क्रिकेटमा दशकपछि फर्किएको खुसी

शनिबार, १८ कार्तिक, २०८०
डिजिटल संस्करण

सन् २०२४ को टी–२० विश्वकपमा स्थान पक्का बनाउँदा शुक्रबार घरेलु मैदानमा नेपाली खेलाडीले युएईविरुद्ध सानदार प्रदर्शन गरे, अव्यवस्थित मूलपानी क्रिकेट मैदानमा उपस्थित हजारौँ दर्शकले अपार समर्थन जनाए

नेपाल आइसिसी टी–२० विश्वकपमा छनोट भएको छ । मूलपानीको माथिल्लो क्रिकेट मैदानमा शुक्रबार भएको छनोट चरणको सेमिफाइनलमा चिरपरिचित प्रतिद्वन्द्वी युएईलाई आठ विकेटले हराउँदै नेपालले आगामी वर्ष अमेरिका र वेस्ट इन्डिजले संयुक्त रूपमा आयोजना गर्ने विश्वकपमा स्थान पक्का गरेको हो । 

नेपाल सन् २०१४ मा पहिलोपटक टी–२० विश्वकपमा छनोट भएको थियो । दोस्रोपटक विश्वकपमा स्थान सुरक्षित गर्न एक दशक लाग्यो । विश्वकपमा छनोट भएपछि नेपाली खेलाडी भावुक बने, मैदानलाई ढोग्दै खुसियाली मनाए । 

टस जितेर ब्याटिङ गरेको युएईले नेपाललाई १३५ रनको लक्ष्य दिएको थियो । जवाफी ब्याटिङमा नेपालले दुई विकेट गुमाउँदै १७.१ ओभरमा लक्ष्य पार गर्‍यो । नेपाली खेलाडीले बलिङ, ब्याटिङ र फिल्डिङमा सानदार प्रदर्शन गरे ।

नेपाली खेलाडीले मैदानको चक्कर लगाइरहँदा प्यारापिट र त्यसबाहिर घरको छतमा रहेका हजारौँ दर्शकले समर्थनमा ताली र हुटिङ गरिरहे । अब नेपालले आइतबार उपाधिका लागि त्रिवि मैदानमा ओमानको सामना गर्नेछ । शुक्रबार नै भएको अर्काे सेमिफाइनलमा बहराइनलाई १० विकेटले हराउँदै ओमान पनि विश्वकपमा छनोट भएको छ ।

अर्को वर्ष हुने विश्वकपमा आइसिसीले सर्वाधिक २० टोलीबीच प्रतिस्पर्धा गराउँदै छ, जसमा ५५ खेल हुनेछन् । सहभागी टोलीलाई पाँच समूहमा राखेर प्रतिस्पर्धा गराइनेछ । आगामी वर्ष ४ देखि ३० जुनसम्म हुने विश्वकपकोे तालिका र समूह विभाजन भएको छैन । 

विश्वकपमा स्थान पक्का बनाएपछि कप्तान रोहितकुमार पौडेलले सपना पूरा भएको बताए । ‘एकदमै खुसी लागेको छ । हामी भाग्यमानी छौँ । दुई खेलाडी (सोमपाल कामी र विनोद भण्डारी)बाहेक सबैले त्यही विश्वकप (सन् २०१४को) हेरेर क्रिकेट खेल्न सुरु गरेका थियौँ । त्यसपछि काठमाडौं आएर अभ्यास गर्‍यौँ । टिममा पर्‍यौँ । अहिले विश्वकप खेल्ने भएका छौँ,’ उनले भने, ‘अहिलेसम्म पुरानो पुरस्कार पाएको छैनौँ । तर, विश्वकपका लागि उत्कृष्ट तयारी हुनेछ ।’ 

निर्णायक खेलमा आसिफको अर्धशतक 
नेपालको जितमा ओपनर आसिफ शेखले अर्धशतकीय इनिङ्स खेले । आसिफले ५१ बलमा सात चौका र एक छक्कासहित ६४ रन बनाए । त्यसक्रममा उनले ३९ बलको सामना गर्दै ६ चौका र एक छक्कासहित ५० रन बनाए । २२ वर्षीय आसिफको करिअरको यो चौथो अर्धशतक हो । यसअघि नेदरल्यान्ड्स, मलेसिया र युएईविरुद्ध ५० रन बनाएका थिए । पछिल्लोपटक मूलपानीमै युएईविरुद्ध ६२ रन बनाएका थिए । आसिफले पहिलो दुई अर्धशतक कीर्तिपुर मैदानमा बनाएका थिए ।

