पालिकाले अनुदानमा बाँडेको गहुँको बिउ नउम्रिएपछि साढे पाँच सय किसान मारमा

किसानले बजारबाट अर्को बिउ किनेर फेरि छरेका छन्, तर समय ढिला भएकाले बाली नलाग्ला कि भन्ने चिन्ता

आइतबार, १५ पुष, २०८०
डिजिटल संस्करण

स्थानीय किसान रामसोभित यादवले अनुदानको बिउ नउम्रिएपछि आफूले जोखिम मोलेर भए पनि पुनः गहुँको बिउ छरेको बताए । गाउँमा ६० रुपैयाँ प्रतिकिलोका दरले बिउ किनेर छरेको भन्दै रामसोभितले आफूहरूसँग बेइमानी गरेकाले नगरपालिकाले क्षतिपूर्ति तिर्नुपर्ने माग गरेका छन् । सिराहाको धनगढीमाई नगरपालिकाले १३७ बिघामा छर्न पुग्ने आदित्य र गौतमनामक गहुँको बिउ सुनसरीको देवानगन्जस्थित कुसवाह बिउ भण्डारबाट ल्याएर ५० प्रतिशत अनुदानमा ५५० किसानलाई बाँडेको थियो ।

सिराहाको धनगढीमाई नगरपालिका– ५ का वडाध्यक्षसमेत रहेका किसान रामजतन कामैतले नगरपालिकाको कृषि शाखाबाट ४० किलो गहुँको बिउ किने । आठ कट्ठा खेतमा गहुँ लगाउन उनले प्रतिकिलो ४५ का दरले एक हजार आठ सय रुपैयाँ खर्चे । तर, खेतमा बिउ छरेको दुई साता बित्दा पनि टुसाएन । अहिले उनले अर्काे बिउ छरेका छन् । ‘उन्नत जातको भनेर छरेँ, तर नउम्रिएपछि पुनः घरकै बिउ छरेँ, त्योचाहिँ उम्रियो,’ उनले भने, ‘तर, गहुँ छर्ने समय घर्किएकाले बाली लाग्ला कि नलाग्ला भन्ने चिन्ता छ ।’

धनगढीमाई– ४ जयपुरका किसान रामअयोधी यादवले पनि अनुदानको बिउ १० कट्ठामा छरेका थिए । ४० किलो बिउ किनेर छरे पनि नउम्रिएपछि समस्यामा परेको बताए । उनको जस्तै समस्या सुनाए छिमेकी उमेश यादवले पनि । उनले एक हजार आठ सय रुपैयाँ तिरेर ल्याएको ४० किलो बिउ नौ कट्ठामा छरेका थिए, तर उम्रिएन । दुवैको चिन्ता एउटै छ ढिला लगाएको बाली गतिलो हुन्छ कि हुँदैन ?

अर्का किसान चन्द्रकिशोर यादवले पनि ढिलो गरी छरेको गहुँ मौसम नमिलेर नफल्ने र फागुन, चैतको पश्चिमी तातो हावाले गहुँको बाला नै सुकाइदिने जोखिम रहने बताए । स्थानीय किसान रामसोभित यादवले अनुदानको बिउ नउम्रिएपछि आफूले जोखिम मोलेर भए पनि पुनः गहुँको बिउ छरेको बताए । गाउँमा ६० रुपैयाँ प्रतिकिलोका दरले बिउ किनेर छरेको भन्दै रामसोभितले नगरपालिकाले आफूहरूसँग बेइमानी गरेकाले क्षतिपूर्ति तिर्नुपर्ने माग गरेका छन् ।

नार्कको राष्ट्रिय गहुँबाली अनुन्धान कार्यक्रमको ‘गहुँ उत्पादन बढाउन केही उपयोगी जानकारी’नामक पम्प्लेटमा उल्लेख भएअनुसार तराईमा गहुँ छर्ने समय कात्तिकदेखि मंसिर दोस्रो सातासम्म उपयुक्त हुन्छ । ‘खासगरी तराईमा गहुँ ढिलो छर्दा पाक्ने समयमा पश्चिमी तातो हावाको असरबाट उत्पादनमा कमी आउँछ,’ त्यसमा भनिएको छ । नार्कले तराईमा आदित्यनामक गहुँ एक सय १८ दिनमा पाक्ने र प्रतिबिघा ३.१९ टन उत्पादक क्षमता रहने भनेको छ । गौतमनामक गहुँ एक सय १९ दिनमा पाक्छ भने उत्पादकत्व प्रतिबिघा २.२७ टन रहेको जनाएको छ । 

