दुई दिनभित्र हिउँ झर्ने सम्भावना छ। बाक्लो हिमपात भएपछि मात्रै पर्यटकहरूको आवागमन बढ्छ,’ लिम्बूले भने।

तिनजुरे, पाँचपोखरी, गुफापोखरी, मंगलबारे, चौकी, मिल्केलगायतका क्षेत्रका नागरिक यो वर्ष हिमपातको पर्खाइमा छन्। हिमपातपछि पर्यटकको आवागमनको साथै हिउँदे बाली सप्रिन्छ।

जिल्लाको उच्च हिमाली क्षेत्रमा हिमपात सुरु भएपछि त्यसको प्रभाव तल्लो क्षेत्रहरूमा समेत परेको छ। सदरमुकाम खाँदबारी आसपासका क्षेत्रहरूमा समेत चिसो ह्वात्तै बढेको अनुभव हुन थालेको छ।

सुझावित समाचार