कुशल, गुल्सन र रोहितको सानदार ब्याटिङ
नेपालको जितमा ओपनरद्वय आसिफ र कुशल भुर्तेलसँगै गुल्सन झा र रोहितले सानदार ब्याटिङ गरे । कप्तान रोहितले २० बलमा दुई चौका र दुई छक्कासहित अविजित ३४ रन बनाए । नेपालले पहिलो विकेटका रूपमा आठ बलमा ११ रन बनाएका ओपनर भुर्तेललाई गुमायो । दुई चौका प्रहार गरेका उनलाई निलान्स केस्वानीले कप्तान मुहम्मद वासिमबाट क्याच आउट गराए । दोस्रो विकेटका रूपमा नेपालले २२ रन बनाएका गुल्सनलाई गुमायो । तेस्रो नम्बर क्रिजमा आएका गुल्सनले तीन चौकासहित २४ बलमा २२ रन बनाए । बसिल हमिदले गुल्सनलाई बोल्ड गर्दा नेपालले ९.३ ओभरमा ६७ रन बनाएको थियो । यसपछि क्रिजमा रहेका आसिफ र रोहितले नेपालको जित पक्का गरे ।

‘घरेलु समर्थकमाझ खेल्न पाउँछौँ भन्ने थाहा पाउँदा नै विश्वास बढेको थियो । विश्वकपमा छनोट हुन्छौँ भन्ने विश्वास थियो । स्कुलबाट खेल्न थालेपछि सबैको विश्वकप खेल्ने सपना हुन्छ । त्यो लेभलको क्रिकेट खेल्ने सपना पूरा भएको छ,’ आसिफले भने । 

सोमपाल र विनोदले खेलेका थिए २०१४ को विश्वकप
२०१४ मा बंगलादेशले आयोजना गरेको विश्वकपमा नेपालसँगै १० टेस्ट राष्ट्र र ६ एसोसिएट्स राष्ट्रले भाग लिएका थिए । जसमा नेपाल बंगलादेशसँग नेट रनरेटमा पछि पर्दा फाइनल चरण खेल्न चुकेको थियो । 

समूह ‘ए’को प्रतिस्पर्धामा नेपालले आफ्नो पहिलो टी–२० विश्वकपमा हङकङलाई ८० र अफगानिस्तानलाई ९ रनले हराएको थियो । बंगलादेशसँग ८ विकेटले पराजित भएको थियो । त्यतिवेला राष्ट्रिय टोलीमा रहेका खेलाडीमध्ये सोमपाल कामी र विनोद भण्डारी मात्र अहिलेको टोलीमा छन् । 

सोमपाल नेपालका नियमित प्रमुख ओपनिङ बलर हुन् । विनोदले यसपटक मौका पाएनन् । यद्यपि, क्यानले घोषणा गरेको टोलीमा भने उनी समावेश छन् । २०१४ को विश्वकप खेलेका टिममा सुभाष खकुरेल, सागर पुन, ज्ञानेन्द्र मल्ल, कप्तान पारस खड्का, शरद भेसवाकर, विनोद, वसन्त रेग्मी, नरेश बुढाऐर, शक्ति गौचन, सोमपाल र जितेन्द्र मुखिया थिए । 

यसपटक विश्वकपमा स्थान बनाउँदा कप्तान रोहित, सोमपाल र विनोदसँगै कुशल, आसिफ, गुल्सन, करण, विवेक यादव, अभिनाश, कुशल मल्ल, दीपेन्द्रसिंह ऐरी, सन्दीप लामिछाने टोलीमा छन् ।

