चुक्ता पुँजी, निक्षेप संकलन, कर्जा प्रवाहलगायतका वित्तीय सूचकका आधारमा नेपालको सबैभन्दा ठूलो बैंकका रूपमा रहेको ‘ग्लोबल आइएमई बैंक लिमिटेड’ १८औँ वर्षमा प्रवेश गर्दै छ । यही १७ पुसमा बैंक लिमिटेड १७औँ वर्ष पार गरेर १८औँ वर्षमा प्रवेश गर्न लागेको हो । ०६३ मा ग्लोबल बैंक लिमिटेडको नामबाट स्थापना भएकोमा हाल ग्लोबल आइएमई बैंकको नाममा सञ्चालित छ ।
गत असोज मसान्तसम्म बैंकको चुक्ता पुँजी ३५ अर्ब ७७ करोड (गत आवको बोनस लाभांशसहित ३६ अर्ब १२ करोड), कर्जा प्रवाह तीन खर्ब ७० अर्ब ७३ करोड र निक्षेप संकलन चार खर्ब ४३ अर्ब १६ लाख रहेको छ, यो अन्य १९ वाणिज्य बैंकको तुलनामा सबैभन्दा बढी हो । बैंकको कुल सम्पत्ति पनि सबैभन्दा धेरै छ । गत असोज मसान्तसम्म बैंकको कुल सम्पत्ति पाँच खर्ब ४६ अर्ब २६ करोड ६२ लाख रुपैयाँ रहेको छ । वाणिज्य बैंकहरूमध्ये ग्लोबल आइएमई कर्जा विस्तारमा ८.४२ प्रतिशत र निक्षेप संकलनमा ८.५९ प्रतिशत बजार हिस्सा छ । बैंकले चालू आवको पहिलो तीन महिनामा सरकारलाई ५५ करोड ३६ लाख ७६ हजार आयकर बुझाएको छ, गत आवमा भने दुई अर्ब ८५ करोड चार लाख आयकर बुझाएको थियो ।
हाल बैंकले नेपालका ७७ वटै जिल्लामा तीन सय ५५ शाखा, तीन सय ७९ एटिएम, दुई सय ७४ शाखारहित बैंकिङ, ६५ एक्सटेन्सन तथा राजस्व संकलन काउन्टरका साथै तीन अन्तर्राष्ट्रिय सम्पर्क वैदेशिक प्रतिनिधि कार्यालयमार्फत सेवा दिँदै आएको छ । बैंकमा कार्यरत करिब चार हजार कर्मचारीले ४५ लाखभन्दा बढी ग्राहकलाई प्रत्यक्ष सेवा प्रदान गर्दै आएको छ ।
बैंकको मर्जर यात्रा
०६३ सालमा ‘क’ वर्गको बैंकका रूपमा इजाजत प्राप्त । ०६९ मा आइएमई फाइनान्सियल इन्स्टिच्युसन लिमिटेड र लर्ड बुद्ध फाइनान्सलाई गाभेर ‘ग्लोबल आइएमई बैंक लिमिटेड’को नामबाट कारोबार सुरु गरेको हो । ०६९/७० मा सोसियल डेभलपमेन्ट बैंक र गुल्मी विकास बैंक गाभिए । आव ०७०/७१ मा कमर्स एन्ड ट्रस्ट बैंक नेपाल मर्ज । ०७४ को अन्त्यमा प्यासिफक डेभलपमेन्ट बैंक र रिलायबल डेभलपमेन्ट बैंक गाभिए । आव ०७६/७७ मा हाथवे फाइनान्स र जनता बैंक नेपाल लिमिटेड गाभिए । ०७९/८० मा बैंक अफ काठमाण्डू मर्ज ।
वार्षिकोत्सवका विभिन्न योजना
बैंकले वार्षिकोत्सवको अवसरमा कार्ड तथा मोबाइल बैंकिङमार्फत गरिने कारोबारमा १७ प्रतिशतसम्म छुट तथा एक हजार रुपैयाँसम्म क्यासब्याक दिने योजना पनि ल्याएको छ । साथै, नयाँ खाता खोली ग्लोबल स्मार्ट प्लस प्रयोग गर्ने ग्राहकले एसएमएसमा प्राप्त प्रोमो कोड प्रयोग गरी पहिलोपटकको क्युआर कारोबार तथा मोबाइल रिचार्जमा १७ प्रतिशत वा अधिकतम एक सय ७० रुपैयाँसम्मको छुट प्रदान गर्ने योजना पनि ल्याइएको छ । बैंकले वार्षिकोत्सवको अवसरमा सिएसआरअन्तर्गत मेरी उनीलाई स्वस्थ नारी पहल अभियान सञ्चालन गरेको छ । अभियानअन्तर्गत बैंकले नेपाल परिवार नियोजन संघसँगको सहकार्यमा सातवटै प्रदेशहरूमा एकदिने निःशुल्क महिला स्वास्थ्य शिविर सञ्चालन गर्न गइरहेको छ ।
