राष्ट्रपतिको युरोप भ्रमण स्थगित, आज भूकम्प प्रभावित क्षेत्र जाने

मंगलबार, २१ कार्तिक, २०८०
डिजिटल संस्करण

राष्ट्रपति रामचन्द्र पौडेलले एक साताभन्दा लामो युरोप भ्रमण अन्तिम समयमा स्थगित गरेका छन् । जाजरकोट र रुकुमपश्चिममा आएको भूकम्पमा ठूलो मानवीय क्षति भएपछि भ्रमणलाई लिएर प्रश्न उठिरहेका वेला राष्ट्रपति पौडेलले भ्रमण स्थगित गरेका हुन् । १६ कात्तिकको मन्त्रिपरिषद् बैठकले २२ देखि १ मंसिरसम्मका लागि राष्ट्रपतिको भ्रमण स्वीकृत गरेको थियो । युरोप भ्रमण स्थगनसँगै राष्ट्रपति पौडेल मंगलबार भूकम्प प्रभावित क्षेत्रमा जाने कार्यक्रम तय भएको छ । 

राष्ट्रपतिका प्रेस सल्लाहकार किरण पोखरेलका अनुसार प्राकृतिक विपत्तिको समयमा मुलुक छोड्न उपयुक्त नहुने निष्कर्षसहित राष्ट्रपति पौडेलले फ्रान्स, इटली र जर्मनीको भ्रमण स्थगित गरेका हुन् । राष्ट्रपति पौडेल फ्रान्सका राष्ट्रपतिको निमन्त्रणामा नोभेम्बर ९ देखि ११ सम्म पेरिसमा हुने कार्यक्रमका लागि त्यसतर्फ जाने कार्यक्रम तय भएको थियो । ‘जाजरकोट र रुकुमपश्चिमलगायतका क्षेत्रमा ठूलो जनधनको क्षति हुन गएकाले नेपाल र नेपाली जनताको निम्ति अत्यन्त महत्वपूर्ण हुँदाहुँदै पनि प्राकृतिक विपत्ति आइपरेको हुनाले यो वेला मुलुक छोड्न उपयुक्त नहुने निष्कर्षसहित राष्ट्रपतिज्यूले भ्रमण स्थगित गर्नुभएको हो,’ राष्ट्रपतिका प्रेस सल्लाहकार पोखरेलले भने ।

सम्मेलनमा कार्बन उत्सर्जनबाट नेपालले भोगिरहेको जलवायु परिवर्तनको असरबारे विश्वजगतको ध्यानाकर्षण गराउने तयारी थियो । साथै फ्रान्स, जर्मनी र इटलीबाट राष्ट्रपति पौडेललाई निमन्त्रणासँगै तीन दशकपछि उच्चस्तरको भेटवार्ताको कार्यक्रम तय भएको थियो । नेपालले सन् २०४५ भित्र शून्य डिग्री कार्बन उत्सर्जनको महत्वाकांक्षी लक्ष्य राखेको छ । राष्ट्रपति पौडेल भूकम्प प्रभावितहरूको अवस्था बुझ्न मंगलबार भूकम्प प्रभावित क्षेत्रतर्फ जाने भएका छन् । पोखरेलले मंगलबार बिहान प्रभावित क्षेत्रमा जाने तय भएको जानकारी दिए । 

परराष्ट्रमन्त्री फर्किए, शिक्षामन्त्री उडे, कृषिमन्त्री आज चीन जाँदै  
राष्ट्रपतिले आफ्नो भ्रमण स्थगन गरे पनि मन्त्रीहरूले भने भ्रमण रोकेका छैनन् । युनेस्कोको ४२औँ महासभाका लागि शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री अशोक राई सोमबार त्यसतर्फ प्रस्थान गरेका छन् । महासभामा भाग लिन मन्त्री राई सोमबार त्यसतर्फ गएको मन्त्रालयका प्रवक्ता शिवकुमार सापकोटाले बताए । २ कात्तिकको मन्त्रिपरिषद् बैठकले २१ कात्तिदेखि ६ मंसिरसम्म फ्रान्सको पेरिसमा आयोजित महासभाका लागि भ्रमण स्वीकृत गरेको थियो । 

बेल्ट एन्ड रोड कन्फरेन्समा भाग लिन शिक्षा राज्यमन्त्री प्रमिलाकुमारी यादव सोमबार चीन भ्रमणमा गएकी छन् । १६ कात्तिकमा मन्त्रिपरिषद्ले २० देखि २१ कात्तिकसम्म छोइछिङमा हुने बेल्ट एन्ड रोड कन्फरेन्सका लागि उनको भ्रमण स्वीकृत गरेको थियो । प्रवक्ता सापकोटाले राज्यमन्त्री यादव सोमबार चीन प्रस्थान गरेको बताए ।

त्यस्तै, लुम्बिनी प्रदेशका मुख्यमन्त्री डिल्लीबहादुर चौधरी कात्तिक १८ गतेदेखि अमेरिका भ्रमणमा छन् । परराष्ट्रमन्त्री एनपी साउद भूकम्पको भोलिपल्ट १८ कात्तिकमा अमेरिकाको औपचारिक भ्रमण सम्पन्न गरी स्वदेश फिर्ता भएका थिए । 
एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाल आज (२१) कात्तिकबाट साताव्यापी भ्रमणका लागि चीन जाने तय भएको छ । उनी चिनियाँ कम्युनिस्ट पार्टीको निमन्त्रणामा मंगलबार चीन जाने कार्यक्रम छ । उनी कृषिमन्त्रीसमेत रहेका डा. बेदुराम भुसालसहित १५ सदस्यीय प्रतिनिधिमण्डलको नेतृत्व गर्दै त्यसतर्फ जाने तय भएको छ । 

भूकम्प प्रभावित जिल्लामा भइरहेको राहत, उद्धार र उपचारको अवस्थाबारे बुझ्न राज्यव्यवस्था तथा सुशासन समितिको टोली बुधबार जाजरकोट र रुकुमपश्चिम जाने भएको छ । समितिका सभापति रामहरि खतिवडाको नेतृत्वमा ९ सदस्यीय टोली जाने तयारी भएको छ । समिति सभापति खतिवडाले अनुगमन टोली सर्वपक्षीय हुने बताए । 

अनुगमनमा समिति सभापति खतिवडासँगै सांसदहरू गगन थापा, विश्वप्रकाश शर्मा, कृष्णगोपाल श्रेष्ठ, हितराज पाण्डे, रवि लामिछाने, बुद्धिमान तामाङ, सर्वेन्द्रनाथ शुक्ल, चित्रबहादुर केसी र समिति सचिव सुरजकुमार दुरा जाने सभापति खतिवडाले जानकारी दिए ।

सुझावित समाचार