युएईको प्रतिस्पर्धात्मक लक्ष्य 
युएईले निर्धारित २० ओभरमा नौ विकेट गुमाउँदै १३४ रन बनायो । तेस्रो नम्बर क्रिजमा आएका भ्रित्या अरविन्दले अर्धशतकीय इनिङ्स खेले । उनले ५१ बलमा आठ चौका र दुई छक्कासहित ६४ रन बनाए । भ्रित्यालाई कुशल मल्लले आउट गराए । 

कप्तान मुहम्मद वासिमले २६, अलिसान सराफुले १६, आसिफ खानले १३ रन बनाए । नेपालका कुशल मल्लले सर्वाधिक तीन विकेट लिए । सन्दीप लामिछानेले दुई विकेट हात पारे । सोमपाल कामी र कप्तान रोहितकुमार पौडेलले समान एक विकेट लिए । 

यसअघि तेस्रो ओभरमा नेपालले युएईका दुई ओपनरको विकेट लिएको थियो । ३.१ ओभरमा सोमपाल कामीले ओपनर खालिद साहलाई रनआउट गराए । ३.४ ओभरमा कप्तान तथा ओपनर मुहम्मद वासिम आउट भए । १६ बलमा २६ रन बनाएर वासिमलाई सोमपालले करण केसीको हातबाट क्याच आउट गराए । तीन चौका र दुई छक्का प्रहार गरेका कप्तान वासिम पनि आउट भएपछि युएई दबाबमा आयो । सन्दीपले पहिलो विकेट लिने क्रममा ९.६ बलमा आसिफ खानलार्ई एलबिडब्लू धरापमा पारे । १४ बलमा १३ रन बनाएका खानले एक चौका प्रहार गरेका थिए । जुन समय युएई ६२–३ को स्थितिमा रह्यो । 

कुशल मल्लले चौथो विकेटका रूपमा एलिसान सराफुलाई सोमपाल कामीबाट क्याच आउट गराए । पाँचौँ विकेटका रूपमा कप्तान रोहितकुमार पौडेलले सात बलमा चार रन बनाएका अली नासिरलाई आउट गरे । युएईले १५.५ ओभरमा सय रन जोड्दा नासिर आउट भए । 

ओमान पनि विश्वकपमा छनोट
बहराइनलाई सेमिफाइलनमा हराउँदै नेपालसँगै ओमान पनि विश्वकपमा छनोट भएको छ । ओमान तेस्रोपटक विश्वकपका लागि छनोट भएको हो । ओमानले यसअघि २०१६ र २०२१ मा विश्वकप खेलिसकेको छ । कीर्तिपुरमा बहराइनले दिएको १०७ रनको लक्ष्य ओमानले १४.२ ओभरमा विनाक्षति पूरा गर्‍यो । ओमानका ओपनर कास्यप प्रजापती ४४ बलमा ६ चौका र दुई छक्काको मद्दतले ५७ रनमा अविजित रहे । अर्का ओपनर प्रतीक अथभालेले अविजित ५० रन बनाए । टस जितेर ब्याटिङ रोजेको बहराइनले निर्धारित २० ओभरमा नौ विकेट गुमाउँदै १०६ रन बनायो ।

प्रधानमन्त्री प्रचण्डले दिए खेलाडीलाई बधाई 
प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले टी–२० विश्वकपमा स्थान बनाउन सफल नेपाली टोलीलाई बधाई दिएका छन् । उनले पछिल्लो समय क्रिकेटमा नेपाली टोलीले प्राप्त गरेको सफलता र उचाइप्रति सरकारका तर्फबाट उच्च सम्मान रहेको बताएका हुन् । ‘टी–२० विश्वकप प्रतियोगिताका लागि छनोट भएकोमा नेपाली क्रिकेट टोलीलाई हार्दिक बधाई ज्ञापन गर्दछु । पछिल्लो समय क्रिकेटमा नेपाली टोलीले प्राप्त गरेको सफलता र उचाइप्रति नेपाल सरकारका तर्फबाट उच्च सम्मान व्यक्त गर्दछु,’ प्रधानमन्त्री प्रचण्डले भने । उनले आगामी यात्राका लागि सफलताको कामनासहित आफू सधैँ साथमा रहने प्रतिबद्धता जनाए । ‘नेपाली टोलीको आगामी यात्रामा सफलताको कामनासहित सरकार सधैँ यहाँहरूको साथमा रहने प्रतिबद्धता व्यक्त गर्दछु,’ उनले भने । यसैगरी, पूर्वप्रधानमन्त्री तथा एमाले अध्यक्ष केपी ओलीले निरन्तर कोसिसपछिको जित र अबको यात्रा विश्वकप भन्दै नेपाली टोलीलाई बधाई दिएका छन् ।