शिविरमा स्त्रीरोगविज्ञले स्त्रीरोगसम्बन्धी विभिन्न सेवाहरू, महिलाको स्वास्थ्य परीक्षण, पाठेघरको क्यान्सर (भिआइए) परीक्षण, गर्भाशय प्रोल्याप्स केसको उपचार, औषधि वितरणलगायतका सेवाहरू निःशुल्क रूपमा उपलब्ध हुनेछन् । प्रत्येक शिविरबाट पाठेघरको क्यान्सरको प्रारम्भिक लक्षण पत्ता लागेको र पाठेघरको क्यान्सरको गम्भीर बिरामी पहिचान गर्नेछ, जसलाई स्वस्थ नारी पहल कार्यक्रमको दोस्रो चरणमा शल्यक्रिया गरी उपचार गरिनेछ ।
बैंकले ४ पुसमा सुदूरपश्चिम प्रदेशमा बाजुरा जिल्लाको गौमुल गाउँपालिकाको दहकोट स्वास्थ्य चौकीमा स्वास्थ्य शिविर सञ्चालन गरिसकेको छ । गत शुक्रबार बागमती प्रदेशको भरतपुर महानगरपालिकाको गौरीगन्ज स्वास्थ्य चौकीमा पनि शिविर सञ्चालन गरिसकिएको छ । अब लुम्बिनी प्रदेशमा रैनादेवी छहरा गाउँपालिकाको छहरा स्वास्थ्य चौकीमा १७ पुस, कर्णाली प्रदेशमा वीरेन्द्रनगर नगरपालिको जर्बुट्टा स्वास्थ्य चौकीमा १८ पुस, गण्डकी प्रदेशमा म्याग्दीस्थित अन्नपूर्ण गाउँपालिकाको पोखरे बजारको आधारभूत विद्यालयमा २१ पुस र कोशी प्रदेशमा इलाम नगरपालिकाको मलाटे स्वास्थ्य चौकीमा २८ पुसमा निःशुल्क स्वास्थ्य शिविर सञ्चालन गर्ने तयारी छ ।
सामाजिक उत्तरदायित्व
स्थापनाकालदेखि बैंकले सामाजिक उत्तरदायित्वसम्बन्धी काम पनि गर्दै आएको छ । ०७२ सालको भूकम्पमा यो बैंकले ५० लाख रुपैयाँ सरकारको राहत कोषमा जम्मा गरेको थियो । कोरोना राहत कोषमा पनि यस बैंकले १० लाख रुपैयाँ प्रदान गरेको थियो । यसै वर्षको जाजरकोटमा गएको भूकम्पमा पनि यो बैंकसहित आइएमई समूहले एक करोड ५० लाख रुपैयाँ राहत प्रदान गरेको छ ।
बैंकले हरेक वर्ष स्वास्थ्य, शिक्षा, वित्तीय साक्षरता, सांस्कृतिक तथा वातावरण संरक्षण, प्राकृतिक विपत्ति तथा उपभोक्ता संरक्षण, नेपालको दिगो विकास लक्ष्य, डिजिटल प्रडक्ट प्रवद्र्धनमा सामाजिक उत्तरदायित्व (सिएसआर) कोषको पैसा खर्च गर्दै गरेको देखिन्छ ।
भावी योजना
बैंकले अबका दिनमा प्रविधिमा आधारित नयाँ सेवाहरूको विकास गर्ने, निक्षेप तथा कर्जाको विविधीकरण गर्ने आयआर्जनका नयाँ क्षेत्रहरू विस्तार तथा निक्षेप परिचालनमा जोड दिने, पुँजीकोष वृद्धि गर्नेलगायतका योजना बनाएको छ । ग्राहक तथा सम्पूर्ण सरोकारवालाको आवश्यकता र अपेक्षा पूरा गर्दै देशको सन्तुलित आर्थिक–सामाजिक रूपान्तरण गर्ने सरकारको प्रयासलाई टेवा पुर्याउनेसमेत लक्ष्य लिएको बैंकका अध्यक्ष चन्द्रप्रसाद ढकालले बताए ।