सिराहाको धनगढीमाई नगरपालिकाले ५० प्रतिशत अनुदानमा साढे पाँच सय किसानलाई बाँडेको गहुँको बिउ गुणस्तरहीन परेको छ । किसानले नगरपालिकाबाट आदित्य र गौतमनामक गहुँको बिउ प्रतिकिलो ४५ रुपैयाँका दरले किनेर दुई साताअघि नै छरे । बिउ नउम्रिएपछि नगरपालिकाको १३ वटै वडामा एक सय ३७ बिघामा गहुँ छरेका पाँच सय ५० किसान मारमा परेका छन् । बिउ छरेको एक सातमै उम्रिएर नौ दिनमा गहुँ दुई पात लागिसक्नुपर्ने हो ।

नगरपालिकाको कृषि शाखा प्रमुख अशोककुमार पासवानका अनुसार नगरपालिकाले सुनसरीको देवानगन्जस्थित कुसवाह बिउ भण्डारबाट ११ लाख खर्चेर एक सय १० क्विन्टल बिउ किनेर ल्याएको थियो । सुनसरीको देवानगन्जस्थित कुसवाह बिउ भण्डारबाट ल्याइएको एक सय १० क्विन्टलमध्ये आदित्यनामक गहुँको बिउमा कैफियत देखिएको उनको दाबी छ । 

‘साल्ट्र ट्रेडिङबाट ल्याइएको बिउ नपुगेपछि सुनसरीबाट ५० क्विन्टल गौतम र ६० क्विन्टल आदित्य गहुँको बिउ ल्याइएको हो,’ उनले भने, ‘तर, आदित्य बिउ छरेकामध्ये केहीको नउम्रिएको गुनासो आएको छ ।’ पछिल्लोपटक बाँडिएको बिउबारे किसानहरू गुनासो गर्न आउने क्रम जारी रहेको उनको भनाइ छ । तर, नगरपालिकाले किसानको बारीमा अहिलेसम्म अनुगमन नगरेको पनि उनले बताए । ‘अवलोकन गरेपछि अवस्था के हो भन्न सकिएला,’ उनले भने । 

नगरपालिकाले त्यसअघि लहानस्थित साल्ट ट्रेडिङबाट खरिद गरेको एनएल ९७१ र बिएल प्रजातिको गहुँको प्रतिकिलो ८० रुपैयाँका दरले ५० प्रतिशत अनुदानमा सात क्विन्टल बाँडेको थियो । उक्त बिउमा भने समस्या देखिएको छैन । 

कृषि प्राविधिकका अनुसार तराईमा एक कट्ठा खेतमा चार किलो गहुँको बिउ चाहिन्छ । यो हिसाबले एक सय १० क्विन्टल बिउ एक सय ३७.५ बिघाका लागि पर्याप्त हुन्छ ।

खाली बोरासहित किसानको प्रदर्शन, क्षतिपूर्ति माग
नगरपालिकाले बाँडेको अनुदानको गहुँको बिउ नउम्रेपछि किसानले खाली बोरासहित प्रदर्शन गरेका छन् । धनगढीमाई– ४ का १९ किसानले गहुँको खाली बोरा देखाउँदै क्षतिपूर्तिको मागसहित प्रदर्शन गरे भने मेयरलाई ज्ञापनपत्र बुझाएका छन् । 

राष्ट्रिय कृषक समूह महासंघ नेपाल धनगढीमाई नगर समितिले बुझाएको ज्ञापनपत्रमा अनुदानमा ल्याएको बिउ छरेको खेतको स्थलगत अवलोकन गर्दा बिउ नउम्रिएर खेत बाँझै रहने अवस्था देखिएको जनाएको छ । पीडित किसानलाई उत्पादन लागतसहितको क्षतिपूर्ति उपलब्ध गराउन पनि माग गरेको छ । 

मेयर महतोको तर्क– खेतमा चिस्यान कम हुँदा उम्रिएन
धनगढीमाई नगरपालिकाका मेयर शिवशंकर महतोले भने गहुँको बिउ नक्कली नभएको दाबी गरे । बरु खेतमा चिस्यान कमीले गहुँको बिउ उम्रिन नसकेको उनको जिकिर छ ।

‘गहुँको बिउ नक्कली छैन,’ मेयर महतोले भने, ‘नगर कार्यपालिकाको बैठकबाट निर्णय गरेर बिउ खरिद गरिएको हो । किसानको खेतमा चिस्यान नभएर गहुँ नउम्रिएको हुन सक्छ ।’

मेयर महतोले आफूले कुन–कुन किसानले लगाएको अनुदानको गहुँको बिउ नउम्रिएको विषयमा सोधखोज थालेको र यस सम्बन्धमा थप निर्णय कार्यपालिकाबाट गर्ने बताए । गहुँको बिउ नउम्रिएका किसानलाई क्षतिपूर्तिस्वरूप बिउको रकम फिर्ता गरिने उनले बताए । 
 

See More On

सुझावित समाचार