क्रिकेटको १ करोड ५७ लाख ५० हजार नगद पुरस्कार निकासा
अर्थ मन्त्रालयले विभिन्न समयमा भएका क्रिकेट प्रतियोगिताको पूर्वघोषित एक करोड ५७ लाख ५० हजार नगद पुरस्कार निकासा गरेको छ । तीन प्रतियोगिताको पूर्वघोषित पुरस्कार निकासा भएको राष्ट्रिय खेलकुद परिषद्का सदस्यसचिव टंकलाल घिसिङले जानकारी दिएका छन् ।

गत ५ देखि १८ वैशाखसम्म भएको एसिसी प्रिमियर कपका लागि ७९ लाख, ०७९ फागुन १२ देखि १८ गतेसम्म भएको आइसिसी यू–१९ पुरुष विश्वकप एसिया छनोटको ४६ लाख र आइसिसी विश्वकप लिग–२ का लागि ३२ लाख ५० हजार नगद पुरस्कार निकासा भएको हो । 

आगामी विश्वकपमा संसारका उत्कृष्ट १९ टिमसँगको प्रतिस्पर्धामा नेपाल

आइसिसीले टी–२० फम्र्याटमा सञ्चालन हुने विश्वकपलाई रोमाञ्चक र प्रतिस्पर्धात्मक बनाउन अर्को वर्ष अमेरिका र वेस्ट इन्डिजमा हुने प्रतियोगितामा उत्कृष्ट २० टोली सहभागी गराउँदै छ । विश्वकप इतिहासमै पहिलोपटक उत्तर अमेरिका क्षेत्रले आयोजना गर्न लागेको हो । सन् २०२१ विश्वकपको शीर्ष वरीयतामा रहेका आठ टोलीले विश्वकपमा सीधै स्थान बनाएका छन्, जसमा अस्ट्रेलिया, इंग्ल्यान्ड, भारत, नेदरल्यान्ड्स, न्युजिल्यान्ड, पाकिस्तान, दक्षिण अफ्रिका र श्रीलंका रहेका छन् । त्यस्तै, अफगानिस्तान र बंगलादेश पनि आइसिसी विश्व वरीयताका आधारमा छनोट भएका छन् । अमेरिका र वेस्ट इन्डिज आयोजक राष्ट्र हुन् भने बाँकी आठ राष्ट्र क्षेत्रीय छनोट चरण पार गर्दै विश्कपमा पुगेका हुन् । जसमा एसियाबाट नेपाल र ओमान, इस्ट एसिया प्यासेफिकबाट पपुवा न्युगिनी, उत्तरी अमेरिकाबाट क्यानडा र युरोपबाट आयरल्यान्ड र स्कटल्यान्ड छनोट भइसकेका छन् । अफ्रिकाबाट सहभागी हुने दुई टिमको टुंगो लाग्न बाँकी छ । 

- २०२१ को विश्वकप वरीयताबाट छनोट ८ राष्ट्र : अस्ट्रेलिया, इंग्ल्यान्ड, भारत, नेदरल्यान्ड्स, न्युजिल्यान्ड, पाकिस्तान, दक्षिण अफ्रिका र श्रीलंका
- आयोजक राष्ट्र : अमेरिका र वेस्ट इन्डिज 
- आइसिसी विश्व वरीयताबाट : अफगानिस्तान र बंगलादेश क्षेत्रीय छनोटबाट ८ टिम
- एसिया : नेपाल र ओमान
- इस्ट एसिया प्यासेफिक : पपुवा न्युगिनी
- उत्तरी अमेरिका :  क्यानडा
- युरोप : आयरल्यान्ड र स्कटल्यान्ड
- अफ्रिका : २ टिम (टुंगो लाग्न बाँकी)

