नेपाल क्लियरिङ हाउस लिमिटेड (एनसिएचएल)ले नेप्सलाई प्राप्ति गर्ने भएको छ । एनसिएचएलको १५औँ वार्षिकोत्सवको आवसरमा आयोजित कार्यक्रममा एनसिएचएल र नेप्सबीच गाभ्ने–प्राप्तिसम्बन्धी प्रारम्भिक समझदारी भएको हो । एनसिएचएलको मर्जर प्राप्ति समितिका संयोजक महेश शर्मा ढकाल र नेप्सका मर्जर समितिका संयोजक सञ्जीवकुमार श्रेष्ठले समझदारीपत्रमा हस्ताक्षर गरेको जनाइएको छ ।
कार्यक्रममा नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारी, डेपुटी गभर्नर डा. निलम ढुंगाना तिम्सिना, राष्ट्र बैंकका उच्च पदाधिकारीहरू, नेपाल बैंकर्स संघ र डेभलपमेन्ट बैंकर्स संघका अध्यक्षहरू तथा नेपाल वित्तीय संस्था संघका फस्ट उपाध्यक्षलगायत बैंक वित्तीय संस्थाका प्रमुखहरूको उपस्थिति रहेको एनसिएचएलले जनाएको छ ।
एनसिएचएल र नेप्स दुवै बैंक वित्तीय संस्थाहरूको प्रवद्र्धनमा नेपाल राष्ट्र बैंकबाट भुक्तानी प्रणाली सञ्चालकको अनुमति प्राप्त गरी विगत लामो समयदेखि आ–आफ्नो क्षेत्रमा कार्य गरी आएका संस्थाहरू हुन् । नेपाल राष्ट्र बैंकले लिएको गाभ्ने–गाभिने वा प्राप्तिसँग सम्बन्धित नीति कार्यान्वयनलाई सफल पार्न एनसिएचएल र नेप्स प्राप्ति प्रक्रियाका माध्यमबाट दुवैको कारोबारलाई एकीकृत गरी थप सुधार, प्रतिस्पर्धात्मक र प्रतिफलमूलक हुने गरी अगाडि बढ्नु उपयुक्त विकल्प भएको ठहरसहित समझदारी भएको एनसिएचएलले जनाएको छ ।
०६५ सालमा स्थापित एनसिएचएलले एनसिएचएल–इसिसी, एनसिएचएल–आइपिएस, आरपिएस, कनेक्ट आइपिएस, कर्पोरेट पे, नेपाल पे, क्युआरलगायतका विभिन्न सेवा दिँदै आएको उल्लेख छ । ५३ भन्दा बढी बैंक वित्तीय संस्थाहरू र ९५ भन्दा बढी अन्य संस्था–निकायहरूले एनसिएचएलको प्रणाली प्रयोग गर्दै आएको जनाइएको छ ।
त्यस्तै, ०६९ सालमा स्थापित नेप्सले विभिन्न बैंक वित्तीय संस्थाका लागि केन्द्रीकृत रूपमा कार्ड जारी गर्ने, स्वीकार गर्ने र कारोबार सम्पन्न गर्न आवश्यक प्रशोधन गर्ने कार्य गर्दै आएको छ । नेप्सले ११ बैंक तथा वित्तीय संस्थाहरूको एक हजार ६ सयभन्दा धेरै एटिएम, नौ हजारभन्दा बढी पिओएसमार्फत सेवा प्रदान गर्ने र इ–कमर्स कारोबारका लागि एसिएस थ्रिडी सेक्युरलगायतका सेवा उपलब्ध गराउँदै आएको जनाइएको छ ।