जनकल्याण माविको प्रवेशद्वारमै मापदण्डविपरीत शौचालय निर्माण गर्न थालेपछि विरोध

शनिबार, ३० मंसिर, २०८०
डिजिटल संस्करण

बौद्ध क्षेत्र विकास समितिको आर्थिक सहयोगमा निर्माण गर्न लागिएको शौचालयको ढोका विद्यालयको प्रवेशद्वारतर्फ फर्काएर बनाइँदै 

बौद्ध महाकालमा रहेको जनकल्याण माविको प्रवेशद्वारमै मापदण्डविपरीत शौचालय निर्माण गर्न थालेपछि विरोध सुरु भएको छ। विद्यालयको सामुन्ने रहेको ज्ञात-अज्ञात सहिद पार्कसाइटमा  शौचालय निर्माण गरेपछि स्थानीयवासी र विद्यालय परिवारले नै विरोध जनाएका हुन्।

हाल निर्माणाधीन अवस्थामा रहेको शौचालय सार्वजनिक जग्गामा मापदण्डविपरीत तथा नक्सापास बिना नै बनाइँदै छ। यदि पार्कको लागि शौचालय बनाइएको हो भने ढोका पार्कतिर नै फर्काउनुपर्ने सरोकारवाला र विद्यालयको भनाइ छ।

तर, बौद्ध क्षेत्र विकास समितिको आर्थिक सहयोगमा निर्माण गर्न लागिएको शौचालयको ढोका विद्यालय प्रवेशद्वार तथा बाटोतर्फ फर्काएर बनाइँदै छ। विद्यालयको प्रवेशद्वारमै शौचालय निर्माण गर्दा दुर्गन्ध फैलिने र नजिकै रहेको बुद्ध सालिकको समेत अपमान हुने विद्यालयका सहायक प्रधानाध्यापक सुरेशकुमार कटुवालले बताए।

'यदि पार्कको लागि शौचालय बन्दै छ भने त्यसको ढोका पनि पार्कतिर फर्काइयोस्, विद्यालय प्रवेशद्वार तथा सडकतिर फर्काउने हो भने हाम्रो घोर आपत्ति छ,' उनले भने, 'शौचालय विद्यार्थी तथा वातावरणमैत्री छैन।' शौचालय निर्माण गर्दा वडा, स्थानीयवासी, विद्यालय तथा अन्य सरोकारवालालगायतसँग समन्वय नै नगरिएको उनकाे आराेप छ।

शैक्षिक गुणस्तर तथा विद्यार्थी संख्याका आधारमा काठमाडौं महानगरभित्रका सामुदायिक विद्यालयमध्ये तेस्रो स्थानमा पर्न सफल जनकल्याण माविमा हाल दुई हजार पाँच सय विद्यार्थी छन्। तर, विद्यार्थी प्रवेशद्वारमै मापदण्डविपरीत भाडामा लगाउने उद्देश्यले शौचालय निर्माण गर्न थालेपछि चर्को विरोध भएको हो।

See More On

सुझावित समाचार