नेपाल निर्माण व्यवसायी महासंघले सिमेन्ट उद्योगीले कार्टेलिङ गरेर मूल्य बढाएको आरोप लगाएको छ । महासंघले आइतबार विज्ञप्ति जारी गर्दै सिमेन्ट उद्योगीले कार्टेलिङ गरेको आरोप लगाएको हो । महासंघका महासचिव रोशन दाहालले सार्वजनिक गरेको विज्ञप्तिमा सीमित उद्योगले कार्टेलिङ गरेर सिमेन्टको मूल्य बोरामै सय रुपैयाँभन्दा बढी बढाइएको उल्लेख छ ।
सिमेन्ट उत्पादनसँग जोडिएको इन्धनलगायत कच्चा पदार्थको मूल्य नबढेको तथा बजार मागसमेत न्यून भएको अवस्थामा सिमेन्टको भाउ बढाइँदा आमउपभोक्ताका साथै निर्माण क्षेत्र र सरकारलाई समेत बोझ थपिने महासंघको ठहर छ । ‘निर्माण उद्योग नै अत्यन्त विषम अवस्थामा रहेको समयमा सिमेन्ट उत्पादनसँग सम्बन्धित इन्धनलगायतका कुनै पनि कच्चा पदार्थमा समेत मूल्यवृद्धि नहुँदा र सिमेन्टलगायत निर्माण सामग्रीको प्रयोग पनि अन्त्यन्त न्यून भएका बखत हठातमा सीमित सिमेन्ट उद्योगहरूले कार्टेलिङ गरी प्रतिबोरा एक सयभन्दा बढी मूल्यवृद्धि गरिएकोमा यस महासंघको गम्भीर ध्यानाकर्षण भएको छ,’ विज्ञप्तिमा उल्लेख छ, ‘खुला अर्थतन्त्रको नीति ठीकविपरीत गरिएको यस किसिमको अव्यावहारिक एवं अवैज्ञानिक मूल्यवृद्धि दण्डनीय अपराध भएको महासंघको ठहर छ ।’
विगतमा पनि कार्टेलिङ गरी पटक–पटक भएका यस किसिमका मूल्यवृद्धिका कारण अन्ततः पूर्वाधार खर्च बढ्न गई नेपाल सरकारका सार्वजनिक निकायहरूलाई नै आर्थिक बोझ थपिएको महासंघले उल्लेख गरेको छ । सिमेन्टमा भएको मूल्यवृद्धि अविलम्ब खारेज गरी आमउपभोक्तालाई राहत दिन महासंघले सरकार र सम्बन्धित निकायसँग माग गरेको छ ।