नेपालले खेलेका ६९ अन्तर्राट्रिय टी–२० खेलमध्ये ४२ मा जित
नेपालले पहिलो अन्तर्राष्ट्रिय टी–२० खेल सन् २०१४ मा हङकङसँग खेलेको थियो । संयोग, टी–२० विश्वकपको पहिलो खेल पनि नेपालले हङकङसँगै खेल्यो, जसमा हङकङलाई ८० रनले हरायो । अहिलेसम्म नेपालले ६९ अन्तर्राष्ट्रिय टी–२० खेल खेलेको छ । जसमध्ये ४२ मा जित निकालेको छ । २६ खेलमा पराजित हुँदा एक खेलमा नतिजा आएन । टी–२० मान्यता पाएपछि नेपालले शक्तिराष्ट्र भारतसँग पहिलोपटक १९औँ एसियन खेलकुद प्रतियोगितामा प्रतिस्पर्धा गर्ने अवसर पायो । जसमा नेपाललाई भारतले २३ रनले हराएको थियो । सन् २०२२ मा टेस्ट राष्ट्र आयरल्यान्डसँगको प्रतिस्पर्धामा नेपाल १६ रनले पराजित भएको थियो । 

आगामी सात महिना निकै महत्वपूर्ण छ  : चतुरबहादुर चन्द, अध्यक्ष, नेपाल क्रिकेट संघ 

आगामी सात महिनामा हामी विश्वकप खेल्दै छौँ । छनोट भएपछि अवसरसँगै च्यालेन्ज थपिएको छ । अब, सहभागिता मात्रै हाम्रो उद्देश्य रहँदैन, हामी खेल पनि जित्नेछौँ । दोस्रो चरण जाने प्रयास गर्नेछौँ । त्यो वातावरण बनाउने काम सरकार र क्यानको हो । हामी चाँडै यसका लागि कुनै योजना तयार गर्छौँ । ठूलो देशसँग कसरी खेल्ने, क्लोज क्याम्प, विशेष प्रशिक्षण, खेलाडीलाई व्यक्तिगत तयारी कसरी गराउन सकिन्छ  त्यसतर्फ ध्यान दिन्छौँ । टोलीको कमजोरीलाई सुधार गर्दै जान्छौँ । यो सात महिना निकै महत्वपूर्ण छ । दश वर्षपछि यो सफलता पाएका छौँ । यसमा सुधार गर्दै अघि बढ्न क्यानले कुनै कमी राख्दैन । 

अब तयारीका लागि राम्रो वातावरण हुनुपर्छ : रोहितकुमार पौडेल, कप्तान

एकदमै खुसी लागेको छ । हामी भाग्यमानी छौँ । दुई खेलाडी (सोमपाल कामी र विनोद भण्डारी)बाहेक सबैले त्यही विश्वकप (सन् २०१४को) हेरेर क्रिकेट खेल्न सुरु गरेका थियौँ । त्यसपछि काठमाडौं आएर अभ्यास गर्‍यौँ । टिममा पर्‍यौँ । अहिले विश्वकप खेल्ने भएका छौँ । आफूलाई भाग्यमानी मान्छौँ । हामीले अहिलेसम्म पुरानो पुरस्कार पाएका छैनौँं । तर, विश्वकपका लागि राम्रो तयारी पाउने विश्वास छ ।

यो खुसी शब्दमा व्यक्त गर्न सकिँदैन : सोमपाल कामी
विश्वकपमा छनोट गर्ने यो जित शब्दमा व्यक्त गर्न सकिँदैन, कुनै शब्द नै छैन । साह्रै खुसी लागिरहेको छ । एक दशकपछि विश्वकप खेल्न पाएका छौँ । भाग्यमानी पनि रह्यौँ । हिजोदेखि नै भगवान्सँग प्रार्थना गरेको थिएँ । सबैको मिहिनेतले यो उपलब्धि प्राप्त भएको छ । सबैको सपना विश्वकप खेल्ने थियो, पूरा भएको छ । हामी विश्वकप खेल्दैनौँ मात्रै, जित्ने प्रयासमा पनि लाग्छौँ ।

See More On

सुझावित समाचार