गत वर्ष गण्डकी प्रदेशमा भएको नवौँ राष्ट्रिय खेलकुद प्रतियोगिताअन्तर्गत प्याराग्लाइडिङमा गम्भीर लापरबाहीका कारणका खेलाडी निसिम थापाको मृत्यु भएको बुधबार निसिम थापा फाउन्डेसनले पत्रकार सम्मेलन गरी जानकारी दिएको छ । ३० असोज ०७९ मा प्रतियोगिताअन्तर्गत क्रसकन्ट्री प्रतिस्पर्धामा दुर्घटनामा परी नेपाली सेनाबाट सहभागी भएका थापाको मृत्यु भएको थियो । पोखरा– १८ सराङकोटस्थित ब्लु स्काई टेकअप जोनबाट प्रतिस्पर्धाका लागि उडान सुरु गरेको तीन मिनेटमै थापा दुर्घटनामा परेका थिए ।
हतारमा विनातयारी एवं सुरक्षा मापदण्डलाई ख्याल नगरी प्रतियोगिता आयोजना गरेका कारण खेलाडीले ज्यान गुमाएको फाउन्डेसनको भनाइ छ । फाउन्डेसनका अध्यक्ष तथा थापाका बुबा प्रकाश थापाले आयोजकको गम्भीर लापरबाहीले आफ्ना छोराको निधन भएको बताए ।
‘केसी कन्स्ट्रक्सनभित्र रहेको ब्लु स्काई टेकअफ जोनमा उडान क्षेत्रसँगै रहेर पनि पोखरा महानगरपालिकाको अनुमतिविना दशौँ हजार धारिला फलामे रडसहितको जोखिमयुक्त संरचना निर्माण गरिरहनु र सोही जोखिम स्थानमा नागरिक उड्डयन प्राधिकरणको अनुमतिविना प्रतियोगिता सञ्चालन हुँदा नै छोराको निधन भयो,’ थापाले भने ।
नवौँ राष्ट्रिय खेलकुदसम्म आइपुग्दा प्याराग्लाइडिङको नाममा पाइलटहरूको जीवन जोखिममा राखी लाखौँ रकम पेस्की लिएर दुरुपयोग गरेको आरोपसमेत फाउन्डेसनका अध्यक्ष थापाले लगाए ।